कमजोर बनेका देउवा अत्तालिए, नेविसंघमा टिके नेतृत्व ल्याउँने दाउमा पौडेल सिटौला पक्षको भाँजो !

दियो पोस्ट  

काठमाडौं, २१ असोज । पार्टी सभापतिमा निर्वाचित भएयता नेपाली कांग्रेसमा शेरबहादुर देउवाको लोकप्रियताको पारो निरन्तर घट्दो छ । आफ्नै बुतामा वर्षौसम्म कांग्रेसमा जरा गाडेको कोइराला विरासतलाई १३ औं महाधिवेशनमा पल्टाएपछि देउवाको लोकप्रियता र पार्टीमा प्रभाव एकाएक बढेर गएको थियो ।

यस्तो हुँदा देउवाले पाँच वर्षसम्म कांग्रेसमा सुशासन दिनेमा धेरै आशावादी पनि थिए । किनकी सुशील कोइरालाको कार्यकालमा कांग्रेस विधि, विधान र पद्धतिमा चलेको थिएन । देउवाले यही कुरालाई उठाउँदै पाँच वर्षभरि यिनै विषय वरिपरी राजनीति नगरेका पनि होइनन् । तर, सभापतिमा चुनिएपछि देउवा पहिले आफूले लगाएको जस्तै पार्टी विधिले चलेन भन्ने आरोपबाट मुक्त भएनन् । निरन्तर अलोकप्रिय हुँदै आए । पार्टीभित्र प्रष्ट बहुमत नगुमाए पनि भित्रभित्रै अलोकप्रियत हुने क्रम भने अझै सेलाएको छैन ।

 

भ्रातृ संस्थामा आरोलो लाग्दै

पार्टीलाई प्रभावकारी रुपमा चलाउन नसक्दाको परिणाम देउवाले पछिल्लो एक डेढ वर्षयता भोग्दै आएका छन् । स्थानीय तह, प्रदेशसभा र संघीय संसदको निर्वाचनमा सर्मनाक बेहोरेको पराजयपछि उनको लोकप्रियताको पारो सर्लक्कै घट्न पुगेको थियो । अझै मजदुर, कानुन व्यवसायी र शिक्षकका भ्रातृ संस्थाको नेतृत्व सभापति देउवा पक्षले जित्न सकेन । नेता कृष्णप्रसाद सिटौला पक्षले पौडेल पक्षलाई साथ दिंदा यी तीनवटै संस्थामा देउवा कमजोर बन्न पुगेका हुन् ।

नेविसंघलाई बिजोग बनाउँने बाटोमा

कांग्रेसमा नेविसंघ प्रभावशाली नेता उत्पादन गर्ने कारखाना जस्तै हो । अहिलेका लोकप्रिय युवा नेताहरु गगन थापा, विश्वप्रकाश शर्मा, गुरुराज घिमिरे, प्रदीप पौडेल, कल्याण गुरुङ जस्ता नेता राजनीतिबाट भन्दा बढी विद्यार्थी राजनीति अझै नेविसंघबाटै उदाएका हुन् । तर, प्रभावशाली नेताको नर्सरी नेविसंघ नेताहरुको गुट र उपगुटको सिकार भएको छ । १२ औं महाधिवेशनको दिन आउँन एक महिना पनि बाँकी छैन तर महाधिवेशन हुने वा नहुने भन्ने टुंगो छैन । एक महिना अघि नै नैनसिंह महर नेतृत्वको नेविसंघले विधान र नियमावली पास गर्नक लागि पार्टीलाई पठाइदियो । तर, सभापति देउवाले केन्द्रीय कार्यसमितिको बैठक डाकेर यी दुवैलाई पारित नगरिदिंदा नेविसंघको महाधिवेशन अन्यौलमा परिरहेको छ । बल्ल डाकिएको केन्द्रीय समिति बैठक पनि सर्दै आएको छ । आइतबार दिउसो पुनः बैठक बोलाइएको छ ।

हार्ने डरले टिका लगाउने खोजियो :  असन्तुष्ट पक्ष

पछिल्लो समय देउवा पक्ष भ्रातृ संस्थामा कमजोर बन्न पुगेको छ । यसकारण अनेक बहानमा नेविसंघको पनि महाधिवेशन टार्ने र टिका लगाएर आफू अनुकूलको नेतृत्व ल्याउन लागेको आरोप नेविसंघका असन्तुष्ट पक्षले लगाउँदै आएका छन् । नत्र भने महाधिवेशन अन्तर्गत तल्लो तहका अधिवेशन गर्ने गरी पार्टी केन्द्रले बाटो फुकाइदिनुपर्ने तर्क उनीहरुको छ । अब ३२ वर्षे उमेरहद लगाए पनि वा नलगाए पनि महाधिवेशन गर्दा देउवा पक्षले जित्ने सम्भावना कम रहेको एक नेता दाबी गर्छन् ।

यस्तोमा ३२ वर्षे उमेर हद लगाउँने तयारीमा देउवा रहेको बुझिन्छ । उमेरहद लगाउँने बित्तिकै नेविसंघबाट झण्डै एक हजार सक्रिय र सिनियर नेता बाहिरिन्छन् । यस्तो हुँदा महाधिवेशन गर्ने जोश र जाँगर नेविसंघकै नेताहरुले देखाउँने छैनन् । यही बहानामा मंसिर २ गतेसम्म महाविधेशन नभएपछि पार्टी नेतृत्व ३२ वर्षे उमेर हद लगाएर आफू अनुकूलको नेतृत्व ल्याउँने पक्षमा रहेको बुझिन्छ ।

तर, आज के हुन्छ ?

 

नेविसंघकै विषयमा छलफल गर्न आज दिउसोे २ बजे नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । देउवाको टिका लगाउँने सोचविरुद्ध नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्ष उभिए पनि यो विषयले विवादित रुपमा लिने निश्चित जस्तै छ । किनकी यसको छनक नेता रामचन्द्र पौडेलले कुनै पनि हालतमा नेविसंघको महाधिवेशन रोक्नुहुन्न भन्ने अभिव्यक्ति दिएबाटै प्रष्ट हुन्छ ।

यता पार्टी नेतृत्वले भने कात्तिक १६ बाट सुरु हुने महाविधेशनलाई मंसिर २ गते सुरु गरेर भए पनि समयभित्रै महाधिवेशन गर्न सकिने विकल्पमा पनि छलफल गरिरहेको कांग्रेस स्रोतको दाबी छ ।