साहित्यकार एलबी क्षेत्रीसँग नयाँ पत्रिकाले लिएको अन्तर्वार्ताको सम्पादित अंश ।
तपाईं पूर्वभारतीय सैनिक, कसरी साहित्यमा लाग्नुभयो ?
पहिला त म कसरी पूर्वभारतीय सैनिक भएँ भन्ने प्रश्न नै महत्वपूर्ण हो जस्तो लाग्छ । म साहित्यको विद्यार्थी, त्रिभुवन विश्वविद्यालयअन्तर्गत वीरेन्द्र बहुमुखी क्याम्पसको प्रमुख पनि भएँ । यी सबैको लामो कथा छ । हामी भारतमा नै जन्मिएर हुर्किएका हौँ । लामो भारत बसाइपछि स्थायी वास नेपाल नै बनाउन मेरा बुवाआमा ०२२ सालमा चितवन आउनुभयो । म एसएलसी पास गरेपछि आइएस्सी पढ्न थालेँ । तर, निरन्तरता दिन सकिनँ । ०२३ सालमा चितवन फर्किएँ । पटिहानीको प्राथमिक विद्यालयमा पढाउन थालेँ । एक–डेढ वर्ष पढाएपछि आफैँसँग असन्तुष्ट भएँ । नयाँ भविष्यको खोजीमा फेरि भारततिर लागेँ । त्यहाँ उच्च शिक्षा हासिल गर्ने उद्देश्य थियो । तर, पैसा थिएन । एक दिन गोरखपुरको पुनाघाट गएको वेला संयोगले भारतीय सेनामा भर्ती भएँ ।
सैनिक भएपछि कसरी पढाइ अघि बढ्यो ?
सैनिक जीवन सुरु गरेको केही समयपछि प्राइभेट स्टुडेन्ट भएर भर्ना भएँ । त्यहाँबाट स्नातक उत्तीर्ण भएँ । स्नातक गर्दासम्म झन्डै १६ वर्ष सैनिक भएर काम गरिसकेको थिएँ । अरू एक–डेढ वर्ष काम गर्दा पेन्सन हुनेवाला थियो । छाड्न मन भएन । पेन्सन पकाएपछि पनि थप काम गर्न पाइन्छ । तर, मैले राजीनामा दिएँ । त्यहाँबाट सीधै पटना विश्वविद्यालय गएर एमए भर्ना भएँ । अंग्रेजी साहित्यमा एमए गरेपछि चितवन फर्किएँ । त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गर्न थालेँ ।
एमए गरेर चितवन आएपछि मात्र साहित्यमा लाग्नुभएको हो ?
नेपाली साहित्यमा चाहिँ चितवन फर्किएपछि मात्र रुचि बढेको हो । नत्र त म अंग्रेजी र हिन्दी साहित्यको विद्यार्थी हुँ । साहित्यप्रति बाल्यकालदेखि नै रुचि थियो । ३–४ कक्षामा पढ्दै साहित्यमा रमाउन थालेको थिएँ । श्यामनारायण पाण्डेका कविता पढ्थ्यौँ । सुभद्राकुमारी चौहानलगायतका कथा–कविताहरू पढ्थ्यौँ । साहित्यप्रति लगाव भए पनि यही साहित्य हो भन्ने थाहा थिएन । जब आइएको विद्यार्थी भएँ, तब साहित्य चिन्न र बुझ्न थालेँ । अनि चितवन आएपछि नेपाली साहित्यमा लागेँ ।
तपाईं कथाकार भनेर चिनिनुहुन्छ । लेखनको सुरुवात केबाट भयो ?
कविताबाट भयो । मेरो ‘भीडमा हराएको मान्छे’ कविता संग्रह पनि प्रकाशित छ । कविता कोरिरहन्छु । तर, म कविचाहिँ होइन । कहिल्यै कवि बन्न पनि सकिनँ । कविता कोर्ने मान्छेचाहिँ भएँ । ती मैले कोरेका कवितालाई कसै–कसैले राम्रो भयो भनिदिन्छन् । त्यतिवेला खुसी हुन्छु ।
भारतीय सैनिक सेवामा १७ वर्ष बिताउनुभयो । सैनिक कठोर हुन्छन् भन्छन् । साहित्यकारचाहिँ नरम । साहित्य लेख्दा कहिलेकाहीँ सैनिक भावना आउँदैन ?
