शुक्रपथ सहकारीका अध्यक्षको ‘कालोधन्दा’ : सहकारीकै रकमले किनेको जग्गा श्रीमतीको नाममा !

दियो पोस्ट  

काठमाडौं, १० असोज । राजधानीको न्युरोडको शुक्रपथमा मुख्य कार्यालय रहेको शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष निरहरी उपाध्याय लगायत उच्च अधिकारीले सहकारीको करोडौँ रकम हिनामिना गरी जग्गा खरिद गरेको विषयमा नयाँ तथ्य भेटिएको छ ।

सहकारीका सञ्चालकहरुका नाममा सहकारीको रकमबाट किनिएको जग्गा नामसारी गरी सञ्चालकहरुकै खातामा पैसा जम्मा भएको समेत पाइएको छ ।


सहकारीको करोडौं रुपैयाँ निकालेर जग्गा दलालीमा लगानी गर्ने र दलालीबाट आएको करोडौं कालोधन आफ्नो नाममा कुम्लाउने गरेको विषयमा दियोपोस्ट डटकमले यसअघि नै समाचार प्रकाशन गरेको थियो ।


सहकारीकै सहायक कम्पनि शुक्रपथ इन्भेष्टमेन्टको नाममा रकम निकालेर सहकारीका सञ्चालक समिति अध्यक्ष निरहरी उपाध्याय लगायत सञ्चालकहरुले आफ्नो नाममा जग्गा पास गरेका हुन् ।


शुक्रपथ सहकारीका अध्यक्ष तथा शुक्रपथ इन्भेष्टमेन्टका समेत अध्यक्ष रहेका निरहरी प्रसाद उपाध्यायले प्लटिङ गरि बेच्नका लागि राजधानीको नैकापमा ७० रोपनी जग्गा खरिद गर्न बैना गरेका थिए । तर, विभिन्न कारण देखाउँदै सहकारीका सञ्चालकहरुले ३५ रोपनी १३ आना जग्गा मात्रै पाएको थिए ।


काठमाडौंको पुरानो नैकाप गाविस वडा नम्बर ४ र बलम्बु गाविस वडा नम्बर ९ को कित्ता नम्बर, ७८, ४५, १५, २८, ६, १७, २९, ८०, ८१, ७७, ४, १०९, २, ३, ५, १४, ३०, १६, १५०, १२९, १३०, १२७, १२८, १२६, १३६, १७८, ११३, १०७, ११८, १४८, १४९, ११५, ११३, ११७ का सहकारीका सञ्चालकहरुको नाममा रहेको पाइएको हो ।


सहकारीबाट सञ्चालकहरुले उक्त जग्गा बैनाका लागि मात्रै १२ करोड १७ लाख रुपैयाँ निकालेका थिए । स्रोतका अनुसार उक्त रकम सहकारी बैंकबाट सहकारीले ऋण लिएको भनिएको छ । यद्धपी यसको एथेष्ठ प्रमाण भने भेटिएको छैन ।


सहकारीकै भगिनी कम्पनी रुपमा विकास भएको शुक्रपथ इन्भेष्टमेन्ट मार्फत जग्गा प्लटिङ र बेचविखन गर्ने भनेर करारनामा मै लेखिएको छ ।


पुरानो नैकापका सानु महर्जन, न्हुच्छेमाया महर्जन, राजु प्रसाद दवाडी, नारायण प्रसाद दवाडी, दुर्गा प्रसाद दवाडी, प्रद्ययुम्न प्रसाद दवाडी, शम्भु प्रसाद आचार्य, गीता दुवाडी, सविना खनाल, लक्ष्मिनाथ दुवाडी, पुष्करनाथ दुवाडी र बलराम दुवाडी समेतका नाममा मालपोत कार्यालय कलंकीमा एकलौटी एवं संयुक्त रुपमा दर्ता कायम रहेका जग्गाहरु बैना गरेको थियो । उक्त जग्गाहरु २०७४ साल मंसिर ४ गतेको दोस्रो कारारनामा अनुसार शुभश्री इन्भेष्टमेन्ट कम्पनिबाट शुक्रपथ इन्भेष्टमेन्टको नाममा नामसारी भएको थियो । शुक्रपथ इन्भेष्टमेन्ट र शुभश्री इन्भेष्टमेन्टले जग्गा बेचविखन पश्चात आउने नाफा समेत भागवण्डा गर्ने लिखित सम्झौता नै गरेको थियो ।


कसको नाममा कति जग्गा ?


दियोपोस्टले फेला पारेको प्रमाण अनुसार सहकारीका अध्यक्ष निरहरी प्रसाद उपाध्याय, म्यानेजिङ डाइरेक्टर नरेन्द्र बिष्ट, बोर्ड सदस्य मधुकर वाग्ले, अर्जुन विश्वकर्मा र अध्यक्ष उपाध्याकी श्रीमती भागीरथी भट्टको नाममा जग्गा राखेर बेचविखन गर्न लागिएको खुलाशा भएको हो । उनीहरुले बैनाबापतको रकम समेत बुझी सकेका छन् ।

उपाध्यायकी श्रीमती भगिरथी भट्ट र मधुकर वाग्लेको संयुक्त नाममा मात्रै चार रोपनी ६ आना जग्गा राखिएको कागजातमा देखिन्छ ।


निरहरी उपाध्याय र नरेन्द्र विष्टको नाममा ३ रोपनी ७ आना छुट्टै जग्गा रहेको रेकर्डमा उल्लेख छ । सहकारीकै सञ्चालकहरु मधुकर वाग्ले र नरेन्द्र विष्टको नाममा ११ रोपनी छुट्टै जग्गा छ । सबैभन्दा धेरै जग्गा नरेन्द्र विष्टको नाममा छ ।


सबै गरेर ३७ रोपनी भन्दा बढी जग्गा उनीहरुले बेचविखनका लागि बैना गरिसकेका छन् ।
अर्जुन विश्वकर्मा र नरेन्द्र विष्टको नाममा करिब १६ रोपनी जग्गा नामसारी भएको छ ।

सहकारीका सञ्चालकका नाममा अकुत सम्पत्ति !


उक्त जग्गा बेच्नका लागि सञ्चालकहरुले बैना गरेका छन् । शुभश्री इन्भेष्टमेन्टका तर्फबाट पवन कुमार गर्गबाट उनीहरुले ८ करोड ११ लाख रुपैयाँ बुझेको पाइएको छ । यता राजधानी दैनिकका मालिक महेन्द्र शेरचनका पुत्र तथा तथा न्युज २४ टेलिभिजनका मालिक अधिष जोशीले खडा गरेको पात्र आशिष शेरचनले पनि १ करोड रुपैयाँ दिएको उल्लेख छ । यी सबै रकम सहकारीको खातामा नभई सहकारीका सञ्चालकहरुको खातामा ट्रान्सफर भएको छ ।


यस विषयको विस्तिृत रिपोर्ट हामी अर्को अंकमा प्रकाशन गर्नेछौँ ।

सहकारीका अध्यक्ष नीरहरी उपाध्यायले जग्गा बैना बापत आएको रकम आफुहरुले सहकारीमै जम्मा गरेको बताए। बैनाको भुक्तानी गर्दा व्यक्तिगत चेक काटिए तापनी ती सबै चेकहरु सहकारीकै खातामा जम्मा गरिएको उनले बताए ।