
हरेक अक्टोबर महिना यहुदीहरुका लागि पवित्र महिना हो । सेप्टेम्बर ३० देखि अक्टोबर ६ सम्म उनीहरु निकै उल्लासका साथ पवित्र धार्मिक चाडका रुपमा मनाउछन् (हिब्रु बाइबल अनुसार मिश्रदेशबाट स्वतन्त्र भएको खुसीयालीमा यहुदीहरु यो सप्ताह मनाउछन्) तर, यसवर्ष यहुदीहरु उल्लासका साथ चाड मनाएर खुसी साटासाट गर्न पाएनन् कारण हो–हमास ।
अक्टोबर ७ शनिबार बिहान सबेरै प्यालेस्टाइनी संगठन हमासले इजरायलमाथि सरप्राइज आक्रमण गरेपछि युद्ध भड्किएसँगै उनीहरुको चाड विथोलियो । हमासले आक्रमण गरे लगत्तै इजरायले पनि युद्धको घोषण गरे, जसकारण यतिबेला इजरायल र हमासले एकैपटक पुरै विश्वको ध्यान खिचेको छ । याे समाचार तयार पार्दासम्म दुवै तर्फगरी तीन हजार जना मानिसले ज्यान गुमाएका छन् । त्यसमा १० नेपाली पनि छन् ।
हमासको आक्रमणमा इजरायलमा १३ सयको मृत्यु हुँदा इजरायली सेनाको हवाई कारबाहीमा गाजाक्षेत्रमा पनि ५०० बालबालिकासहित १५ सय ३७ प्यालेस्टाइनीको मृत्यु भएको छ । इजरायल सरकारका अनुसार हमासले शनिबारको आक्रमणपछि १५० जनालाई अपहरण गरेर गाजा पट्टीमा बन्दी बनाएको छ ।
शनिबार बिहान इजरायलमा २ हजार २ सय रकेट प्रहार भएको इजरायली डिफेन्स फोर्स (आईएफडी)ले जनाएको छ । तर हमासले ५ हजार रकेट प्रहार गरेको दाबी गरेको छ जसका कारण इजरायलका धेरै सहरहरूमा जनधनको ठूलो क्षति भएको छ ।
यो युद्ध कति लामो जान्छ र के–कति क्षति पु¥याउँछ यसै भन्न सकिने अवस्था छैन । तर, यो युद्ध नयाँ कुरा भने हैन ।
पुरानै ईतिहासको नयाँ श्रङ्खला
इतिहासमा इजरायल–प्यालेस्टाइनबीच बारम्बार यस्ता संघर्ष चर्किएका थिए । साना–ठूला जोड्ने हो भने दुई दर्जन भन्दा बढी युद्ध भएका छन् । इजरायल–प्यालेस्टाइन संघर्षलाई आधुनिक कालखण्डको ‘संसारकै सबैभन्दा लामो द्वन्द्व’ भनिन्छ । इजरायल–प्यालेस्टाइनको विवाद पटक–पटक किन दोहोरीरहन्छ ?
