कांग्रेसमा व्यापक अदलबदल हुँदै, पूर्व संस्थापन जुट्दै देउवा फुट्दै !

दियो पोस्ट  

काठमाडौं, असोज १७ । निर्वाचनमा शर्मनाक पराजय बेहोर्नुपरेपछि नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवाविरुद्ध चारैततर्फबाट घेराबन्दीको प्रयास झन्झन् बढेर गएको छ । १३ औं महाधिवेनमा साथ दिएका प्रभावशाली नेताहरु कृष्णप्रसाद सिटौला, केवी गुरुङ, चन्द्र भण्डारी, अर्जुननरसिंह केसीसहितका नेताहरुको साथ मात्रै छुटेको छैन । बरु उनीहरु उल्टै देउवाविरुद्धको मोर्चामा सक्रिय हुन थालेका छन् ।

गुट उपगुटले ग्रस्त भए पनि अब डेढदेखि दुई वर्षमा हुने १४ औं महाधिवेशमा देउवालाई परास्त गर्न एक ठाउँमा उभिनुपर्नेमा साझा मतमा पूर्व संस्थापनका नेताहरु पुगेका हुन् । चारैतिर फर्र्किएका र आ आफ्नो गुटउपगुट चलाएका तत्कालीलन संस्थापन र अहिलेको पौडेल सिटौला पक्ष पछिल्लो समय दुरी घटाउनमा केन्द्रित भएको हो ।

सभापति देउवाले अहिलेसम्म सन्तुलित रुपमा गुट चलाए पनि यो पक्ष पनि विस्तारै मक्किंदै गएको बताइन्छ । नेताहरुले खुलेर देउवाविरुद्ध नबोले पनि अवसर नपाएपछि धेरै नेताहरु असन्तुष्ट छन् ।

महासमितिबाट देउवाविरुद्ध दुरी बढाउँदै
यस अघि केन्द्रीय कार्यसमितिको बैठकबाट देउवाविरुद्ध सुरु भएको मोर्चाबन्दी अब मंसिरमा हुने महासमितिबाट थप मझबुत बनाउँदै आगामी महाधिवेशनबाट देउवालाई परास्त गर्ने गरी पूर्व संस्थापन पक्षले सक्रियता बढाएको हो । यसको क्रम एकपछि अर्को भेटघाट र जमघट गर्दै सुरु भइसकेको छ । अब महासमिति बैठकबाट देखिनेगरी प्रष्ट दुरी देखाउँने गरी अघि बढ्नेबारे पूर्व संस्थापनका नेताहरु सक्रिय हुन थालेका छन् ।
निर्वाचनमा नेपाली कांग्रेस यसपटक दयनीय बनेपछि अब देउवाबाट कम्युनिष्टसँग फाइट गर्न नसकिने, कांग्रेस झन् कमजोर हुने र अर्को निर्वाचनमा झन् बिजोक हुने बुझाईसँगै पूर्व संस्थापनका नेताहरु आपसी मतभेद त्यागेर भए पनि देउवाविरुद्धको मोर्चाबन्दीमा लागेको एक नेता बताउँछन् ।
‘सभापतिका रुपमा देउवाका दुई वर्ष हेर्दा अब उहाँले पार्टीलाई पार लगाउन सक्नुहुन्न भन्नेमा पूर्व संस्थापनका नेताहरु पुग्नुभएको छ’ सो पक्षका एक नेताको टिप्पणी छ, ‘कम्युनिष्ट अधिनायकवादले ग्रस्त हुँदै गर्दा हाम्रो नेतृत्वले अब यस्तोलाई रोक्न र छेक्न सक्दैन । अनि आगामी निर्वाचनमा पार्टी झन् कमजोर हुन्छ भन्ने साझा बुझाई भएकोले पूर्व संस्थापनका नेताहरु एक ठाउँमा उभिने गरी छलफलमा लागेका हुन् ।’

