काठमाडौं । भारतीय मूलका बेलायती सांसद ऋषि सुनक दोस्रो पटक प्रधानमन्त्री बन्ने दौडमा सामेल भएका छन्।
पूर्वप्रधानमन्त्री बोरिस जोन्सनले आफू फेरि कन्जरभेटिभ पार्टीको नेता हुँदै प्रधानमन्त्री बन्ने दौडमा सहभागी नहुने घोषणा गरेपछि ऋषि बेलायतको नयाँ प्रधानमन्त्री बन्ने सम्भावना बढेको बेलायती सञ्चारमाध्यमहरूले जनाएका छन्।
लिज ट्रसले ४५ दिनमै प्रधानमन्त्रीबाट राजीनामा दिएपछि बेलायतको नयाँ प्रधानमन्त्री छान्ने प्रक्रिया सुरू भएको हो। बेलायतको तल्लो सदन हाउस अफ कमन्समा कन्जरभेटिभ पार्टीको एकल बहुमत छ। कन्जरभेटिभ पार्टीले सरकार बनाउन सक्ने भएकाले प्रधानमन्त्री बन्न उक्त दलको नेता चुनिनु पर्छ।
कन्जरभेटिभको नेता बन्न स्थानीय समयअनुसार सोमबार दिउँसो २ बजेसम्म मनोनयन दर्ता गर्नुपर्नेछ। कन्जरभेटिभ पार्टीले यसपालि निर्वाचन प्रक्रिया छोट्याउन सय जना सांसदले समर्थन गरेको व्यक्ति मात्र उम्मेदवार बन्न पाउने नियम बनाएको छ। ऋषिका पक्षमा अहिले नै १०२ जना सांसद पुगिसकेको बताइएको छ।
प्रधानमन्त्री बन्ने दौडमा रहेकी अर्की सांसद पेनी मोर्डन्टले पनि आज उम्मेदवारी दर्ता गर्ने अपेक्षा गरिएको छ। उनले भने अहिलेसम्म सय जना सांसदको समर्थन जुटाउन कसरत गरिरहेकी छन्।
बेलायतमा यही साताको अन्तिमसम्ममा नयाँ प्रधानमन्त्री चयन गरिसक्ने गरी प्रक्रिया थालिएको छ।
एक जनाको मात्रै उम्मेदवारी परे आजै नयाँ नेता चयन हुने छन्। दुई जना भन्दा बढीको उम्मेदवारी परे सांसदहरूबीच मतदान हुनुका साथै अनलाइनबाट पार्टी सदस्यले भोट दिने व्यवस्था मिलाइएको छ।
ऋषि प्रधानमन्त्रीमा चयन भए भने उनी कुनै बेला भारतमाथि उपनिवेश गरेको बेलायतको प्रधानमन्त्री हुने पहिलो भारतीय मूलका व्यक्ति हुने छन्।
ऋषिका हजुरबुबा-हजुरआमा भारतको पञ्जाबबाट पूर्वी अफ्रिका गएका थिए। केन्याबाट उनको परिवार बेलायतको साउथएम्पटोन सरेका थिए।
ऋषिका बुवा बेलायतको स्वास्थ्य सेवामा काम गर्थे भने उनकी आमा फार्मेसिस्ट थिइन्। सन् १९८० मा जन्मिएका ऋषिले अक्सफोर्ड विश्वविद्यालयमा राजनीति शास्त्र पढेका हुन् भने अमेरिकाकाको स्ट्यान्डफोर्ड विश्वविद्यालयबाट एमबिए गरेका छन्। भारतसँग ऋषिको पुर्ख्यौली साइनोमात्र छैन, अहिले पनि पारिवारिक सम्बन्ध छ।
उनले भारतीय अर्बपति एवं इन्फोसिसका सहसंस्था एनआर नारायणमुर्थीकी छोरी अक्षता मुर्थीसँग विवाह गरेका छन्। अक्षताको अहिले पनि भारतीय नागरिकता छ। सोही कारणले केही समयअघि बेलायतमा कर तिर्ने विषयमा उनी विवादमा परेकी थिइन्।
४२ वर्षका ऋषि यसअघि जोन्सनको सरकारमा बेलायतका अर्थमन्त्री थिए। जोन्सनले राजीनामा दिएपछि उनी पहिलो पटक प्रधानमन्त्री बन्ने दौडमा पुगेका थिए। अन्तिममा उनी अर्की सांसद ट्रससँग पराजित भए। उक्त हार व्यहोरेको दुई महिना नपुग्दै ऋषि फेरि प्रधानमन्त्री हुने दौडमा सामेल भएका छन्। यसपालि उनी बेलायती प्रधानमन्त्री कुर्सीमा पुग्ने सम्भावना बलियो छ।