इजरायल–पेलिस्टाइनको इतिहास
हालको इजरायल र पेलिस्टाइन देश १०४७ बि.सि मा ‘किंगडम अफ इजरायल’ भनेर परिचित थियो । त्यँहा यहुदीहरुको बसोबास थियो । जसलाई राजा सोलोमनले शासन गर्थे । इजरायल राज्यको राजधानी थियो यरुशलेम (जेरुशलेम) । यहि यरुशलेममा राजा शोलोमोनले यहुदीहरुको पहिलो मन्दिर बनाएका थिए, जसको नाम थियो ‘टेम्पल माउन्ट’ । यही मन्दिरमा यहुदीहरु प्रत्यक दिन पुजा आरधना गर्थे । तर इजरायलमा सोलोमनको साम्राज्यलाई हडप्दै ५८७ बि.सिमा बेबिलोलियनहरुले मन्दिर फुटाए । बेबोलियनको साम्राज्यलाई हडप्दै फारसिहरुले सो मन्दिरलाई पुनः निमार्ण गरे र ‘पहिलो मन्दिर’ लाई ‘दोस्रो मन्दिर’ भनेर नामाकरण गरे । फारसिको राज्यलाई परास्त गर्दै रोमन साम्राज्यले त्यहाँ हस्तक्षप गरि ‘दोस्रो मन्दिर’लाई फुटाए । बेबिलोलियन र रोमन राज्यले मन्दिर फुटाएपछि त्यहाँ मन्दिरको पर्खालमात्रै बाँकि रहन्छ, बाँकी रहेको पर्खाल नै ‘वेस्टर्न वाल’ हो । वेस्टर्न वाल यहुदी धर्मालम्बिहरुको एकमात्रै धार्मिकस्थल हो ।

रोमन साम्राज्यमा भएको पटक पटकको दमनपछि इजरायल राज्यका प्राय यहुदीहरु यूरोपका विभिन्न देशहरुमा शरणार्थी भएर बस्न थाले । कतिपय यहुदीहरु इजरायलमै बसे । इजरायलमै बसेको एक परिवारमा ‘यशु ख्रीष्ट’ अर्थात ‘जिजस क्राइष्ट’को जन्म भयो । ‘यशु ख्रीष्ट’ले रोमन साम्राज्यकै दौरानमा यहुदीहरुको यरुशलेम मन्दिर भित्र आफ्नो अलग्गै खाले शिक्षा दिन सुरु गरे, जुन पछि गएर ‘क्रिस्चिएन’ धर्मका रुपमा परिचित भयो । तसर्थ यशुलाई क्रिस्चिएन धर्मको सुत्रधार भनेर चिनिन्छ । यशुको शिक्षाका कारण इजरायलमा यहुदी विस्तारै विलोप हुँदै गयो, जसकारण यहुदीहरु यशुसँग रुष्ट भए र यहुदीहरुले यशुलाई यरुशलेमको कल्वारी डाडाँमा लगेर सबैको अगाडी क्रुशमा टाँगेर मारे भन्ने विश्वास गरिन्छ ।
यरुशलेमको महत्व के छ ?
यशुलाई क्रुसमा झुण्ड्याउने बेलामा पनि इजरायलमा रोमन साम्राज्यकै सत्ता थियो र सबै सामान्य ढंगबाट चल्दै थियो तर २५ जुलाई ३०६ मा रोमन राज्यका राजा ‘मलेरस’को मृत्यु भयो र उनका छोरा ‘कन्टेन्ट टाइन द ग्रेट’ रोमन राज्यका राजा बने । उनलाई क्रिस्टिएन धर्म खुबै मनपर्छ र क्रिस्टिएन धर्म विश्वास गर्ने पहिलो राजा बने । उनी क्रिस्टिएन बनेसँगै पुरै रोम राज्यमा क्रिस्टिएन धर्म फैलियो । क्रिस्टियन फैलिएसँगै यशुलाई मार्ने यहुदीहरुप्रतिको नकरात्मक भावना फैलियो । जसकारण राजा ‘कन्टेन्ट टाइन द ग्रेट’ले आफ्नो शासनकालमा यहुदीहरुमाथि निकै क्रुरताका साथ दमन गरे । बाकी रहेका केही यहुदीहरु पनि रोमन राज्य छाडेर युरोपका विभिन्न देशहरुमा भागे ।

