काठमाडौँ, २५ भदौ । नेपाल भ्रमणमा रहेकी अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेनज कर्पोरेशन (एमसीसी) उपाध्यक्ष फातिमा सुमारसहितको टोलीलाई सरकारले उच्च सुरक्षा दिएको छ ।
सामाजिक सञ्जालमा एमसीसीको विषयमा चौतर्फी आलोचना भइरहेको बेला सरकारले एउटा परियोजनाका उपाध्यक्ष सहितको टोलीको सुरक्षामा सयौँ प्रहरी खटाएको छ ।
विहिबार विहान त्रिभुवन विमानस्थलमा उत्रिएकी उनीसहितको टोलीलाई विमानस्थलमै अवरोध हुन सक्ने आशंकामा प्रहरीले स्कर्टिङ गरेको थियो । तर, उनी आउनु अघि नै विमानस्थलमा केही युवाहरुले विरोध प्रदर्शन गरिसकेका थिए ।
काठमाडौंमा अवतरण गरेपछि उनले विहिबार नै पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बालकोटस्थित ओली निवासमै भेटेकी थिइन् ।
त्यस्तै विहिबार नै उनले माधव कुमार नेपाल र जसपाका संयोजक डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवलाई भेटेकी थिइन् ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता डिएसपी रमेश बस्नेतका अनुसार फतिमाको सुरक्षामा ५ सय जना प्रहरी परिचालन गरिएको छ ।
“सुरक्षा तह भन्ने त हुदैँन । प्रहरी लगभग चार/पाँच सय जति खटाइएको छ । एमसिसी परियोजनाको सामाजिक संजालमा धेरै विरोध भएको कारणले पनि सुरक्षा व्यवस्थालाई कडा बनाइएको हो,’ डिएसपी बस्नेतले दियोपोस्टसँग भने ।
फातिमाले शुक्रबार नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरिसकेकी छिन् । अब उनले प्रधानमन्त्री शेरबहादुर देउवासहित उच्च राजनीतिक भेटलाई निरन्तरता दिने जनाइएको छ ।