ती नेताका अनुसार अब मंसिरको महासमिति बैठकबाट देउवाविरुद्ध सशक्त प्रतिरोध सुरु हुनेछ । त्यसपछि डेढदेखि दुई वर्ष महाधिवेशनमा देउवालाई हराउँने गरी तयारी हुनेछ ।

सुरु भयो भेटघाट
आफूहरु फुट्दा देउवालाई फेरि पनि परास्त गर्न नसकिने बुझेका कोइराला परिवारका तीन हस्तीहरु डा.शशाक, डा. शेखर र सुजाता कोइरालाहरुले पछिल्लो एक वर्षमा झण्डै आधा दर्जनपटक जति भेटघाट गरिसकेका छन् । रामचन्द्र पौडेलले देउवालाई गतिलो चुनौती दिन नसकेको साझा बुझाईपछि अब तीन कोइरालामध्ये एकले १४ औं महाधिवेशनमा भिड्नेबारे छलफल गरेका छन् ।

तर, अरुलाई नमिलाई हुन्न
आफू मिलेरर सभापतिमा उठ्दा अरु नेतालाई मिलाउँनै पर्ने बाध्यता कोइरालाहरुलाई छ । आफूभन्दा पनि सिनियर नेताहरु रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, डा. रामशरण महतसहितका प्रभावशाली नेताहरुलाई सबै एक ठाउँमा ल्याउनुपर्ने र आउनुपर्ने बाध्यता छ । यी मध्ये कुनै एउटामात्र नेता देउवाको क्याम्पमा पुग्ने हो भने फेरि पनि देउवाले बाजी मार्नेछन् ।

बाक्लिंदै भेटघाट
केही समय अघि अर्का प्रभावशाली नेता अर्जुननरसिंह केसीले पूर्व संस्थापनलाई एक ठाउँमा ल्याउँने गरी छलपल गरेका थिए । केसी आफैंले आयोजना गरेको सो छलफलमा प्रभावशाली नेताहरु रामचन्द्र पौडेल, कृष्ण सिटौला, अर्जुननरसिंह केसीसहित डा. रामशरण महत पनि सहभागी थिए । उनीहरुको भेलाको साझा निचोड अब देउवाविरुद्ध मोर्चाबन्दी गरेर जानुपर्छ भन्ने नै रहेको एक नेता बताउँछन् ।

मिल्दै सिटौला र सुजाता
पहिले कोइराला परिवारका निक्कै विश्वासिला विश्वासपात्र कृष्ण सिटौलासँग पनि पुनः सम्बन्ध विकासको तयारी सुरु भएको छ । मंगलबार बिहान सुजाता कोइरालाको निवास मण्डिखाटारमा यी दुई नेताबीच झण्डै दुई घण्टासम्म संवाद भयो । दुई नेताबीच खुलेरै अब देउवाविरुद्ध मोर्चाबन्दी नगर्दा आफूहरुलाई गाह्रो हुनेबारेमा छलफल भएको थियो ।

खासगरी गिरिजा हुँदैदेखि उनका सबैभन्दा नजिकका विश्वासपात्र सिटौला उनको निधनपछि सुशील कोइरालाको पनि विश्वासपात्र भएर काम गरेका थिए । १३ औं महाधिवेशनको केही समय अघिदेखि सिटौला सो पक्षसँग असन्तुष्ट हुन पुगे । सुशील कोइरालाको निधनपछि आफूलाई वास्तै नगरी नेता रामचन्द्र पौडेललाई सभापतिको उम्मेदवारमा रामचन्द्र पौडेललाई अघि सारेपछि सिटौलाले पनि उम्मेदवारी दिएका थिए ।

तर, दोस्रो चरणसम्म सभापतिमा निर्वाचन हुँदा सिटौलाले अन्ततः शेरबहादुर देउवालाई जिताउन भूमिका खेलेपछि उनी देउवा निकट नेताको रुपमा परिचित हुन पुगे । तर, देउवासँग पनि सन्तुष्ट हुन नसकेपछि उनी पुनः पूर्व संस्थापन पक्षसँग सम्बन्ध विस्तारको तयारीमा लागिरहेका हुन् ।

सम्बन्धित खबर