यशुलाई क्रुसमा चडाएको डाडामा राजा कन्टेन्ट टाइन द ग्रेटले ‘चर्च अफ द होली सापल्कर’ बनाए । यो चर्च ‘टेम्पल माउन्ट’देखि करिब दुई किलोमिटर पश्चिमपट्टि छ । यसपछि सन् ६३८ मा रोमन राज्यलाई परास्त गर्दै इजरायलमा ‘अरब आर्मीज अफ उमर’को साम्राज्य सुरु हुन्छ । अरबको साम्राज्यपछि यहुदी र क्रिस्टिएन मात्रै भएको इजरालयमा मुस्लिमहरुको संख्या पनि बढ्दै जान्छ । अरब साम्राज्यकै दौरान सेकेण्ड टेम्पल भएकै ठाउमा ‘डोम अफ द रक’ र ‘अल अक्सा मस्जित’ बनाए । यही डोम अफ द रक, अल अक्सा मस्जित र वेस्र्टन मल (सेकेण्ड टेम्पलको बाकीँ हिस्सा) भएको ठाउँलाई यहुदीहरु ‘टेम्पल माउण्ट’ भन्छन् र मुस्लिमहरु ‘हरम अल सरिफ’ भन्छन् । यही चर्च अफ द होली सापल्कर, डोम अफ द रक, वेस्र्टन मल र सेकेण्ड टेम्पल भएको एक प्रान्त क्रिस्टिएन, मुस्लिम र यहुदीहरुका लागि निकै खास मानिन्छ । जसलाई यरुशलेम भनिन्छ । विश्वमा सबैभन्दा धेरै धर्मालम्बि रहेको क्रिस्टिएनहरुका लागि यो क्षेत्र निकै महत्वपुर्ण मान्छन् । यहुदीहरुले पहिलो मन्दिर भएका कारण यो क्षेत्रलाई यहुदीहरु पनि महत्वपुर्ण मान्छन् भने मुस्लिमहरुले मक्का मदिना पछिको सबैभन्दा महत्वपुर्ण धार्मिक स्थलका रुपमा यसै क्षेत्रलाई मान्छन् । तसर्थ यरुशलेम धार्मिक दृष्टिकोणबाट महत्वपुर्ण छ । तसर्थ तिनै धर्मालम्बीहरु सो क्षेत्रलाई आफ्नो कब्जामा लिन चाहन्छन् ।
यहुदीवादको थालनी…
रोमन साम्राज्यको समयमा इजरायल छाडेर युरोप जाने यहुदीहरु सन् १८९१ मा अरबहरुले राज्य गरेको समयमा पुनः इजरायल फर्किन इच्छा गर्न थाले । सोही वर्ष यहुदी लेखक तथा पत्रकार लियोन पेन्करले ‘अटो इमेन्सिपेसन’ नामक पुस्तक लेखे । ‘युरोपमा यहुदीहरुमाथि निकै अत्याचार भएको छ र योहुदीहरुको लागि जुनकुनै कानुन बनाएपनि युरोपियनहरुले यहुदीलाई आफ्नो बराबरी नठान्ने’, सो पुस्तकमा उनले लेखेका छन्, ‘यहुदीहरुले आफ्नो भाग्य आफै लेख्नुपर्छ र एक स्वतन्त्र यहुदी राज्य बनाउनुपर्छ ।’ यहुदीहरुको यो छुट्टै राज्य चाहिने माग एउटा राजनीतिक मुद्धा झै स्थापित भयो । यही बिच एउटा कदमको थालनी भयो, जसलाई यहुदीवाद नाम दिइयो । यो कदमको एउटै उद्देश्य थियो कि यहुदीहरुका लागि छुट्टै राज्य स्थापना होस् ।
बेलफोर घोषणा…
