डेंगुको महामारीबाट कसरी बाँच्ने ? डा. सुभाष चन्द्र यादवले दिए दर्जनौं टिप्स !

डेंगुको महामारीबाट कसरी बाँच्ने ? डा. सुभाष चन्द्र यादवले दिए दर्जनौं टिप्स !

यतिबेला देशभर डेंगुको महामारी छ । देशका केही भागमा डेंगुकै कारण केही विरामीको मृत्यु भएका खबर समेत आइरहेका छन् । राजधानीका विभिन्न अस्पतालमा डेंगुका विरामीहरुको भिड छ । आखिर डेंगु के हो ? दियोपोस्टका लागि रीता बुढाथोकी विष्णु विश्वकर्माले त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालका इन्टरनल मेडिसिन, छाती रोग तथा क्रिटिकल केयर बिशेषज्ञ तथा पल्मोनोलोजिस्ट र ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालका बिशेषज्ञ डा. सुभाष चन्द्र यादवलाई प्रश्न सोधेका थिए । प्रस्तुत छ डा. यादवसँगको अन्तर्वार्ताको पूर्णपाठ

देशैभर महामारीको रुपमा देखिएकोे डेंगु कस्तो रोग हो ?


साधारणतया आम मानिसले भन्ने गरेको डेंगु एक प्रकारको ज्वरो हो । यो डेंगु भाइरसका कारण लाग्दछ । यो भाइरस लामखुट्टेका माध्यमबाट मानिसमा सर्ने गर्दछ । डेंगुको भाइरसयुक्त लामखुट्टेले मानिसलाई टोकेपछि आउने ज्वरोलाई नै डेंगु ज्वरो भन्छौँ ।


डेंगु रोग मानिसमा कसरी लाग्छ ?


फिमेल प्रजातीको एडिस इजिप्टी र एडिएस आर्गो पिक्टस नाम गरेका दुईथरीका लामखुट्टेको टोकाईबाट यो रोग मानिसमा सर्ने गर्छ । नेपालमा सबैभन्दा बढि एडिस इजिप्टी नामक लामखुट्टेको टोकाइबाट यो रोग लागेको पाइन्छ । सन् १९५० को दशकमा यो रोग फिलिपन्सिमा देखिएको थियो । त्यसपछि गर्मी र मध्यमगर्मी हुने स्थानहरु, जस्तै जुन ठाउँमा बढी समय २५ देखि ३० डिग्री सेन्टिग्रेड तापक्रम हुन्छ, त्यहाँ यस्ता लामखुट्टेहरु बढी भेटिन्छ । हाम्रो देशको सन्दर्भमा भन्ने हो भने, १२ देखि १३ वर्षको बीचमा बढी डाटा कलेक्ट गर्न सकेका छौँ । छिट्फूटमा २००३ देखि नै डेंगुको प्रकोप नेपालमा देखिएको हो ।

अत्याधिक गर्मी रहने तराइका जिल्लामा डेंगु देखिनु स्वभाविक मान्न सकिएला । तर, पछिल्लो समय काठमाडौंमा पनि देखियो नी, कारण के हो?


साधारणतया गर्मीको समयमा लामखुट्टेको संख्या बढि देखिन्छ । तराइका जिल्लामा जस्तै काठमाडौँ उपत्यकामा पनि लामखुट्टे बढेका छन् । कारण ग्लोबल वार्मिङ्ग नै हो । विश्वको तापक्रम क्रमश बढिरेको छ । हरेक देशहरुको राजधानीमा मानिसहरु बसाई सराई गरेर आउने गर्छन् । त्यस्तै हाम्रो देशको राजधानी काठमाडौँमा पनि जनसंख्या बढेको छ । यहाँ गाउँबाट बसाई सरेर आउने मानिसहरुको संख्या अधिक छ । यिनै दुइवटा तत्व नै मुख्य कारण हुन् । जहाँ मान्छेको घनत्व बढ्छ, जहाँ तापक्रम बढ्छ त्यहाँ डेंगु जस्ता भाइरसहरु फैलिन्छ ।

आम सर्वसाधरणले कसरी छुट्याउन सक्छन् की यो लामखुट्टेमा डेंगुको भाइरस छ भनेर ?


