काठमाडौं, २ असोज । गत भदौ ४ गते ‘न्युज २४ टेलिभिजन’को ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका प्रस्तोता रवी लामिछाने चितवन स्थित जिल्ला प्रहरी कार्यालयको हिरासतमा थिए । सोही दिन उनी कार्यरत न्युज २४ टेलिभिजनका मालिक अनिल जोशीका पुत्र अधिस जोशी भने राजधानीको थापाथली हाइट स्थित ‘होटल किडो’मा करोडौंको जग्गा ‘डिल’ टुङ्ग्याउँदै थिए ।
टेलिभिजनले शुक्रपथ सहकारीका सञ्चालकहरुले गरेको जग्गा दलाली धन्दालाई ‘कालोधन्दा’ र मनोमानी भन्दै साउन १५ गते नै प्रोमो बजाएको थियो ।
सोही प्रोमोको आधारमा शुक्रपथ सहकारीका सञ्चालकहरु ‘सिधा कुरा जनतासँग’मा आफूहरुले गरेको कालोधन्दाको खबर बज्ने डरमा थिए । तर, विश्वस्त स्रोत भन्छ,‘सिधा कुरा जनतासँगमा सहकारीको कालोधन्दा’को रिपोर्ट बज्ने कुनै कार्यक्रम थिएन ।
प्रोमोमा पनि सिधाकुराको लोगो प्रस्तुत गरिएको थिएन । सिधा कुराको टिममा रहेका युवराज कँडेलले सहकारीका प्रमुख कार्यकारी अधिकृतसँग बाइट भने लिएका थिए । यद्धपी उनले उक्त बाइट ‘सिधा कुरा जनतासँगमा बजाउने’ भनेका थिएनन् । तर सहकारीका सञ्चालकहरुलाई भने जग्गाका केही विचौलियाले ‘सिधा कुरा जनतासँग तिमीहरुको कार्यक्रम बज्दैछ’ भन्दै धम्काइरहेका थिए ।
विश्वस्त स्रोतका अनुसार टेलिभिजनका मालिक अनिल जोशीका निकट मित्र सहदेव कक्षपति र रमेश ढकालले सहकारीका सञ्चालकहरुलाई ‘सिधा कुरा जनतासँग’को नाममा धम्की दिएका थिए ।
पत्रकार शालिकराम पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा गत साउन ३० गते न्युज २४ टेलिभिजन ‘सिधा कुरा जनतासँग’ कार्यक्रम प्रस्तोता रवी लामिछाने पक्राउ परेका थिए । चितवन जिल्ला अदालतले रवीलाई भदौ ९ गते मात्रै धरौटीमा छाड्न आदेश दिएको थियो ।
लामिछाने हिरासतमै भएको समय भदौ ४ गते राजधानीको थापाथली हाइट ‘स्थित होटल किडो एण्ड तम्सुरा जापानिज रेष्टुरेन्ट’ मा न्युज २४ टेलिभिजनका मालिक अनिल जोशीका पुत्र अधिस जोशी, राजधानी दैनिकका मालिक महेन्द्र शेरचनका पुत्र आशिष शेरचन, शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत नरेन्द्र विष्टबीच भएको सम्झौता र सम्झौता गर्दाको तस्विर फेला परेको छ ।
दियोपोस्टले फेला पारेको उक्त तस्विरमा जग्गा विचौलिया तथा अनिल जोशीका निकट पात्र सहदेव कक्षपति समेतसँगै छन् । सहकारीले राजधानीको नैकापमा खरिद गरेको ३५ रोपनी १३ आना जग्गासहित बैना गरेको ७० रोपनी जग्गामा टेलिभिजनले गरेको पार्टनरसिपबारे नयाँ तथ्य फेला पारेको छ ।
टेलिभिजनका साहु अनिल जोशीले आफ्ना तर्फबाट एक व्यक्तिलाई साक्षी राखेको खुलाशा भएको छ । काभ्रे घर भएका जनक गौतमलाई उक्त जग्गा पार्टनरी गर्दा साक्षी बनाएको पाइएको हो ।
दियोपोस्टले फेला पारेको सम्झौतको अन्तिम पानामा साक्षीहरुको सुचीमा गौतमको नाम ३ नम्बरमा छ । उनलाई काठमाडौं महानगरपालिका वडा नम्बर २ लाजिम्पाट बस्ने वर्ष ३७ को जनक गौतम भनेर उल्लेख गरिएको छ । न्युज २४ टेलिभिजनमै नागरिक सवाल र कर्पोरेट जस्ता कार्यक्रम चलाएका गौतम पछिल्लो समय भने आफ्नै मिडिया चलाएर बसेका छन् । यद्धपी उनको न्युज २४ का मालिक अनिल जोशीसँग निकट सम्बन्ध छ ।
के छ सम्झौतामा ?