सन् १९१४ मा पहिलो विश्वयुद्ध सुरु भयो । पहिलो विश्वयुद्धमा जर्मनी र बेलायत एकअर्काको विरोधमा दिए । इजरायल राज्यमा शासन गरिरहेको अटोमन साम्राज्यले जर्मनीलाई समर्थन गर्यो । बेलायतले जर्मनीलाई हराउनको लागि यहुदीहरुको समर्थन लिनुपर्ने भयो । जसका लागि बेलायतले यहुदीहरुलाई खुसी बनाउन यहुदीवादको समर्थन गर्यो र यहुदीहरुलाई छुट्टै राज्य दिने मागमा समर्थन गर्यो र बेलायतले एउटा घोषण गर्यो, जसलाई ‘बेलफोर घोषणा’ भनिन्छ । यो घोषणाभित्र यहुदीहरुलाई छुट्टै राज्य दिने भनिएको छ । पहिलो विश्वयुद्धमा बेलायत, अमेरिका, सोभियत संघ (हाल रसिया) एक तर्फ थिए जसलाई यहुदीहरुको समर्थन थियो भने अर्को तर्फ जर्मन थियो जसलाई अटोमन राज्यको समर्थन थियो ।
सन् १९१८ मा पहिलो विश्वयुद्ध अन्त्य हुन्छ र बेलायतको जित हुन्छ । जितसँगै यहुदी राज्यमा शासन गरिरहेका अटोमन साम्राज्यलाई हटाइन्छ र बेलायती शासनको थालनी भयो । युद्धमा यहुदीहरुले खुलेर बेलायतको समर्थन गरेका थिए तसर्थ बेलफोर घोषणामा भनिएझै पुरानै भुमि (हाल प्यालेस्टाईन)मा यहुदीहरुलाई बसाई सराई गर्न सुरु गर्यो । यहुदीहरु प्यालेस्टाइन फर्किएसँगै प्यालेस्टाइन र त्यस वरपर रहेका अरबी देशहरुलाई यहुदीहरुको पुनःआगमनले पोल्न थाल्यो र उनीहरुले विरोध गरे । तर यहुदीहरुसँग बेलायत र यहुदीवादको समर्थन थियो जसका कारण उनीहरुले प्यालेस्टाइनमा जग्गा खरिद गरेर बस्न सुरु गरे ।

सन् १८७८ को अटोनम जनगणना अनुसार प्यालेस्टाइनमा ४ लाख ७० हजार जनसंख्या थिए जसमध्य २५ हजार यहुदी थिए र अन्य सबै अरबीहरु नै थिए । तर यहुदीवादको थालनीसँगै प्यालेस्टाइनमा सन् १९१४ को जनगणनामा यहुदीको संख्या ८५ हजार पुग्यो र त्यसयता यहुदीहरुको संख्या लाखौँ पुग्यो । यहुदीहरुको बढ्दो आगमनलाई देखेर अरबीहरुले आगमनलाई रोक्न अनुरोध गरे तर बेलायतले मानेन झनै यहुदीहरुको आगमन बढ्दै गयो । १९१९–१९२३ बिचमा पुर्वी युरोपबाट ३० हजार, १९२४–१९२६ मा पोल्याण्डबाट ५० हजार, १९३३–१९३६ मा १ लाख ७० हजार गर्दै विभिन्न समयमा लाखौ यहुदीहरु प्यालेस्टाइन फर्किए ।
यहुदीमाथिको दमन…
हिटलरको उदय र युरोपमा रहेका यहुदीहरुमाथिको दमन बढेसँगै यहुदीहरु प्यालेस्टाइन फर्किनै बाध्य थिए । हिटलरको दबदबा रहेको देशहरुमा यहुदीहरुलाई लाखौको संख्यामा मारिन्थ्यो । हिटरलकै कारण लाखौ यहुदीको मृत्यु भएको इतिहास साक्षि नै छ । यशु ख्रिष्टको मृत्यु र मिटरब्याजी धन्दाका कारण यहुदीहरुमाथि किस्टियनहरुले निकै क्रुर व्यबहार गर्थे जसकारण उनीहरु युरोप लगायतका देश छाडेर प्यालेस्टाइन फर्किन बाध्य भए । र प्यालेस्टाइनमा अरबी भन्दा धेरै यहुदीहरुको संख्या बढ्यो ।