आउँदैन । यसको कारण म लाहुरे बन्नैका लागि भारत गएको होइन । जो मान्छे यहीँबाट लाहुरे बन्न गएको हुन्छ उसमा बन्दुके भावना हुन्छ । म त यहाँबाट पढ्न गएको थिएँ । कहीँ ठाउँ नपाएपछि त्यहाँ पसेको थिएँ । मेरो उद्देश्य बन्दुक बोक्ने होइन कि पढ्ने थियो । संयोगले सेनामा पनि बन्दुक बोक्नेभन्दा बढी म क्लर्क थिएँ । अर्थात्, खरदार, प्रशासनमा काम गर्ने सैनिक । त्यसो त म युद्धमा पनि गएँ । बंगलादेशमा युद्ध थियो । युद्धको समयभरि मैले चप्पल लगाएँ । त्यहाँ मान्छे मरेको सुनेपछि म त रुन थाल्थेँ । कसरी युद्ध लडेँ होला ? हामी त्यहाँ १७ दिनजति बस्यौँ । त्यहाँ हामी फ्रन्टबाट लड्ने सैनिक थिएनौँ । रेयर (पछाडिबाट लड्ने)मा बस्थ्यौँ । त्यतिवेला भगवान्सँग एउटै कामना गर्थेँ कि मलाई गोली नलागोस् । किनकि, मलाई लड्नु नै थिएन । म लड्न भनेर सेनामा भर्ती भएको होइन । जागिर खान र त्यही पैसाले पढ्न गएको थिएँ ।
त्यो लडाइँ केको थियो ?
त्यो लडाइँ वास्तवमा भारत र पाकिस्तानको थियो । बंगलादेश पाकिस्तानबाट स्वतन्त्र हुन चाहन्थ्यो । इन्दिरा गान्धीले बंगलादेशलाई स्वतन्त्र हुन सघाउन सैनिक पठाएकी हुन् । अहिले सम्झन्छु, धन्न उनले बंगलादेशलाई आफूसँगै मिसाइनछिन् । त्यसको केही वर्षपछि त हो, सिक्किमलाई भारतमा मिलाएको ।
कथा या कविता लेख्दा तपाईंले खेलाएको बन्दुक बिम्ब बनेर आउँदैन ?
‘युद्ध अनुभव’ भनेर मैले भाग लिएको १६–१७ दिनको युद्धको अनुभव लेखेको छु । तर, युद्धलाई विषय बनाएर कविता या कथाचाहिँ लेखेको छैन । बिम्बात्मक रूपमा कतै प्रयोग भने गरेको छु । जस्तोः मच्छडलाई मारेको बिम्ब छ । तर, मान्छे मारेको कुरा छैन । दुईवटा कथा संग्रह कुनैमा पनि युद्धको त्यस्तो भयानक कुरा छैन । यसको अर्थ म त्यतिका वर्ष आर्मीमा बसे पनि आर्मी मभित्र प्रवेश हुन सकेन । म आर्मीमा बसेँ, तर आर्मी मभित्र बसेन ।
वीरेन्द्र बहुमुखी क्याम्पसको प्रमुख हुँदा तपाईंलाई साहित्यकारभन्दा पनि सैनिकजस्तो हुनुहुन्छ भन्ने आरोप लाग्थ्यो । सैनिक स्टाइलमा आदेश मात्र दिनुहुन्थ्यो रे । त्यस्तो हो ?
नेपालको प्रशासनिक क्षमता अत्यन्त कमजोर छ । यहाँ कोही अलि चर्को बोल्यो भने आर्मीजस्तो बोलेको भन्छन् । कमजोर मानसिकता हो यो । त्यसो हो भने केपी ओलीलाई पनि कर्णेल साहेब, ब्रिगेडियर साहेब भने भयो नि । गिरिजाप्रसाद कोइरालालाई हवल्दार नै भन्थे । हामी कमजोर मनस्थितिका भएकाले यस्तो कुरा आएको हो । म अनुशासन चाहने मान्छे, प्रशासनमा कडाइ गर्थेँ । मलाई कर्मचारी ठीक समयमा आउनुपथ्र्यो । तपाईंलाई सोध्छु म, ‘कर्मचारी ठीक समयमा आइपुग्नुपर्ने’ भनेको के आर्मी मात्र आउने भनेको हो र ? अनुशासनमा बस्नुपर्छ भन्ने कुरा आर्मीको गुण होइन, यो त मेरो जिनबाट आएको हो । हुन सक्छ, अनुशासनका कुरा आर्मीबाट पनि सिकेँ होला ।
तपाईं खुब रमाइलो गर्नुपर्ने मान्छे हुनुहुन्छ रे, घरमा प्रत्येक हप्ता साहित्यानुरागी बोलाएर रमाइलो गर्नुहुन्छ रे । साहित्यकार त भावुक पो हुन्छन् होइन ?
