धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका–७ मछेडीखोला स्कार्पियो जिप दुर्घटना हुँदा एक जना घाइते भएका छन् ।
धादिङबाट काठमाडौतर्फ जाँदै गरेको बि एडी ३५४२ नम्बरको जिप सडकबाट करिब पचास मिटर तल खोँचमा खसी दुर्घटना भएको हो ।
दुर्घटनामा जिप चालक धादिङका ज्वालामुखी गाउँपालिका–७ का २२ वर्षीय युवराज इटनी घाइते भएका छन् ।
जिप तीव्र गतिमा भएका कारण अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाकारी दिए ।
जिल्ला ट्राफिक कार्यालय गजुरीका प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठका अनुसार मछेडीखोला पुल कटेपछि घुम्ती सडकमा अनियन्त्रित भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको हो ।
घाइते इटनीको अवस्था सामान्य रहेको र गल्छी बैरेनीमा उपचार भइरहेको प्रहरीले जानकारी दिए ।