सन् १९३९ मा दोस्रो विश्वयुद्ध सुरु भयो । दोस्रो विश्वयुद्धमा अरबी मुलुकहरुले हिटरलको समर्थन गर्यो र यहुदीले बेलायत, अमेरिका र तत्कालिन सोभियत संघको समर्थन गर्यो । दोस्रो विश्वयुद्धमा जर्मनिको हार भयो । यो युद्धमा लाखौँ यहुदीहरुको मृत्यु भयो । दोस्रो विश्वयुद्धपछि संयुक्त राष्ट्र संघ (युएनओ) गठन भयो संयुक्त राष्ट्र संघले विश्वमा शान्ति स्थापना र मानवअधिकारको विषयमा वकालत गर्ने उद्देश्यका साथ काम सुरु गर्यो ।

संयुक्त राष्ट्र संघमा दोस्रो विश्वयुद्ध जित्ने बेलायत, अमेरिका र रुसकै बर्चस्व थियो । तसर्थ यहुदीहरुको मागलाई सम्बोधन गर्दै बेलफोर घोषणालाई युएनमा पेश गरियो र फेब्रुअरी १९४७ मा बेलायतका विदेश विभागका सचिव अर्नेष्ट बेभिनले प्यालेस्टिन बेलायतको अधिनभन्दा बाहिर भएको र यहुदीहरु प्यालेस्टाईन फर्किने विषयलाई राष्ट्र संघले हेर्नुपर्ने अभिव्यक्ति दिए । त्यसलगत्तै युएनले विभिन्न ११ देशका सदस्य सहित एउटा विशेष समिति बनायो र प्यालेस्टाइनमा स्थलगत अध्ययन गर्यो । सो समितिको प्यालेस्टाइनमा १ तिहाइ जनसंख्या यहुदी र दुई तिहाइ जनसंख्या अरबीको रहेको प्रतिवेदन पेश गर्यो ।
इजरायलको जन्म…
प्रतिवेदनलाई मध्यनजर गर्दै इजरायल अन्ततः मे १४, १९४८ मा स्थापित भएको थियो । र इजरायलको गठनसँगै, स्थानीय तनाव क्षेत्रीय विवादमा परिणत भयो । भोलिपल्ट इजिप्ट, जोर्डन, सिरिया र इराकले यस क्षेत्रमा आक्रमण गरे । यो पहिलो अरब इजरायल द्वन्द्व थियो । यसलाई यहूदीहरूको स्वतन्त्रता संग्राम पनि भनिन्थ्यो । यो युद्धको अन्त्य पछि, संयुक्त राष्ट्र संघले अरब राष्ट्रका लागि आधा भूमि आरक्षित गर्यो ।
त्यतिनै बेला प्यालेस्टाइनीहरूको लागि त्रासदीको अवधि सुरु भयो । साढे सात लाख प्यालेस्टाइनीहरू छिमेकी देशहरूमा भाग्नु परेको थियो । तर सन् १९४८ यहूदी र अरबबीचको अन्तिम द्वन्द्व थिएन । सन् १९५६ मा स्वेज नहरलाई लिएर विवाद भयो र इजरायल र इजिप्ट फेरि एकअर्काको सामु उभिए । तर यो मुद्दा युद्ध मैदान बाहिर हल भयो ।

