निर्वाचनपछिको सत्ता समिकरण : बाबुराम भट्टराई वा अग्नि सापकोटा मध्ये एक राष्ट्रपति बन्ने !

दियो पोस्ट  

काठमाडौं । आगामी मंसिर चार गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन नजिकिँदै छ । सत्तारुढ चार दल र नेकपा एमाले, जसपा, राप्रपासहितको गठबन्धन चुनावी आमने सामने भएका छन् । यो निर्वाचनपछि सत्ता समिकरण कस्तो बन्ला भन्ने सर्वत्र चासो छ ।

सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच आगामी निर्वाचनपछि बन्ने सत्ता समिकरणको समेत बागभण्डा भइसकेको उच्च तहका नेताहरुकै दाबी छ । उनीहरुबीच प्रधानमन्त्री वा राष्ट्रपति मध्ये एक आफूले लिनेगरि सहमति भएको शिर्ष नेताहरुबीच चर्चा हुने गरेको छ ।

आगामी निर्वाचनपछि सरकारको नेतृत्व माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गर्ने अनौपचारिक सहमति भएपनि निर्वाचन परिणाम नआएसम्म यसै भन्न सकिने अवस्था छैन् । निर्वाचनको परिणाम आफू अनुकुल नआए कांग्रेसले नै प्रधानमन्त्रीको दाबी नछाड्ने र त्यस्तो अवस्थामा माओवादी केन्द्रलाई राष्ट्रपति दिन सकिने सत्तारुढ दलमा अनौपचारिक सहमति छ ।

शिर्ष तहका एक नेताका अनुसार माओवादी केन्द्रको भागमा राष्ट्रपति परेमा सभामुख अग्नि प्रसाद सापकोटा वा बाबुराम भट्टराई माध्ये एक जना बन्ने तयारी छ । त्यसैका लागि प्रतिनिधि सभाको निर्वाचनका लागि दुवै नेताले उम्मेदवारी दिएका छैनन् । राष्ट्रपति वा उपराष्ट्रपतिमा बाबुराम वा सापकोटाको संभावना बलियो बनेको स्रोत बताउँछ । आफूले राष्ट्रपति पाउने भएपछि डा. बाबुराम भट्टराईले गोरखा २ माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल प्रचण्डलाई सुम्पिएको चर्चा छ ।
आगामी संसदमा माओवादी केन्द्रको सहभागीता निर्णायक हुने ठानेर नै प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनपछि बन्ने सत्ता समिकरणमा दाहाललाई आश्वस्त पार्दै आएका छन् । कांग्रेसकै उच्च तहका एक नेताका अनुसार दुई नेताबीच राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुख लगायत प्रदेश प्रमुख र मुख्यमन्त्रीसम्मको भागबण्डा एउटा तहमा छलफल भइसकेको छ । त्यसलाई मूर्त रुप भने निर्वाचन पछि मात्रै दिइने ती नेताको भनाई छ ।

सम्बन्धित खबर