राष्ट्रिय खेलकुद प्रतियोगितामा चरम लापरबाही : अख्तियारको नजर लागे कारबाही पर्ने संभावना !

दियो पोस्ट  

काठमाडौं । नेपाली खेलकुदको राष्ट्रिय पर्वको रुपमा रहेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा चरम लापरबाही भएको पाइएको छ । राष्ट्रिय खेलकुद परिषदद्वारा खटाइएका एक कर्मचारीले शक्ति पृथकिकरणको सिद्धान्त विपरित न्याय र अन्याय दुवै एकै व्यक्तिले गरेको पाइएको छ । प्रसंग हो राष्ट्रिय खेलकुद प्रतियोगितामा गैरआवाशिय नेपाली संघको खेलाडीलाई बंचित गरिएको घटना । झट्ट हेर्दा राष्ट्रिय खेलकुद परिषदले गैर एनआरएनलाई सहभागी हुनबाट बञ्चित गरेको ठीकै भएजस्तो देखिएपनि निर्णय प्रक्रियामा भने परिषदले गम्भिर लापरबाही गरेको फेला परेको छ । गैर आवाशिय नेपाली संघ एनआरएनको खेलकुद प्रतिष्ठानले आफ्ना केही खेलाडी अनुपस्थित हुने भएपछि नेपालमै रहेका केही खेलाडीलाई अनुबन्धन गरि नाम परिवर्नत गर्न गत असोेज २४ गते निवेदन दिएको थियो । उनीहरुको निवेदनलाई स्विकृत गर्दै नवौँ राष्ट्रिय खेलकुद (२०७९) प्राविधिक उपसमितिका संयोजक हिमालराज दाहालले स्विकृत गरेका थिए ।

उनीद्वारा हस्ताक्षरित दुवै कागजात : जसमा निवेदन स्विकार पनि उनैले गरेका छन् । खेल जितिसकेपछि बदर पनि उनैले गरेका छन् ।

 

सोही स्विकृतिकै आधारमा असोज २७ गते एनआरएन र प्रदेश १ बीच खेल सम्पन्न भएको थियो । उक्त खेलमा एनआरएनए विजयी भयो । तर, प्रदेश खेलकुद विकास बोर्ड प्रदेश नं. १ ले ८ प्रतियोगितामा सहभागी खेलाडीहरुले यस पूर्व नै बंगलादेश बीचको मैत्रिपूर्ण खेलमा नेपाल तर्फबाट सहभागी भएको भन्दै दाबी विरोध हालेको थियो । उक्त दाबी विरोधको निवेदन उपर उपसमितिकै संयोजक हिमालराज दाहालले नै सुनुवाई गरि यसअघि विजयी भएको एनआरएनए खेलकुद प्रतिष्ठानलाई पराजित गराई प्रदेश नं. १ लाई विजयी गराउने निर्णयमा हस्ताक्षर गरेको पत्र बाहिरियो ।

 

खेलकुद मन्त्रीसँग दाहाल

 

एकै व्यक्तिले दुई वटा निर्णय गरेपछि राष्ट्रिय खेलकुद परिषदले आयोजना गरेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा चरम लापरबाही भएको पाइएको हो । जबकी न्यायको सिद्धान्तमा आफैले गरेको निर्णय सच्याउने अधिकार राख्दैन । ‘समग्र एनआरएनमाथि खेलकुद परिषदले अपमान गरेको हामीलाई महशुस भएको छ । नेपालको खेलकुदको विकासको महत्वपूर्ण योगदान पुर्याएको गैरआवाशिय नेपाली संघबाट सहभागी खेलाडी यदि नियमसंगत थिएन भने शुरुमै खेलाडीको नाम परिवर्तन हुँदा पेश भएको निवेदनमा हेरिनु पर्दथ्यो । त्यहाँ सबैको नाम उल्लेख थियो,’ एनआरएनए खेलकुद प्रतिष्ठानका म्यानेजर सन्तोष कार्कीले भने,‘जो व्यक्तिले हाम्रो निवेदन हेरेर खेलाडी सदर गर्नु भयो उहाँले नै पछि बदर गर्नुभयो । जबकी हामीले प्रदेश १ लाई पराजित गरिसकेका थियौँ ।’

गैरआवाशिय नेपाली संघले निर्णय प्रक्रियामा संलग्न अधिकारीमाथि कारबाही गरिपाउँ भन्दै उजुरी नै हालेको छ । प्रतिष्ठानका सदस्य सचिव धर्म गिरिद्वारा हस्ताक्षरित उजुरीमा खेलाडीको भविष्यमाथि नै खेलबाड गरिएको आरोप छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक अधिकारीका अनुसार एकै व्यक्तिले आफैले गरेको निर्णयलाई बदर गरेर अर्को निर्णय गर्दा अख्तियार दुरुपयोग ऐन २०५८ अनुसार कारबाही समेत हुनसक्छ ।
यस विषयमा प्रतिक्रिया लिन दाहालको मोबाइल नम्बरमा सम्पर्क गर्दा आफू कार्यक्रममा रहेकोले एकैछिनमा कलब्याक गर्ने प्रतिक्रिया दिए । एकैछिनमा कल गर्छु भनेका दाहालले निकैबेरसम्म कुनै सम्पर्क गरेनन् ।

 

सम्बन्धित खबर