यशु सापकोटा
काठमाडौं, २४ भदौ । १० वर्षसम्म तत्कालिन नेकपा माओवादी नेपालमा सशस्त्र जनयुद्ध गर्यो । उक्त जनयुद्धमा प्रमुख मुद्दा बनेको थियो– महिला दलित लगायत सिमान्तकृत समुदायमाथिको विभेद ।
नेपाली समाजमा व्यप्त हिन्दु धार्मिक संस्कृतिमा रहेको विभेदकारी परम्पराका विरुद्ध माओवादीहरुले युद्ध गरेका थिए । माओवादी युद्धकालमा जनसेनामा महिलालाई भर्ति गरेर माओवादीले नै महिला पनि फौज बन्न सक्छन् भन्ने मानक स्थापना गरेको थियो ।
माओवादी जनयुद्धमा हजारौँ महिला जनसेनाको पहिरन लगाएर हतियारबद्ध युद्धमा सामेल भए ।
उनीहरुले नेपाली महिलाहरुले लगाउँदै आएको परम्परागत पहिरन ‘चोलो, साडी, फरिया’ लगायतलाई त्यागेर कम्ब्याट ड्रेसमै महिलाहरुले युद्ध समेत लडे ।
माओवादी युद्धकालमा सांस्कृतिक रुपान्तरणका लागि भन्दै हजारौँ महिला दिदिबहिनीहरुले बलिदान समेत गरे । सांस्कृतिक रुपान्तरणका लागि हतियार उठाएको माओवादीमा यतिबेला चरम सांस्कृतिक विचलन देखिएको छ ।
कुनै समय हिन्दु परम्परामा आधारित तिज संस्कृतिको चर्को विरोध गर्ने माओवादी नेतृहरु नै यतिबेला आधुनिक तिजको नाममा भड्कीलो ‘रमरस’को साक्षी बसेको पाइएको छ ।
बुधबार माओवादी मुख्यालयमा एउटा भिन्न दृष्य देखियो । अखिल नेपाल यातयात मजदुर संघको केन्द्रीय महिला विभागद्वारा आयोजित तिज विशेष कार्यक्रममा माओवादी नेतृ जयपुरी घर्ती प्रमुख अतिथि थिइन् ।
उनी सांस्कृतिक रुपान्तरणका लागि माओवादी युद्धमा होमीएकी प्रमुख महिला कमाण्डर समेत हुन् । उनै घर्तिलाई साक्षी राखेर पेरिसडाँडामा तीज विशेष कार्यक्रम आयोजना भएको हो ।
यस विषयमा प्रतिक्रिया लिन माओवादी नेतृ जयपुरी घर्तीलाई सम्पर्क गर्दा उनले आफू छलफलमा रहेकोले प्रतिक्रिया दिन नसक्ने बताइन् ।
उक्त कार्यक्रममा सहभागीहरुले ‘लरक लरक लर्किने बनारसी सारी….’ भन्दै घन्किएको गीतमा छमछमी नाचेका थिए ।
उनीहरुले उक्त कार्यक्रममा भएको नृत्यको भिडियो लाइभ समेत गरेका थिए ।