ब्रोइलर चल्ला विक्रीमा समेत चरम भ्रष्टाचार : डा. गौतमको मिलेमतोमा गैरकानुनी अनुमतिपत्र !

दियो पोस्ट  

काठमाडौं । नक्कली र किर्ते कागजातको आधारमा लम्पी स्किन डिजिज (एलएसडी) विरुद्धको खोप आयातको अनुमति दिने पशु सेवा विभागमा अर्को अपराध भएको पाइएको छ । विभागकै उच्च अधिकारीको संलग्नतामा नियम र कानुनलाई समेत धज्जी उडाइएको प्रमाण दियोपोस्टले फेला पारेको छ । केही भ्रष्ट र कमिशनखोर कर्मचारीका कारण विभागमा यस्तो अनैतिक क्रियाकलाप भएको हो ।

आयात निर्यात सिफारिस पशुजन्य उद्योग स्थापना तथा विक्री वितरण अनुमति सम्बन्धी कार्याविधि, २०७३ को दफा ७ को उपदफा २ ख मा ह्याचरी वा फार्मबाट उत्पादिन चल्ला मुलुकभर विक्री वितरण गर्न बढीमा ६ महिनासम्मका लागि अनुमति दिने व्यवस्था छ । तर, विभाग मातहत रहेको भेटेरिनरी गुणस्तर तथा औषधी नियमन प्रयोगशाला बुढानिलकण्ठले भरतपुरको चितवन १६ मा रहेको मेघा ह्याचरीलाई एक वर्ष ६ महिना अर्थात डेढ वर्षका लागि अनुमति दिएको फेला परेको छ ।

विभागका निमित्त कार्यालय प्रमुख डा. मोदनाथ गौतमले आर्थिक प्रभावमा परेर खुलमखुल्ला भ्रष्टाचार गरिरहेको विभाग स्रोत बताउँछ । ह्याचरीहरुलाई गैरकानुनी रुपमा उपलब्ध गराइएको चल्ला विक्री अनुमति पत्रमा उनै गौतमको हस्ताक्षर रहेको कागजात दियोपोस्टले फेला पारेको छ ।
एकै प्रकृतिको अर्को एक कम्पनिलाई भने ६ महिना मात्रै चल्ला विक्रीको अनुमति दिएको कागजात पनि दियोपोस्टले फेला पारेको छ । उक्त कागजातमा पनि गौतमले नै हस्ताक्षर गरेका छन् ।

भरतपुर २६ मा रहेको लम्साल पोल्ट्री फार्मलाई दिएको चल्ला विक्री अनुमति पत्र २०८० असारमा जारी भएको हो । तर, उनले २०८० पौषसम्मका लागि मात्रै पाएका छन् । सोही प्रकृतिको अनुमति मेघा ह्याचरीलाई भने एक वर्ष बढीसम्मका लागि दिइएको छ । मेघाले प्राप्त गरेको चल्ला विक्री अनुमति पत्र २०८० वैशाखमा जारी भएको छ । तर उनले २०८१ पौष २० गतेसम्मका लागि प्राप्त गरेका छन् । गौतमले विभिन्न फर्महरुलाई गैरकानुनी रुपमा विक्री अनुमति पत्र दिएको विभाग स्रोत बताउँछ ।

महोत्तरीमा रहेको पिगौना ह्याचरीलाई पनि गौतमले नै चल्ला विक्री अनुमति दिएका थिए । तर, उक्त फर्मसँग चल्ला उत्पादनका लागि प्यारेन्ट नै नरहेको स्रोतको भनाई छ । प्रयोगशालाले उक्त कम्पनिलाई २०७९ साल माघमा चल्ला विक्रीका लागि अनुमतिपत्र दिइएको थियो । गौतम यसअघि नेपालगञ्जस्थित क्वारेन्टाइन कार्यालयमा कार्यरत रहँदा बाख्राको पिपिआर भ्याक्सिन हिनामिनाकाण्डमा मुछिएका थिए । उनी विभिन्न अनियमिततामा मुछिए पनि विभिन्न राजनीतिक पहुँचमा आकर्षक ठाउँमा सरुवा हुँदै आएका छन् ।

सिफारिस