
काभ्रे । काभ्रेको पनौती नगरपालिका ३ लामाडोलमा भूमाफिया राजन मैनालीका कारण स्थानियबासीको उठीबास भएको छ । नुवाकोटको सुर्यगढी गाउँपालिका ३ ढुंगेचौर स्थायी घर भएका मैनाली कुनै समय क्यासिनो खेलेर टाट पल्टिएका व्यक्ति हुन् । उनले स्थानिय व्यक्तिहरुको जग्गा कौडीको भाउमा हत्याएर अहिले सो क्षेत्रमा प्लटिङ गरिरहेका छन् ।
ललितपुरको सुमेरु सहकारी ठगीका अभियुक्तसँग साँठगाँठमा पीडितहरुलाई महँगोमा जग्गा विक्री गर्दै आएका उनले त्यहाँका सर्वसाधरणको भने उठिबास लागाएका छन् ।
प्लटिङको नाममा जथाभावी स्क्याभेटर र डोजर चलाएर उनले स्थानीय बासीको खेत तथा घरमा बाढी र पहिरो लगाएको आरोप छ । सोही कारण वडा नम्बर ३ को कार्यालयले उनलाई घरबाटो सिफारिस दिन समेत रोक लगाएको छ । उनले गरेको अवैध प्लटिङका कारण सडक समेत भत्किएको छ ।
‘बाटो जम्मा २० मिटर मात्रै क्षति भएको हो । हामीले डोजर लगाएर समाधान गरिसकेका छौँ,’ मैनाली स्विकार गर्छन्,‘कयौँ पटक डोजर लगाएर खेत समेत मिलाइदिएको छु ।’
उनले यस्तो दाबी गरेपनि स्थानियबासीको घर खेत बाढीले बगाएको स्थानियबासी बताउँछन् । वडाध्यक्ष विष्णु प्रसाद सापकोटाले स्थानियबाट उजुरी आएपछि अहिले उक्त कम्पनिको घरबाटो सिफारिसमा रोक लगाइएको बताए । ‘अहिले भन्दा पहिले क्षति भएको थियो ।
हामीले जनताको गुनासो आएपछि घरबाटो सिफारिस बन्द गरेका छौँ,’ उनले भने ।
मैनालीका कारण अहिले सो क्षेत्रमा चल्ने चार वटा बस समेत चल्न पाएका छैनन् । दर्जनौँ अटो समेत त्यो बाटो चल्न पाएका छैनन् । ‘स्कुल जाने बाटो समेत पुरिएको छ,’ एक स्थानियले दियोपोस्टलाई भने,‘सबै निकायको मिलेमतोमा यो हाउजिङको दादागिरी छ ।’
यता भुमाफिया मैनाली भने आफूहरुले वातावरणीय प्रभाव मुल्यांकन गरेको र सबै निकायसँग अनुमति लिएर काम गरेको दाबी गर्छन् । पहिरो कारण घर खेतै पहिरो जाँदा स्थानियबासीले क्षतिपूर्ति पाएका छैनन् ।