तर सन् १९६७ मा ६ दिनसम्म चलेको अरब–इजरायल द्वन्द्व एक हिसाबले अन्तिम ठूलो युद्ध थियो । त्यो वर्ष जुन ५ देखि जुन १० बीचमा जे भयो, त्यसको दीर्घकालीन प्रभाव धेरैपछि सम्म रहयो । अरब राष्ट्रहरूको सैन्य गठबन्धनमाथि इजरायल विजयी भएको थियो । गाजा पट्टी, इजिप्टको सिनाई प्रायद्वीप, जोर्डनबाट वेस्ट बैंक (पूर्वी जेरुसेलम सहित) र सिरियाबाट गोलान हाइट्स आफ्नो नियन्त्रणमा आए । आधा लाख प्यालेस्टाइनी विस्थापित भए ।
अन्तिम अरब–इजरायली संघर्ष सन् १९७३ को योम किप्पुर युद्ध थियो । इजिप्ट र सिरियाले इजरायल विरुद्ध यो युद्ध लडे । इजिप्टले सिनाई प्रायद्वीप पुनः प्राप्त गर्यो । सन् १९८२ मा इजरायलले यस क्षेत्रमाथि आफ्नो दाबी त्यागेको तर गाजामा होइन । छ वर्षपछि, इजिप्ट इजरायलसँग शान्ति सम्झौतामा हस्ताक्षर गर्ने पहिलो अरब राष्ट्र बन्यो । जोर्डनले पछि त्यसलाई पछ्यायो ।
पिएलओ गठन
१९६४ इजिप्टमा अरब मुलुकहरुको बैठकबाट प्यालेस्टाइन लिब्रेसन अर्गनाईजेसन (पिएलओ) नामक संगठनको स्थापना भयो । पिएलओको मुख्य उद्देश्य थियो–प्यालेस्टाइनलाई इजरायलबाट फिर्ता लिने । सन् १९६९ मा यासिर अर्फात पिएलओका प्रमुख बने । उनी अध्यक्ष बनेसँगै पिएलओ र इजरायलबीच द्वन्द्व सुरु भयो । पटक पटकको प्रयासपछि पनि इजरायललाई हराउन नसकेपछि पिएलओले १९७६–१९७७ बिचमा २९ विमान हाइज्याक गरे, १९७२ जर्मनीमा भएको ओलम्पिक्समा इजरायली खेलाडीको हत्या गरे । त्यो घटनापछि इजरायलमाथि समस्या थपिदै गयो र पिएलओले विश्वको ध्यान खिच्यो ।

पिएलओको बढ्दो प्रभावपछि इजरायलले लेबिनानमा बस्दै आएका लडाकुहरुमाथि हमला गर्यो । १९८२ मा भएको सो हमलामा परि १८ हजार मानिसको मृत्यु भयो । यो हमलापछि पिएलओ कमजोर बन्दै गयो । १९९३ मा प्यालेस्टाइनलाई गाजा पट्टि र वेस्ट बैंक दिन, पिएलओका प्रमुख यसिरलाई सो क्षेत्रको राष्टपति बनाउने र दुवै देशबिच शान्ति कायम राख्ने इजरायलसँग सम्झौता भयो । जसलाई ‘अस्लो रेकर्ड सम्झौता’ भनिन्छ । यो सम्झौतासँगै युद्ध शान्ति कायम हुने सोचिएको थियो तर इजरायलले सहमति भएबमोजिम कुनैपनि सम्झौतालाई पालना गरेन । सम्झौता पालना नगरेपछि प्यालेस्टाइनीहरुले इजरायलप्रतिको विश्वास गुमाए र पिएलओलाई बसहिष्कार गर्न सुरु गरे ।
हमासको जन्म…
पिएलओप्रतिको वितृष्णका कारण हमास समुहको जन्म भयो । हमासको पुरा नाम ‘हर्कत अल मक्वामा अल इस्लामिया’ हो । जसलाई इस्लामिक प्रतिरोध आन्दोलन भनिन्छ । हमासका संस्थापक शेख याम्मद यासिन हुन् । यासिन एक प्यालेस्टाइनी नागरिक हुन् । उनी पढाइको शिलशिलामा इजिप्ट पुगेका थिए । इजिप्टमा हुँदा उनी मुस्लिम ब्रदरहुड नामक