अरु प्रजातीको लामखुट्टेले पानीमै अण्डा पार्छ । तर, एडिस इजिप्टी र एडिएस आर्गो पिक्टस नाम गरेका डेंगुका लामखुट्टेले टिनका बट्टा, बोतलको बिर्को, टायर, कप, फुलका गमला अथवा कुनै पनि भाँडाको टुप्पोमा अण्डा छोड्छ । सबैभन्दा डर लाग्दो कुरा त के छ भने यो अण्डा एक वर्षसम्म मर्दैन । जब की, मलेरियायुक्त लामखुट्टेको अण्डाको म्याद जम्मा पाँच दिन मात्र हो । तर डेंगुको लामखुट्टेको अण्डा एक वर्षसम्म मर्दैन । ती लामखुट्टेको अण्डाबाट निस्कने लार्भा पानीको थोपा पर्ने बित्तिकै त्यो बच्चामा परिणत हुन्छ । त्यो पाँच दिनमै लामखुट्टेमा परिणत हुन्छ । डेंगुको लामखुट्टेलाई टाइगर लामखुट्टे पनि भनिन्छ । यिनीहरुको टाउकोमा चन्दन जस्तो ठूलो धर्को हुन्छ । खुट्टामा सेतो–सेतो धर्सा पनि हुन्छ । यसमा पनि भाले र पोथी हुन्छन् । भाले लामखुट्टेले टोक्दैन । एउटा पोथी लामखुट्टेले एक दिनमा ५० देखि १०० वटासम्म अण्डा पार्छ । भाले लामखुट्टेको आयु भनेको मात्र ७ दिन हो, भने पोथी लामखुट्टेको आयु २८ देखि ३० दिन हो । उसले आफ्नो जीवन चक्रमा १५ सयभन्दा बढि लामखुट्टे उत्पादन गरिसकेको हुन्छ । पोथी लामखुट्टेले मात्रै टोक्ने भएकाले यसबाट बच्नु नै सबैभन्दा उत्तम उपाय हो ।

‘ लामखुट्टेको भाइरस् कसरी आउँछ भनेर बुझ्नु जरुरी हुन्छ । पानी परेर जमेको गमला, टिनका बट्टा, गमलाको तल राखिएको प्लेट, मिनिरल बोतलको बिर्को जस्ता ठाउँमा डेंगुका लामखुट्टेले सबैभन्दा बढि अण्डा पार्न मन पराउँछन् ।

डेंगु भाइरस संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने संभावना कत्तिको रहन्छ ?


हामीले बुझ्नु पर्ने मुख्यकुरा चाँही के हो भने, यो भाइरस मान्छेबाट अर्को मान्छेमा सर्दैन । तर, डेंगु प्रभावित व्यक्तिलाई टोकेको लामुट्टेले अर्को स्वस्थ व्यक्तिलाई टोक्यो भने उ पनि डेंगुको शिकार बन्छ । भाइरस सरुवा रोग चाँही लामखुट्टेको टोकाइबाट मात्र हुने हो । मान्छेबाट मान्छेमा कदापी सर्दैन ।


डेंगु लाग्नै नदिन या लागिसकेपछि यसको निदान कसरी गर्ने ?


मुख्यतया, हामीले व्यक्तिगत जीवनशैली नै बदल्नुपर्छ । यो जनघनत्व बढेको सबै क्षेत्रमा देखिएको समस्या हो । लामखुट्टेको भाइरस् कसरी आउँछ भनेर बुझ्नु जरुरी हुन्छ । पानी परेर जमेको गमला, टिनका बट्टा, गमलाको तल राखिएको प्लेट, मिनिरल बोतलको बिर्को जस्ता ठाउँमा डेंगुका लामखुट्टेले सबैभन्दा बढि अण्डा पार्न मन पराउँछन् । आफ्नो घर वरपर अथवा घरको छतमा यस्ता सामाग्री छन् भने तुरुन्तै हटाइदिनु पर्छ । ताकी आकाशबाट परेको पानी नजमोस् । कहिले काँही ठूलोठूलो रुखहरुमा खाल्डो परेको खोपिल्टोमा समेत पानी जकेको छ भने त्यसमा पनि यस्ता लामखुट्टेले अण्डा पार्छन् । त्यसैले आफ्नो वरपर रहेको पानी जम्ने बस्तुहरु तुरुन्तै हटाउनुपर्छ । लामखुट्टेले मन पराउने अलिकती अध्याँरो ठाउँ हो । घरमा बस्दा होस् या घर बाहिर जाँदा होस् पुरै शरीर छोप्ने कपडा लगाउनु पर्छ । घरका झ्यालमा जाली लगाउनु पर्छ । सुत्दा सधै झुलको प्रयोग गर्नुपर्छ । अनि ओडोमस, लामखुट्टे मार्ने धुपको समेत प्रयोग गरेर यस खाले लामखुट्टेको टोकाइबाट बच्न सकिन्छ ।


सामान्यतया, ज्वरो आउनेबित्तिकै सिटामोल लगायतका अन्य सामान्य औषधीहरु सेवन गरिहाल्छौँ । यदी डेंगुको ज्वरो हो रहेछ भने त्यस्ता औषधीहरुले कस्तो प्रभाव पार्छ ?