सम्झौताको २.१ नम्बर बुँदामा अर्का व्यापारीले जग्गाका लागि सहकारीका सञ्चालकहरुलाई कति रुपैयाँ दिइएको हो भन्ने फेहरिस्त नै छ । अर्का एक व्यापारीले शुक्रपथ सहकारीका सञ्चालकहरुलाई ८ करोड ११ लाख रुपैयाँ दिएको उल्लेख छ ।
न्युज २४ टेलिभिजनका मालिक अनिल जोशी र उनका पुत्र अधिस जोशीका पुत्रको तर्फबाट प्रतिनिधि बनेका आशिष शेरचनले एक करोड रुपैयाँ सहकारीका सञ्चालकलाई दिएको उल्लेख छ । नबिल बैंकको खाता नम्बर २०१००१७५००२४४ को चेक नम्बर ००२६१८३८३७ बाट रु एक करोड रुपैयाँ दिएको पाइएको छ । बाँकी १४ करोड भने पास भएपछि दिने उल्लेख छ ।
सम्झौताको ४.१ नम्बर बुँदामा सम्झौता भएको मिति देखि नै तृतिय पक्ष अर्थात टेलिभिजनले खडा गरेको व्यक्तिले निर्वाद रुपमा भोगचलन गर्न पाउने उल्लेख छ ।
जग्गा हस्तान्तरणको सन्दर्भमा पनि सम्झौताको ५ नम्बर बुँदामा उल्लेख गरिएको छ ।
उक्त बुँदा अनुसार तृतिय पक्ष वा तृतिय पक्षले इच्छ्याएको व्यक्तिको नाममा हस्तान्तरण गर्न योग्य बनाइदिनुपर्ने उल्लेख छ ।
त्यति मात्रै होइन जग्गा गोलमाल गर्न अर्को कम्पनि खडा गर्ने विषयमा सम्झौतामै उल्लेख गरिएको छ । न्युज २४ टेलिभिजनले खडा गरेका व्यक्ति आशिष शेर्चनले चाहेको कम्पनिको नाममा एकै पटक उक्त जग्गाहरु नामसारी गर्नुपर्ने सर्त छ ।
‘उल्लेखित जग्गाहरुलाई तृतिय पक्षले ईच्छाएको व्यक्ति वा संगठित कम्पनीको नाउँमा एकै पटक पक्षहरुको सहमति बमोजिमको मुल्यमा तृतिय पक्षद्वारा पारित गरी लिन मन्जुर गर्दछ सोही सहमतिको मुल्यमा उक्त जग्गा पारित गरी लिन प्रथम पक्ष तथा द्धितिय पक्ष मन्जुर गर्दछ,’ सम्झौताको ७.१ नम्बर बुँदामा भनिएको छ ।
त्यस्तै, नयाँ कम्पनि खडा गरी उक्त कम्पनिकै नाममा जग्गाहरु पास गर्ने समेत सम्झौतामै उल्लेख छ ।
मिडियामा नल्याउन त्रिपक्षिय साझेदारी ?