संस्थाबाट निकै प्रभावित भएका थिए । मुस्लिम ब्रदरहुडको स्थापना १९२८ मा भएको थियो । आर्थिक अभावका कारण बीचैमा पढाई छोडेर गाजा फर्किएपछि यासिन प्यालेस्टाइनमा एक मुस्लिम ब्रदरहुडको अभियान्ता भएर कार्य थालनी गरे र प्यालेस्टाइनमा मुस्लिमहरुको सन्देश फैल्याउन सुरु गरे । सोही अभियानका कारण सन् १९६७–१९८७ बीच गाजामा मस्जितको संख्या २ सय देखि बढेर ६ सय भएको थियो । सन् १९९१ मा भएको एक अनुसन्धानका अनुसार मुस्लिम ब्रदरहुडहरु गाजाका सोही मस्जितमा आफ्ना लागि लडाकु तयार पार्थे ।

८ डिसेम्बर १९८७ गाजामा दुर्घटना भयो र धेरै प्यालेस्टीनी कामदारहरुको मृत्यु भयो । जसकारण त्यहाँ हिंसा सुरु भयो र इन्तफादाको थालनी भयो । इन्तफादा अभियानमा धेरै प्यालेस्टानीहरुले इजरायल विरोधी गतिविधिहरु गर्न थाले । त्यसैबेला जन्मियो हमास । हमासको एउटै उद्देश्य थियो इजरायललाई परास्त गर्नु । ‘प्यालेस्टाइनको समस्या समधान गर्ने एउटै विकल्प भनेको युद्ध हो’ भनेर हमासले आफ्नो घोषणा पत्रमा नै उल्लेख गरेको छ । “हामीलाई वेस्ट बैंक र गाजा होइन, इस्लाम, यहुदी र क्रिस्टियन प्यालिस्टाइन बनाऔँ जुन इस्लामिक राज्य बन्छ” सन् १९८८ मा हमासका संस्थापक यास्सिनले द गार्र्डियनलाई दिएको एक अन्तवार्तामा भनेका छन् ।
हमासले अस्लो रेकर्ड सम्झौतालाई अस्विकार गर्यो र विभिन्न हिंसात्मक गतिविधि गर्यो । विभिन्न बसहरुमा बम राखेर विस्फोट गरियो र हजारौं मानिसको मृत्यु भयो । डिसेम्बर १९९५ मा इजरायलले हमासका लागि बम बनाउने प्रमुख व्यक्ति याया ऐयासको हत्या गरे तर हमासको हिंसात्मक गतिविधि रोकिएन । त्यसैबीच इजरायलमा निर्वाचन भयो जसबाट बेञ्यामिन नेतेन्याहु प्रधानमन्त्रीमा निर्वाचित भए । १९९६ मा उनी इजरायलको प्रधानमन्त्री बने र १९९७ मा अमेरिकाले हमासलाई एउटा टेरेरिस्ट संगठन करार गर्यो । त्यसैबीच दुई आत्मघाती बम हमला भयो जहाँ २७ इजरायली नागरिकको मृत्यु भयो ।
२६ अक्टोबर २००० देखि १२ जुलाई २००५ सम्म हमासले इजरायलविरुद्ध २ सय भन्दा बढी हमला गरे जसकारण हमासले प्यालेस्टाइनीहरुको समर्थन बटुल्दै गयो । हमासको बढ्दो चर्चापछि ६ सेप्टेम्बर २००३ मा हमासका प्रमुख यासिनको गाजास्थित घरमा इजरायलले हमला गर्यो तर उनी बाचे । तर २००४ मा उनी मिसाइल हमलामा मारिए । त्यसपछि हमासको लिडर बने इस्माइल हानिय । उनी कतारमा छन् । उनको परिवार पनि इजरायलको आक्रमणमा परेको थियो ।

हमासको आयस्रोत के हो ?
