भोजपुर, १८ असोज । बन्द भएको करीब दुई महिनापछि बिहिबारदेखि नेपाल वायुसेवा निगमको भोजपुरबाट विराटनगर र काठमाडौँ हवाई उडान शुरु भएको छ ।
यसअघि भोजपुरबाट विराटनगर र काठमाडौँ उडान भर्दै आएको ट्वीनअटर जहाज मर्मतका लागि राखिएकाले साउन तेस्रो सातादेखि हवाइ सेवा बन्द भएको थियो ।
जहाजको मर्मत गरिएपछि निगमले नियमित सेवा शुरु गरेको छ ।
हवाई सेवा शुरु भएसँगै भोजपुर – काठमाडौँ सातामा शनिबार, मङ्गलबार, बुधबार, बिहीबार र शुक्रबार गरी पाँच उडान तथा विराटनगरमा सातामा एक दिन (सोमबार) उडान हुने निगम भोजपुरका सहायक प्रमुख राजु मिजारले बताए । उडान सेवा पुनःसञ्चालन भएसँगै दशँैमा घर आउने तथा जाने यात्रुलाई सहज भएको छ ।
उपचारका लागि भोजपुर अस्पतालबाट सुविधासम्पन्न अस्पतालमा सिफारिश गरिएका बिरामीलाई पनि राहत मिलेको छ । रासस