गृहमन्त्री खाँणद्वारा आचारसंहिता उल्लंघन, दुई दर्जन बढी सुरक्षाकर्मी लिएर भोट माग्दै

दियो पोस्ट  

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले प्रहरी प्रशासनसहित साथमा लिएर मत माग्दै हिँडेका छन् । आउँदो मंसिर ४ मा हुने प्रतिनिधि चुनावका लागि रुपन्देही ३ बाट उम्मेदवार बनेका खाँण भैरहवामा वडास्तरीय प्रचार प्रसार कार्यालयको उद्घाटन गर्न दर्जन बढी प्रहरी लिएर पुगेका हुन् ।

सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका खाँणको सुरक्षामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, राष्ट्रिय अनुसन्धान र सादा पोसाकका सुरक्षाकर्मी गरी दुई दर्जन बढी प्रहरी खटिएका छन् । जिल्ला प्रहरी कार्यालयले प्रहरी निरीक्षकको कमान्डमा गाडीसहित प्रहरी परिचालन गरेको छ भने सशस्त्र प्रहरीको २७ नम्बर गणले पनि सशस्त्र प्रहरी निरीक्षककै कमान्डमा सशस्त्र प्रहरी गाडीसहित छ । ट्राफिक प्रहरी पनि ट्राफिक व्यवस्थापनका लागि खटेको छ ।

बहालवाला मन्त्री भएकाले सरकारले नै व्यक्तिगत सुरक्षाका लागि सुरक्षाकर्मी प्रदान गरे पनि क्षेत्रगत रूपमा जिल्लाबाट पनि कार्यक्रम भएको स्थलमा प्रहरी परिचालन हुँदै आएको छ । घन्टौसम्म हुने कार्यक्रममा सुरक्षाकर्मी क्षेत्र नम्बर ३ का उम्मेदवारसँग सँगै छन् । बहालवाला मन्त्रीले नै निर्वाचन आचारसंहिता २०७९ विपरीत आफ्नै प्रचारप्रसारमा हिँडेका छन्।

निर्वाचन आचारसंहिता २०७९ को परिच्छेद २ को ४ (क) मा सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्थाले त्यस्तो निकाय वा संस्थाको वा अन्तर्गतको कुनै परियोजनाको स्रोत साधान र सम्पति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा हुने गरी प्रयोग गर्न वा गराउन नहुने उल्लेख छ ।

सिफारिस