सम्झौताको १४ नम्बर बुँदामा विविध शिर्षकमा अर्को विषय उल्लेख छ ।
करारनामा सम्पन्न भएपछि एक अर्कालाई मानमर्दन हुनेगरी सार्वजनिक रुपमा कुनैपनि माध्यमबाट नगर्ने भन्दै सम्झौता टुङ्ग्याइएको छ ।
सुटुक्क बेच्ने तयारी !
दियोपोस्टले यस विषयमा समाचार फलोअप गरेपछि न्युज २४ टेलिभिजन नै उक्त जग्गा सुटुक्क बेच्न कस्सिएको छ । सम्झौताको अवधि पनि १५ देखि १६ दिन भित्र सकिनेछ । तर, बैंकबाट ऋण मिलाउने अन्तिम तयारीमा पनि टेलिभिजनका मालिक र आशिष शेरचन लागि परेका छन् ।
यद्धपी, जग्गा विवादित भइसकेकाले बैंकहरु पनि लगानी गर्न हच्किएको बताइएको छ । तर, विभिन्न पेशा र व्यवसायमा संलग्न मिडिया मालिकहरुले अन्य धन्दालाई देखाएर पनि बैंकबाट ऋण भने लिने तयारीमा छन् ।
के भन्छन् न्युज २४ का मालिकका पुत्र अधिस जोशी ?
यस विषयमा प्रतिक्रिया दिनका लागि न्युज २४ टेलिभिजनका मालिक अनिल जोशीका पुत्र अधिश जोशी दियोपोस्टको सम्पर्कमा आएका थिए । उनले सहकारीको जग्गा दलालीधन्दामा टेलिभिजन कसरी मुछियो भनेर सोधीएको प्रश्नमा यस्तो जवाफ दिए ।
नैकापको ७० रोपनी जग्गाकाण्डमा न्युज २४ टेलिभिजन कसरी मुछियो ?
हाम्रोमा पीडित पक्ष आएको थियो । चाचाजी भनिने पवन कुमार गर्ग र उहाँका तर्फबाट रेवती ढकाल, सहदेव कक्षपती ज्यु आउनु भएको थियो । सहकारी र उहाँहरुबीचको पार्टनरसिप रहेछ १२ करोड/१२ करोडको । रेवती ढकालले चाचाजीको तर्फबाट बोल्नु भएको थियो ।
यहाँहरुले पीडितहरुले बोलेको प्रोमो किन डिलिट गर्नुभयो ?
सहकारी डुब्न लाग्यो भनेर सहकारीले प्रेसर दियो । त्यही भएको कारणले गर्दा सहकारीको प्रेसरको कारणले गर्दा हो । हामी मिलेमतोमा जान्छौँ । चाचाजी र उहाँहरुको आफ्नै केही अन्डरस्ट्यान्डीङ भयो । हामीले कुनै संस्थालाई बचाउने हिसाबले डिलिट गरियो ।
यहाँहरुले नै मिडियटरको रुपमा पठाएको आशिष शेरचन पार्टनरसिपमा राखिएको छ नी ?
जग्गामा उहाँ पनि इन्ट्रेस्टेड हुनु भएको थियो होला । उहाँको बीचमा कसरी कुरा पुग्यो होला । दुवै जनाको हिसाबले सहकारीले उहाँलाई दिने निर्णय गरेको हो ।
अनि तपाईंको समलग्नता के हो त ?
यसमा हाम्रो केही छैन । पीडित पक्षको भोइस हामीले राखेको थियो । हामीले मिलाइदिएको हो ।
करारनामा नै यहाँहरुले गराउनु भएको होइन र ?
हामीले गराएको होइन । हाम्रो इन्भल्मेन्ट काहीँ पनि देख्नु हुन्न । लिने दिनेमा हामी केही पनि छैनौँ ।
करारनामा गरेको दिन तपाईं तस्विरमा देखिनु भएको छनी ?
