भारतमा वित्तीय अपराधमा मुद्दा चलेका मुखर्जी नविल बैंकको बोर्ड सदस्य !

दियोपोस्ट संवाददाता  

काठमाडौं । भारतमा वित्तीय अपराधमा मुछिएका व्यक्ति नेपालमा भने राष्ट्र बैंकबाट क वर्गको मान्यता प्राप्त एक बैंकको सञ्चालक समिति सदस्य नियुक्त भएको पाइएको छ । नेपालमा सर्वसाधरणले अत्याधिक विश्वास गर्ने बैंक मध्येकै मानिने नविल बैंकमा भारतमा वित्तिय अपराधमा संलग्न रहेको मलय मुखर्जी बोर्ड सदस्य नियुक्त भएको खुलेको हो ।
बैंकको वेभसाइटमै मुखर्जी बोर्ड सदस्य रहेको र उनको बैंकिङ करियरबारे उल्लेख गरिएको छ । तर, उनले भारतमा के कस्तो वित्तिय अपराध गरेका थिए भन्ने विषयबारे विभिन्न भारतीय संचार माध्यममा समेत समाचार प्रकाशित भएको पाइएको छ ।

भारतमा सार्वजनिक क्षेत्रबाट संचालित ‘ईन्डियन बैंक’बाट जारी भएको एक सय ७१ करोड फर्जी ऋण अपराधमा मुछिएका व्यक्ति नेपालमा भने खुलमखुल्ला बैंक संचालक समितिमा रहँदा समेत राष्ट्र बैंक मौन छ ।

शारदा समुहद्वारा संचालित ग्लोबल अटोमोबाइल्स लिमिटेड (जिएएल)ले भारतमा स्कुटर र मोटरसाइकल उत्पादन गर्ने भनिएपनि फिल्डमा भने त्यस्तो उत्पादनको कुनै गुन्जायस नभेटिएको थियो । सोही कम्पनिलाई तत्कालिन ईन्डियन बैंकका महाप्रबन्धक मलय मुखर्जीसहितका उच्च अधिकारीले १ सय ७१ करोड ऋण प्रवाह गरेका थिए । भारतीय कानुन अनुसार आइपीसी धारा १२० को विरुद्धको अपराध मुद्दा उनीमाथि लागेको थियो । यसलाई धोकाधडी आपराधिक षडयन्त्रको मुद्दा उनीमाथि चलेको थियो । जसमा भारतीय स्टेट बैंक समेत संलग्न रहेको खुलेको भारतीय दैनिक पत्रिका ईन्डियन टुडेले उल्लेख गरेको थियो । उनीहरुले सम्पत्तिको किर्ते मुल्यांकन गरि अधिक ऋण प्रवाह गरेको आरोप सरकारी पक्षले लगाएको थियो ।

सारदा समुहले उक्त कम्पनिको सेयर जम्मा २० करोड रुपैयाँमा खरिद गरेको थियो तर, उनी संलग्न रहेको बैंकले २० करोडमा खरिद भएको कम्पनिमा १ सय ७१ करोड ऋण प्रवाह गरेको थियो । यस्तो प्रकारको बैंकिङ अपराध नेपालमा समेत हुने गरेको छ । केही वर्षअघि कुमारी बैंकबाट नक्कली लालपुर्जा धितो राखेर १९ करोड रुपैयाँ ऋण प्रवाह भएको थियो । यो अपराधमा सीईओ नै जेल जानु परेको थियो ।

जिएएलले १२५ करोडको नक्कली स्टक देखाएर १ सय ७१ करोड ऋण लिएको खुलेको थियो । यो अपराधमा मुखर्जी विरुद्ध सरकारले विभिन्न निकायमा मुद्दा दर्ता गरेको थियो । ५ अगस्ट १०११ मा जिएएलको उद्योगमा उनै मुखर्जीले अनुगमन समेत गरेर ऋण प्रवाह गरेको भारतीय संचार माध्यममा उल्लेख छ ।

बैंकिङ वित्तिय अपराधको अभियुक्त नविल बैंकको अडिट कमिटिमा

नविल बैंकको वेभसाइटमा जनाइए अनुसार भारतमा वित्तिय अपराधमा संलग्न रहेका मलय मुखर्जी नै आन्तरिक अडिट विभागको समेत प्रमुख छन् ।

नविल बैंकका कर्मचारी भन्छन्,‘हामीलाई पनि यो नयाँ समाचार हो’

यस विषयमा प्रतिक्रिया लिन नविल बैंकका कर्मचारीलाई सम्पर्क गर्दा यो विषय आफूहरुलाई पनि नयाँ भएको बताउँछन् । ‘हामीले यस विषयमा बुझ्नुपर्ने हुन्छ । हामीलाई पनि यो विषय नयाँ हो,’ ती कर्मचारीले भने,‘हामी सबै बुझेर तपाईंलाई जानकारी दिन्छौँ ।’