काठमाडौं, १२ अशोज । सरकारले पदयात्री पर्यटक उद्दारको नाममा हुने ठगीधन्दा नियन्त्रण गर्नका लागि कार्यविधि नै जारी गरेको छ । तर, कार्यविधिलाई चुनौती दिँदै केही पर्यटन व्यावसायीले भने फरक प्रकृतिको ठगीधन्दा चलाउने गरेको तथ्य भेटिएको छ ।
एक व्यावसायीले विमा कम्पनिलाई मुर्गा बनाएर ठगी गर्नका लागि विभिन्न शिर्षकमा विमा रकम दाबी गरेको पाइएको छ ।
राजधानीको ठमेलमा कार्यालय रहेको ‘टप अफ द वर्ल्ड एडभेन्चर’ नामक ट्रकिङ कम्पनिका मालिक जनार्दन नेपालले रेस्क्युको लागतभन्दा अत्याधिक धेरै शुल्क राखेर जर्मनी स्थित बिमा कम्पनिलाई रकम दाबी गरेको पाइएको हो ।
उनको कम्पनिले बिमा कम्पनिलाई नक्कली भ्याटबिल बनाएर विमा रकम दाबी गर्ने गरेको समेत भेटिएको छ ।
गत सेप्टेम्बर २३ मा एक जर्मन नागरिकलाई माछापुछ«े हिमालबाट उद्दार गरी पोखरा हुँदै काठमाडौं ल्याइएको थियो । विरामी रहेका ती नागरिकलाई एयर डाइनेष्टि हेलिकोप्टरले ३ हजार ४ सय ८० डलर मात्रै शुल्क लिएको छ । तर, उक्त शुल्क सहित जर्मनस्थित विमा कम्पनिलाई पठाइएको नक्कली भ्याट बिलमा भने ६ हजार ९ सय ५० डलर माग गरिएको छ । यो रकम भनेको करिब पौने ८ लाख बराबरको हो ।
उनले दाबी गरेको बिलमा हेलिकोप्टर शुल्क ३४८० युएस डलर, रेस्क्यु एक्सपर्ट शुल्क ७०० युएस डलर, लोकल पोर्टर्स शुल्क ८०० युएस डलर, लोकल रेस्क्यु ल्याण्ड रोयल्टी ३७५ युएस डलर, कम्युनिकेशन एक्सपेन्सेस ४३७ डलर, सर्भिस चार्ज ११५८ डलर उल्लेख छ ।
बिल नै नक्कली !
उनले अन्तर्राष्ट्रिय विमा कम्पनिलाई पठाएको बिल नै नक्कली रहेको पाइएको छ । उनले अस्पतालमा उपचाररत जर्मनी नागरिकलाई दिएको बिल र बिमा कम्पनीलाई पठाएको बिल नै फरक फरक रहेको पाइएको छ । बिमा कम्पनिलाई पठाएको बिल जस्तो देखिएपनि कम्पनिको लेटरप्याड हो । जसमा उनले कुल ६ हजार ९ सय ५० डलर दाबी गरेका छन् ।
यता बिरामी विदेशी नागरिकलाई दिएको बिलमा भने प्यान नम्बर उल्लेख छ । उक्त बिलमा जम्मा ३ हजार ४ सय ८० डलर मात्रै उल्लेख गरेका छन् । एयर डाइनेष्टी हेलिकोप्टरले उनको कम्पनिका लागि गरिदिएको बिलमा पनि ३ हजार ४ सय ८० डलर नै उल्लेख छ । तर, उक्त शुल्क समेत कम्पनिका लागि हेलिकोप्टर कम्पनिले बढाएर बिलिङ गरिदिएको पाइएको छ ।
माछापुछ«े हिमालको आधारशिविरबाट पदयात्री पर्यटक उद्दार गरेको शुल्क जम्मा २ हजार ८ सय डलर मात्रै लिने गरिएको छ । स्रोतका अनुसार ट्रेकिङ कम्पनिकै आग्रहमा हेलिकोप्टर कम्पनीले बिल बढाएर दिएको थियो ।
के भन्छन् विमा क्षेत्रका विज्ञ ?
दियोपोस्टको सम्पर्कमा आएका हेलिकोप्टर रेस्क्यु तथा विमा क्षेत्रका विज्ञका अनुसार सरकारले लागु गरेको पर्यटक खोज उद्दार सम्बन्धि कार्याविधि नै अपूर्ण छ । उनका अनुसार पर्यटक उद्दारमा जानुअघि विमा कम्पनिबाट अनुमति लिनुपर्ने व्यवस्था गर्नुपर्छ । तर सरकारले भने पर्यटक प्रहरी र गृहमन्त्रालयलाई जानकारी गराएर उद्दार गर्दा विमा कम्पनिले भने थाहा नपाउने र विमा भुक्तानीमा पनि समस्या हुने उनले बताए ।
‘यदि सरकारले कार्याविधि सच्याएन भने यसरी विमा कम्पनिलाई ठगि गर्ने धन्दा रोकिँदैन,’ उनले भने,‘पर्यटन व्यावसायलाई पनि मर्यादित बनाउने हो भने विमा कम्पनिबाट अनुमति लिएर मात्रै पर्यटक उद्दारमा जाने व्यवस्था गर्नुपर्छ । नत्र यसले फेरी अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको बद्नामी हुनसक्छ ।’
जनार्दन भन्छन्,‘मान्छेबाट सानो सानो गल्ती भइहाल्छ नी’
दियोपोस्टले फेक बिल र विभिन्न शिर्षकमा विमा कम्पनिलाई ठगी गर्न बिलिङ गरेको विषयमा ‘टप अफ द वर्ल्ड एडभेन्चर’का मालिक जनार्दन नेपाललाई सम्पर्क गरेको थियो । उनले आफूबाट गल्ती भएको स्विकार गरे । ‘मान्छेबाट गल्ती हुन्छ ।
मैले विरामीबाट पैसा पाइसकेको हुनाले बिमा कम्पनिलाई पैसा नदिनका लागि इमेल गरेको छु,’ उनले भने । यद्धपी स्रोतले दिएको जानकारी अनुसार ठगीमा मुछिएका नेपालले नक्कली भ्याट बिल र विभिन्न शिर्षकमा दाबी गरेको रकम दिन विमा कम्पनिले अस्विकार गरेपछि उनले इमेल गरेका थिए ।