काठमाडौं, ३० भदौ । नेपाल प्रहरीका डिएसपी सन्तोष तामाङले गुण्डा नाइकेहरुसँग साँठगाँठ राखेको पाइएको छ ।
पूर्व प्रधानमन्त्री केपी ओलीको पहिलो कार्याकालमा लामो समय पिएसओमा कार्यरत रहेका उनले झम्सिखेलमा १० करोड बराबरको बहुमुल्य बंगला खरिद गरेको पाइएको थियो । उनै तामाङले गुण्डा नाइके तथा काभ्रेमा बुद्धचित्तको माला लुटपाट घटनामा समलग्न हुँदै आएका गुण्डा नाइके सत्यमान लामासँग मिलेमतोमा विभिन्न शंकाष्पद गतिविधि गर्दै आएको स्रोतले जनाएको छ ।
काभ्रेमा बुद्धचित्तको अवैध कारोबार र लुटपाटमा समलग्न रहेका लामा पटक पटक पक्राउ पर्दै आएका छन् ।
तर, नेकपा एमालेकी सांसद नविना लामा र तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक दबावमा उन्मुक्ति पाउँदै आएका छन् । लामाको गुण्डागर्दी र आपराधिक क्रियाकलापमा डिएसपी लामाले भूमिगत शैलीमा सहयोग गर्दै आएका छन् । उनीहरुबीच विभिन्न व्यावसायीक कार्यमा समेत साझेदारी रहेको स्रोतले बताएको छ ।
गत असारमा लामा बैंकिङ कसुर अभियोगमा पक्राउ परेका थिए । उनलाई छुटाउन डिएसपी तामाङले बर्दीकै दुरुपयोग गरेर उच्च तहको दबाव दिएको स्रोतले बतायो ।
ओलीको पहिलो कार्यकालमा पिएसओ रहेका तामाङले राजनीतिक आडमै अति संवेदनशिल जिल्ला मानिने रसुवाको जिल्ला प्रहरी प्रमुख पाएका थिए । उनी रसुवामा रहँदा नेपाल र चीनको नाका केरुङलाई तस्करीको रुटमा परिवर्तन गरेको आरोप छ ।