हमासको पटक–पटक हमला पछि इजरायलले पनि गाजापट्टिमा हमास केन्द्रीत गरेर हमला गर्यो, जसमा यहुदीहरु पनि मारिए । यहुदीहरुको पनि मृत्युहुन थालेपछि इजरायलले आफ्ना नागरीकहरुलाई गाजापट्टि छाडेर सिमाना वरपर बस्ने उर्दि दिए । त्यसलगत्तै¬ हमासले मे २००७ पछि गाजामा पुरै कब्जा गर्यो । त्यसपछि प्यालेस्टाइन पनि दुई संगठनको कब्जामा पुग्यो । गाजामा हमास र वेस्ट बैंकमा फतह । गाजामा हमासले कब्जागरेसँगै इजरायल र इजिप्टले सबै सिमाना बन्द गर्ने चेतावनी दिए । सिमा बन्द भएपछि हमासले इजिप्ट निस्किने टनेलहरु खन्न सुरु गरे ।
इजिप्टबाट उनीहरु सामान्य भन्दा सामान्य खाद्यसामग्रीहरु तस्करी गर्थे र गाजामा व्यापार गर्थे । तस्करी गरेर ल्याएको सामानमा हमासले कर पनि असुली गर्थे । यहीबाट उनीहरु आर्थिक उपार्जन गर्थे । हमासलाई इरानले पनि आर्थिक सहायता गर्ने विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाको दाबी छ । अलजजिराका अनुसार हमासलाई इरानले प्रत्यक वर्ष १०० मिलियन डलर बजेट दिन्छ । पैसाका अलावा हतियार, बम बनाउने कच्चा पदार्थ पनि इरानले हमासलाई प्रदान गर्दै आएको छ । सन् २०१३ मा इजिप्टमा नयाँ प्रधानमन्त्रीका रुपमा अब्दुल फताह निर्वाचित भए । उनले हमासले बनाएका सबै गैरकानुनी टनलहरु बन्द गरे । तर हमासले आफ्नो अभियान रोकेन । इजरायलमाथि हमासले सधाँझै आक्रमण गरिरह्यो ।

हमासको बढ्दो प्रभाव
सन् २०१४ मा हमासले ३ इजरालीलाई अपहरण गरे । त्यसपछि इजरायलले युद्ध घोषणा गरे । उक्त युद्ध ५० दिन लामो चलेको थियो । सो युद्धमा ७० भन्दा बढी इजरायली र २ हजार भन्दा बढी प्यालेस्टाइनीको मृत्यु भयो । यसघटनापछि प्यालेस्टाइनीहरुमाझ हमासप्रतिको आशा झनै बढेर गयो । प्यालेस्टाइनको नीति तथा सर्वेक्षण अनुसन्धान केन्द्र(पिसिपिएसआर)ले जुन २०२३ मा गरेको अनुसन्धानबाट गाजा र वेस्ट बैंकका आधा भन्दा धेरै प्यालेस्टाइनीहरुले हमासलाई मतदान गर्ने खुलेको थियो । जसकारण प्यालेस्टाइनका राष्ट्रपति मोहम्मद हब्बासले निर्वाचन नै गराएनन् ।
प्यालेस्टाइनीप्रति बढ्दै आएको विश्वासका कारण हमासले गत ७ अक्टोबरका दिन सप्राइज हमला गरेको थियो । इतिहासलाई हेर्ने हो भने हमासले प्यालेस्टाइनबाट इजरायलको नाम निसाना मेटाएर यहुदी, मुस्लिम, क्रिस्टियन सहितको इस्लामिक राज्य बनाउन खोजेको बुझिन्छ । यो सम्भव छ या छैन ?, अमेरिका जस्तो विश्वकै शक्तिशाली राष्ट्रको समर्थन रहेको इजरायलले हमासलाई नियन्त्रणमा ल्याउन सक्छ या सक्दैन ?, इजरायल–प्यालेस्टाइन को विवाद कहिले अन्त्य होला ? यी र यस्तै प्रश्नहरुले विश्वभर उठेका छन् । एजेन्सीहरुको सहयोगमा तयार गरिएको रिपोर्ट ।