उनीहरुलाई मिलाउने पक्षमा एक छिन बसेको थिएँ । उनीहरुबीच के कसो भयो त्यो कुरा मलाई डिटेल थाहा छैन । म त्यहाँ इन्भल्मेन्ट थिएन ।
के थियो काण्ड ?
राजधानीको न्युरोड शुक्रपथमा मुख्य कार्यालय रहेको शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालकहरुले नैकापमा पार्टनरसिपमा जग्गा खरिद गरेका थिए । सहकारीका अध्यक्ष निरहरी प्रसाद उपाध्याय र प्रमुख कार्यकारी नरेन्द्र विष्टले सहकारीको रकम मनोमानी रुपमा जग्गा लगानी गरेका थिए । सहकारीकै सहायक कम्पनि शुक्रपथ इन्भेष्टमेन्टको नाममा राजधानीका नैकाप र बलम्बुमा करिब ७० रोपनी जग्गा बैना गरेका थिए । ७० मध्ये ३५ रोपनी जग्गा उनीहरुले खरिद गरिसकेका थिए । ती जग्गाहरु सहकारीकै सञ्चालकहरुको नाममा थियो ।
सहकारीका सञ्चालकहरु मधुकर वाग्ले, नरेन्द्र विष्ट, अर्जुन बिश्वकर्मा, अध्यक्ष निरहरी प्रसाद उपाध्याय, भगीरथी भट्टको नाममा कुल ३५ रोपनी १३ आना जग्गा रहेको छ ।
काठमाडौंको पुरानो नैकाप गाविस, वडा नम्बर ४ र बलम्बु गाविस वडा नम्बर ९ को कित्ता नम्बर, ७८, ४५, १५, २८, ६, १७, २९, ८०, ८१, ७७, ४, १०९, २, ३, ५, १४, ३०, १६, १५०, १२९, १३०, १२७, १२८, १२६, १३६, १७८, ११३, १०७, ११८, १४८, १४९, ११५, ११३, ११७ का जग्गाहरुलाई सहकारीका सञ्चालकहरुले आफ्नो नाममा ल्याइ बेचविखन गर्ने योजना बनाएका थिए ।
सोही विषयमा चित्त नबुझेको सहदेव कक्षपती, रमेश ढकाल लगायतको समुहले न्युज २४ टेलिभिजनलाई गुहारेको थियो । टेलिभजनले जग्गा दलाल मध्येकै रमेश ढकाललाई नक्कली पीडितको रुपमा देखाएको थियो । सहकारीका सञ्चालकहरुले जग्गा दलाली धन्दा चलाएको विषयमा बनाइएको प्रोमोमा सहकारी विभागका प्रवक्ता शशिकुमार लम्सालको भनाई समेत प्रस्तुत गरेको थियो ।
गत साउन १५ गतेदेखि फेसबुक र टेलिभिजनमा ‘शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालकको कालोधन्दा….. बचतकर्ताको पैसामा सञ्चालकको रजाई….प्रतिक्षा गर्नुहोस् ।’
भन्दै जम्मा ३५ सेकेन्डको उक्त प्रोमोलाई फेसबुकमा शेयर मात्रै होइन डलर खर्च गरेर बुस्ट पनि गरिएको थियो ।
फेसबुकमा भने ‘शुक्रपथ सहकारीको मनपरी, जनता ठग्ने शुक्रपथको कालोधन्दाको चाँडै हुँदैछ पर्दाफास…’ शिर्षक यही थियो ।
तर टेलिभिजनको स्क्रिनमा त्यो प्रोमोको फूल रिपोर्ट कहिल्यै बजेन । सोही प्रोमो देखाएर टेलिभिजनले बार्गेनिङ मात्रै गरेन १५ करोड रुपैयाँको पार्टनरसिप समेत लियो र फेसबुक लगायत सामाजिक सञ्जालमा उक्त भिडियो नै डिलीट गर्यो