अमेरिकी सभामुखका श्रीमान्‌ पाउलमाथि आफ्नै घरमा आक्रमण

दियो पोस्ट  

काठमाडौं । अमेरिकी संसद्की सभामुख नेन्सी पेलोसीका श्रीमान् पाउल पेलोसीमाथि उनकै घरमा आक्रमण भएको छ। उनीमाथि ह्यामरले आक्रमण गरिएको बीबीसीले उल्लेख गरेको छ। समाचारमा उल्लेख गरिएअनुसार आक्रमणको कारण उनको दायाँ हातको हड्डी फुटेको छ भने उनको शल्यक्रिया गरिएको छ।

संदिग्ध आक्रमणकारीले नेन्सी पेलोसीलाई खोज्दै पाउलमाथि आक्रमण गरेका थिए। यो आक्रमणमा संलग्न रहेको आरोपमा प्रहरीले ४२ वर्षीय एक व्यक्तिलाई पक्राउ गरेको छ।

अहिलेसम्म आक्रमणकारीले किन नेन्सी पेलोसीलाई खोजेका थिए भन्ने खुलेको छैन। आक्रमणको समयमा पेलोसी वासिङटन डीसीको अर्को क्षेत्रमा थिइन्। आक्रमणपछि उनी आफ्ना श्रीमान्‌लाई भेट्न अस्पताल पुगेकी थिइन्।

डेमोक्रेट्सका प्रवक्ताले दिएको जानकारीअनुसार शुक्रबार बिहान पाउल पेलोसीमाथि आक्रमण भएको हो। आक्रमणकारीले नेन्सी पेलोसीलाई खोज्दै पाउललाई ज्यान मार्ने धम्कीसमेत दिएका थिए। पाउलको शल्यक्रिया गरिएको र उनी अब छिटै निको हुने चिकित्सकहरुले बताएका छन्।

सम्बन्धित खबर