मलेखुमा होटलवालाको लापरबाही : खाना खाँदा माछामा भेटियो किरै किरा ! (तस्विरसहित)

diyopost.com
दियो पोस्ट  बिहिबार, भाद्र १७, २०७८ | १७:५९:५६

दियोपोस्ट संवाददाता


धादिङ, १७ भदौ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट गाउँपालिका ३ मलेखु बिचबजारको एक होटलमा यात्रुले खाना खाने क्रममा माछामा किरा भेटिएको छ ।


मलेखु बजारमा रहेको होटल हङ्ग्री बर्ड प्रवेश रिभर साउण्ड रेष्टुरेन्ट एण्ड गेष्ट हाउसमा विहिबार मध्यान्न ११ बजेतिर काठमाडौंबाट नारायणगढका लागि यात्रा गरेको माइक्रोका यात्रुले खाना खाने क्रममा यस्तो भेटिएको हो ।


यात्रु धनराज गिरिले आफ्नो खानामा रहेको माछामा किरा भेटिएपछि तस्विर सहित खिचेर प्रहरीलाई खबर गरेका थिए । ‘खानामा माछा थियो । माछामा किरै किरा थियो । अनि मैले प्रहरीलाई भनेँ,’ यात्रु धनराज गिरीले दियोपोस्टसँग भने,‘प्रहरी आउनु भयो । मलाई खाना खाएपछि वान्ता भयो । हल्का पखाला पनि लागेको छ । मैले पखाला लागेको औषधी खाएँ ।’


‘हामीलाई खबर आएको छ । प्रहरीले तस्विर खिचेर राखेको छ । हामी कारबाही प्रक्रियामा अघि बढेका छौँ,’ जिल्ला प्रशासन कार्यालय धादिङका प्रखुम जिल्ला अधिकारी ज्ञान प्रसाद ढकालले भने ।


ग १ ख ३९७४ नम्बरको माइक्रोमा नारायणगढ हिँडेका यात्रु उक्त होटलमा खाना खान रोकिएको थियो । उक्त माइक्रोका चालकले पनि आफूले खाना खाइसकेपछि यात्रुको खानामा रहेको माछामा किरा भेटिएको बताए । ‘मैले जहिल्यै यहाँ गाडी रोक्ने गरेको थिएँ । आज नै यस्तो घटना भयो,’ उनले भने,‘खानामा किरा देखिएपछि प्रहरीहरु आउनु भो । उहाँहरुले के गर्नु भयो म त अहिले नारायणगढ आइसकेँ ।’


उनका अनुसार गाडीका साहु किशोर शर्माले उक्त होटलबाट मासिक रकम बुझ्दै आएका छन् । मासिक रुपमा रकम बुझेर गाडीवालाहरुले होटलमा यात्रु रोक्दै आएका छन् ।


यात्रुहरुका अनुसार यस होटलले यसअघि देखि नै यस्तै लुट मच्चाउँदै आएको थियो । यात्रुहरुको स्वास्थ्यमा खेलबाड गर्ने होटल सञ्चालक प्रकाश त्रिपाठी आज गल्ती भएको स्विकार गर्छन् । ‘यत्रो वर्ष भयो मैले होटल चलाएको आजसम्म यस्तो भएको थिएन । तपाईं होटल हेर्न आउन सक्नुहुन्छ । यस्तो भएको थिएन । आज यस्तो भयो । म गल्ती स्विकार गर्छु । आज यो मिडियामा निकाल्दिन भएन,’ उनले भने,‘अब यस्तो गल्ति हुँदैन ।’


उनका अनुसार उक्त गाडीसहित उक्त होटलमा रोक्ने दर्जनौँ गाडीमा त्रिपाठीको लगानी छ ।

सम्बन्धित खबर