काठमाडौं । अनेरास्ववियू रामेछापले प्रथम रामेछाप कप फुटसल प्रतियोगिताको उपाधि जितेको छ । आइतबार भएको फाइनल खेलमा लिखु भुजी युवा क्लब रामेछापलाई टाई ब्रेकरमा २–० ले पराजित गर्दै अनेरास्ववियूले उपाधि जितेको हो ।
काठमाडौँको शान्तिनगरस्थित शान्तिनगर फुटसलमा भएको फाइनल खेल निर्धारित समयसम्म गोलरहित टुङ्गिएपछि टाई ब्रेकरमार्फत विजेताको टुङ्गो लगाइएको थियो । टाई ब्रेकरमा अनेरास्ववियूका दुई खेलाडीले गोल गर्दा लिखु भुजीका कुनै पनि खेलाडीले गोल गर्न नसकेपछि अनेरास्ववियू रामेछाप विजयी बन्न सफल भएको हो ।
यस्तै, डाइनामिक युथले तेस्रो स्थान हात पा¥यो । तेस्रो स्थानका लागि आइतबार नै भएको खेलमा महाकाली युवा क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै डाइनामिक तेस्रो भएको हो । डाइनामिकका लागि नविन गुरुङ र समिर तामाङले एक÷एक गोल गरेका थिए । उपाधिसँगै अनेरास्ववियूले नगद २५ हजारसहित मेडल प्राप्त गरेको छ भने दोस्रो भएको लिखु भुजीले १५ हजार नगद मेडल र तेस्रो भएको डाइनामिकले १० हजार नगद र मेडल पुरस्कार प्राप्त गरेको छ ।
विजेता टोली र खेलाडीहरूलाई रामेछाप जिल्लाका सांसद श्यामकुमार श्रेष्ठ, जिल्ला विकास खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष पुरुशोत्तम कडेरिया, भलिवलका राष्ट्रिय रेफ्री सिताराम कार्की, व्यवसायी राकेश श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए ।
विजेता टोलीलाई बधाई दिँदै सांसद श्रेष्ठले समाचारमार्फत सबैलाई सूसुचित गर्ने पत्रकारहरूले फुटसल प्रतियोगितामार्फत जिल्लाबासीलाई जोड्ने महत्वपूर्ण काम गरेको बताए ।
रामेछाप–काठमाडौं पत्रकार समाजले आयोजना गरेको प्रतियोगितामा रामेछाप जिल्ला र रामेछाप घर भई काठमाडौंमा बसोबास गरेका गरि २७ टोलीले सहभागीता जनाएका थिए । सहभागी टोलीलाई आठ समूहमा विभाजन गरी प्रतियोगिताको सञ्चालन गरिएको थियो ।
जिल्लाबासीहरुबीचको एकता, सद्भावका साथै मनोरञ्जन प्रदान गर्ने उद्देश्यले ‘रामेछाप कप फुटसल प्रतियोगिता–२०७६’ आयोजना गरिएको आयोजक संस्था रामेछाप–काठमाडौँ पत्रकार समाजका अध्यक्ष प्रेम गौतमले जानकारी दिए ।