गल्छी गाउँपालिकामा हाकिमको ज्यादती : ७० वर्षे अपाङ्ग बृद्धको भत्ता रोक्न बैंकलाई पत्राचार

diyopost.com
दियो पोस्ट  आइतबार, आश्विन १०, २०७८ | ०:२२:४४

धादिङ । धादिङको गल्छी गाउँपालिकामा एक अपाङ्ग बृद्धमाथि चरम ज्यादती भएको पाइएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन कुमार श्रेष्ठले वडा नम्बर ६ निवासी ७० वर्षिय अपाङ्ग तथा ज्येष्ठ नागरिक राम बहादुर भूजेल घर्तीले यसअघि पाउँदै आएको अपांगता भत्त रोक्न बैंकलाई पत्राचार गरेको पाइएको छ ।

श्रेष्ठले राजनीतिक प्रतिशोधकै आधारमा पीडित भूजेलले नियमित पाउँदै आएको भत्ता रोक्न उनले ग्लोबल आइएमई बैंकलाई पत्राचार गरेको पाइएको छ । शारिरिक रुपमा अपाङ्ग रहेका उनलाई महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले निलो कार्ड अर्थात अति असक्त अपाङ्गता भएको कार्ड दिएको थियो ।

सोही कार्डका आधारमा भूजेलले मासिक २०७४ सालदेखि भत्ता बुझ्दै आएका थिए । तर, गाउँपालिकाले उनलाई ज्येष्ठ नागरिकको भत्ता बुझ्न भन्दै कार्यालयमा बोलाएर पहेँलो कार्ड अर्थात ‘ग’ वर्गको कार्ड भिराएर भत्ताबाट कटौटी गरेको पीडित परिवारले बताएका छन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन कुमार श्रेष्ठले गत असार २३ गते बैंकलाई पत्राचार गर्दै असक्त रहेका बृद्ध भूजेलको भत्ता रोक्का गरेका हुन् । गाउँपालिका अध्यक्ष कृष्ण हरी श्रेष्ठले यस विषयमा आफूलाई केही जानकरी नै नभएको बताए । यता प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले दोहोरो कार्ड भएका कारण भुक्तानी रोक्का गरेको दाबी गरे ।

 

सम्बन्धित खबर