डेंगु हुँदा पनि ज्वरो नै आउने हो । सामान्य ज्वरोको तुलनामा डेंगु ज्वरो आउँदा अत्याधिक मात्रामा शरीर गल्ने, ज्यान दुख्ने इत्यादी हुन्छ । त्यतिबेला चिकित्सकको सल्लाहविना नै पारासिटामोल सम्म प्रयोग गर्न सकिन्छ । चिकित्सकको सल्लाहबिना नै अन्य औषधी प्रयोग गर्दा थप समस्या हुन सक्छ । यसले शरीरलाई निकै नकारात्मक असर पार्छ । त्यसैले ज्वरो आउँदा, ज्यान दुख्दा तत्काल औषधी प्रयोग गर्नुभन्दा चेकजाँच गरेर मात्र औषधी प्रयोग गर्नुपर्छ ।

डेंगुलाई आम मानिसहरुले त्रासको रुपमा बुझेका छन् । यो रोगले मान्छेलाई कसरी मृत्युको मुखसम्म पुर्याउँछ ?


त्यसो होइन, डेंगु लाग्ने बित्तिकै मानिस मर्ने भन्ने हुँदैन । संक्रमित व्यक्ति विभिन्न चरणपछि मात्र मृत्युको मुखसम्म पुग्ने हो । डेंगुको स्टेज हुन्छ । साधारण डेंगु ज्वरो दोस्रो लेवलमा पुग्यो भने ज्वरोसंगै अन्य लक्षणहरु पनि देखापर्ने हुन्छ । संक्रमित व्यक्तिलाई सुरुमा ज्वरो आउने, जिउ दुख्ने, टाउको दुख्ने, जोर्नीहरु दुख्ने, आँखाको गेडा दुख्ने, शरिर गल्ने, ढाड दुख्ने, कसै कसैलाई रुघाखोकी लाग्ने, घाँटी खसखस हुने, खान मन नलाग्ने, पेट दुख्ने र वान्ता आउने हुन्छ । यो नै डेंगुको पहिलो स्टेज मान्न सकिन्छ । यिनै मुख्य लक्षण देखा पर्ने बित्तिकै हामी डेंगु भएको अनुमान गर्नसक्छौँ । यस्ता खाले लक्षण देखापर्ने बित्तिकै नजिकैको स्वस्थ्य चौकीमा गएर स्वास्थ्य जाँच गराई हाल्नुपर्छ ।

सामान्यतया ज्वरो आउने बित्तिकै पारा सिटामोल खाने, पानी र झोल खाने कुरा प्रशस्त खाने गर्नुपर्छ । दोस्रो स्टेपमा सिटामोल खाने गर्नुपर्छ । डेंगु संक्रमित भइसकेपछि हाड जोर्नी र जीउ दुख्ने हुँदा यसका लागि सिटामोल नै उपयुक्त हुन्छ । डेंगु ज्वरोलाई अर्को भाषामा ‘ब्रेक बोन’ ज्वरो पनि भनिन्छ । अरु औषधी खाँदा यसले रगतमा आक्रमण गर्ने भएकाले प्लेटलेट झनै घटाइदिन्छ । जस्तै प्लेटलेट १ लाख भन्दा तल पुग्छ । अर्को, डेंगु ‘सकसिन्ड्रम’ भन्ने हुन्छ । यो भएपछि मानिसको ब्लड प्रोसर घट्छ । मुुटुको चाल बढाइदिने, मनमा छटपटी हुने, छाहारे जस्तो हुने, कसै–कसैको कलोजोको काम गर्ने क्षमतामा १०० गुनाले रोकावट ल्याइदिने, अचेत हुने जस्ता लक्षण देखापर्छन् । सामान्यतया ९५ प्रतिशत साधारण डेंगु नै हुन्छन् । १/२ प्रतिशत मात्रै डरलाग्दो स्थितिमा जान्छ । जसको मृत्यु भएर हामी डराई रहेका हुन्छौँ ।

डेंगुकै कारण धेरैले ज्यान गुमाउनु परेको छ नी ?


ज्वरो आउनासाथ बिरामी मरिहाल्ने भन्ने होइन । डेंगुका विभिन्न चरणहरुसम्म आइपुग्दा समेत उपचार गरिएन भने ती बिरामी मृत्युको मुखसम्म पुग्ने हुन् । दिसाबाट रगत आउने, नाकबाट रगत आउने, वान्ता गर्दा र खोक्दा रगत आउने, दिसा कालो हुने तथा पिसावमा रगत देखिने हुन थाल्यो भने त्यो बिरामीमा खतराको संकेत देखिएको भन्न सकिन्छ । त्यो बाहेक, अत्याधिक पेट दुख्ने, शरिरमा पानी जम्ने, स्याँ–स्याँ हुनु, कलेजोको साइज बढ्नु र छहारे जस्तो लक्षण देखा पर्नासाथ अस्पताल जानु पर्छ । यो डेंगुको दोस्रो स्टेज हो । यदि यस्ता लक्षण देखापर्दा पनि बेवास्ता गर्यो भने बिरामीको मृत्युहुन्छ । एउटा स्वस्थ व्यक्तिमा डेढ लाखदेखि साडे चार लाखसम्म प्लेटलेट हुनुपर्छ । तर, एक लाखदेखि तीस हजार तल प्लेटलेट पुग्नु नै खतराको घण्टी बज्नु हो । उपचार गरेपछि यो पूर्णरुपमा निको हुने रोग हो ।

Trending News