धादिङमा विव्यस अध्यक्षले नेपाली पढेकी श्रीमतीलाई विज्ञान पढाउन जागिर खुवाएपछि…

दियो पोस्ट  

धादिङ, असोज २० । धादिङको ज्वालामुखी गाउँपालिका वडा नं. ७ चैनपुरमा रहेको परोपकार आधारभुत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष बेधनिधी छत्कुली ‘विष्णु’ले आफ्नै श्रीमतीलाई विद्यालयमा जागिर खुवाएका छन् ।

विद्यालयले गत भदौ १७ गते विज्ञान विषयको आधारभुत तहको शिक्षक नियुक्तिका लागि विज्ञापन प्रकाशित गरेको भएपनि अनिवार्य नेपाली अध्ययन गरेकी छत्कुलीकी श्रीमति कृष्णमायाँ धरेल विद्यालयको शिक्षकमा नियुक्त भएकी हुन् । कृष्णमायाँ धरेलले नेपाली विषयमा १२ कक्षा पास गरेकी छिन् । उनले प्रयोगात्मक परीक्षा ‘टिचिङ प्राक्टिस’ मा विज्ञान विषयको अध्यापन गराएकाले शिक्षकमा नियुक्ती दिएको विद्यालयका प्रधानाध्यापक विरेन्द्रबहादुर छत्कुलीले बताए ।

जिल्ला शिक्षा कार्यलय धादिङले विज्ञान, गणित र अँग्रेजी विषयमध्ये कुनै एक विषयको शिक्षक नियुक्ती गर्न परिपत्र जारी गरेपनि विद्यालयले भने नेपाली शिक्षक त्यो पनि व्यवस्थापन समितिका श्रीमतीलाई करारको शिक्षकमा नियुक्ती दिएको हो । जिल्ला शिक्षा कार्यलय धादिङको परिपत्र अनुसार विद्यालयले ३ विषयमध्ये विज्ञान विषयको शिक्षकका लागि भदौ १७ देखि २५ गतेसम्म दर्खास्त दिन विज्ञापन प्रकाशित गरेको थियो ।

प्रधानाध्यापकको यस्तो स्वीकारोक्ति

विद्यालय व्यवस्थापन समितिका अध्यक्षकै श्रीमतीले विद्यालयमा जागिर त्यो पनि माग गरिएको भन्दा फरक विषयमा नियुक्ति पाएपछि विद्यालय यतिखेर विवादमा तानिएको छ । विद्यालयका प्रधानाध्यापके छनोट समितिको सिफारिसमा आफुले धरेललाई नै नियुक्ति दिएको स्वीकार गरेका छन् ।

उनले दियो पोष्टसँग कुरा गर्दै भने,–‘२५ गतेसम्म पनि कुनै दर्खास्त नपरेपछि त्यही निवेदनलाई ३ दिन थप गर्दा पनि कोही नआएकाले धरेललाई नियुक्ति दिएको हुँ । छनोट समितिले सिफारिस गरेपछि यतिको मान्छेले पढाउन सक्छ होला भन्ने लागेर नियुक्ती दिन तयार भएको हुँ ।’

को को थिए छनोट समितिमा ?

जिल्ला शिक्षा कार्यलयले दिएको परिपत्र अनुसार ३ विषयमध्ये विज्ञान विषयको शिक्षक नियुक्त गर्ने भन्दै दर्खास्त आह्वान गरेको विद्यालयले शिक्षक छनोट समितिमा ४ जना राखेको थियो । समितिमा सालबास स्रोतकेन्द्रका स्रोतव्यक्ति ज्ञानेन्द्र खकुरेल, विद्यालय निरिक्षक कुलबहादुर महत, विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य कुलप्रसाद लोहनी र प्रधानाध्यापक विरेन्द्र बहादुर छत्कुली रहेका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बेधनीधि छत्कुलीकै श्रीमती कृष्णमायाँ धरेललाई छनोट गर्नुपर्ने भएकाले उनको सट्टामा समितिका जेष्ठ सदस्य कुलप्रसादलाई राखिएको प्रधानाध्यापक छत्कुलीले दियोपोष्टलाई बताए ।

विषयगत शिक्षक माग गर्दै अभिभावक

विद्यालय प्रशासन, स्रोत व्यक्ति र विद्यालय निरिक्षककै मिलेमतोमा व्यवस्थापन समितिका अध्यक्षकै श्रीमतीलाई जागिरमा नियुक्त गरेपछि अभिभावकहरु निक्कै आक्रोशित भएका छन् र उनीहरुले विषयगत शिक्षक राख्न माग गर्दै हस्ताक्षर संकलन समेत गरेका छन् ।

 

विद्यालयले दोस्रो विज्ञापन नखुलाईकन नियोजित ढंगबाट शिक्षक नियुक्ती गरेको भन्दै अभिभावकहरु चर्को विरोधमा छ । आफ्ना बालबालिकाहरुको भविश्यमाथि विद्यालयले खेलवाड गरेको अभिभावकको गुनासो छ ।

जिल्ला शिक्षा कार्यलय धादिङले पठाएको परिपत्र अनुसार परोपकारले आधारभुत तहको लागि करारमा विज्ञान विषयको विज्ञापन भदौ १७ गते प्रकाशित गरेको थियो । दर्खास्त दिने मिती भदौ २५ गतेसम्म पनि कुनै निवेदन नपरेको भन्दै विद्यालयले नेपाली विषयमा अध्यापन गराउने शिक्षक नियुक्त गरेको छ ।
विद्यार्थी संख्याको विषयमा पनि मत बाझियो ।

विद्यालयका प्रधानाध्यापक छत्कुलीले दियोपोष्टलाई दिएको जानकारी अनुसार विद्यालयमा ७६ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयले जिल्ला शिक्षा कार्यलयमा पनि यहि संख्याको विद्यार्थी रहेको रिपोर्ट पेश गरेको छ । तर, सेवा सुविधाकै लागि विद्यालयले विद्यार्थीको संख्या बढाएर रिपोर्ट पेश गरेको अभिभावकको भनाई छ । विद्यालयमा ५० देखि ५५ को हाराहारीमा मात्रै विद्यार्थी भएको र संख्या बढाएर ७६ पुर्याईएको अभिभावकहरुले बताए ।

मेरी श्रीमती हो : विव्यस अध्यक्ष छत्कुली

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बेधनिधि छत्कुलीले आफ्नो श्रीमतीलाई नियुक्त गरेको बताए । ‘मेरी श्रीमतीलाई नियुक्ती दिइएको हो,’ अध्यक्ष छत्कुलीले भने,‘म झूट बोल्दिनँ । तपाईं आउनुस् जे गर्नुपर्छ म गर्छु ।’

TATA ADD