जुन साहित्यकार भावुक हुँदैन उसले रमाइलो गर्नै सक्दैन । रमाइलो गर्नकै लागि पनि भावुक हुनुपर्छ । अर्को कुरा, स्थिर भएर साहित्यको विकास हुँदैन । गतिशील हुनुपर्छ । मैले घरैमा बोलाएर जति पनि कार्यक्रम गर्छु, त्यो साहित्यको विकासका लागि हो । त्यही निहुँमा विभिन्न ठाउँका साहित्यकार जम्मा हुन्छन् र रचना, विचार आदानप्रदान हुन्छ । कुटाकुट पनि गर्छौँ, तर मुखले । हाम्रोमा आएर कवि श्यामलले बोल्नुभएको छ । कवि नवराज लम्साल, प्राज्ञ अमर गिरीजस्ता व्यक्तित्व आउनुभएको छ । बैरागी काइँलाले त हामीलाई कक्षा नै लिनुभएको छ । सरुभक्तको टिम पोखराबाट आएर छलफल चलाउनुहुन्छ । यो साहित्यको विकासका लागि हो ।
साथीभाइसँगको बसिबियाँलोमा के–के खानुहुन्छ ? कस्ता परिकार हुन्छन् ?
म ६८ वर्षको भएँ । म ३५ वर्षको हुँदासम्म रक्सी खाइनँ । एमएको पढाइ सकिएपछि नेपाल फर्किएँ । सहायक प्राध्यापक भएँ । अनि साथीभाइको संगतमा रक्सी खान थालेँ । मासुका परिकार खान थालेँ । खुब खाइयो । ०४० देखि ०५४ सालतिरसम्म खुब खाएँ । त्यसपछि खान छाडेको चटक्कै छाडेँ । कोही साथीले साह्रै कर गरे खाएजस्तो मात्र गर्छु । जस्तो कि एक गिलास बियर खान्छु, यत्ति । अन्य परिकारमा मलाई खसीको मासु मन पर्छ । त्यसमा पनि भुँडीको झोलसँग भात गज्जब लाग्छ । अब अहिले त सुगरको डर भयो भात कम गरियो, युरिक एसिड भयो मासु कम गरियो । कहिलेकाहीँ माछा खान्छु । तर, मलाई भोजन प्रिय छ । जस्तोसुकै खाना पनि खान सक्छु ।
बसिबियाँलोमा आउने को–को हुन् ?
धेरै आउनुहुन्छ । चितवनबाहिरबाट आउने धेरै हुनुहुन्छ । श्रीओम रोदन, श्यामलजी, विप्लव ढकाल, श्रवण मुकारुङलगायतको फोन आइरहन्छ । भीष्म उप्रेती, महेश पौडेल पनि आउँछन् । अस्ति काव्यको कार्यक्रममा शारदा शर्मा, प्राज्ञ डा. अमर गिरीजस्ता दिग्गजहरू आउनुभयो । कुलपति गंगाप्रसाद उप्रेती त प्रमुख अतिथि हुनुभयो । अहिलेसम्म कोही आइपुग्नुभएको छैन भने म उहाँहरूलाई स्वागत गर्न आतुर छु ।
यस्तो जमघटमा कति खर्च हुन्छ ?
कार्यक्रममा खर्च भए पनि खर्च भएजस्तै लाग्दैन । साहित्यमा गरेको योगदान हो यो ।
आम्दानीको स्रोत के हो त ?
स्रोतै त किन सोध्नुहुन्छ ? त्यही पनि म भनिदिऊँ, अघि भारतीय सैनिक भन्नुभयो, त्यहाँबाट पेन्सन आउँछ । त्रिभुवन विश्वविद्यालयबाट पेन्सन आउँछ । आजभोलि त जग्गाको भाउ बढेको छ । एक कट्ठा बेचिदिने हो भने पैसैपैसा हुन्छ । दुई भाइ छोरा विदेशमा छन् । तर, पैसा छ वा छैन भन्दा पनि मन ठूलो कुरा हो । मन भए खर्च जुट्छ । म अतिथि देवो भवः भन्ने मान्छे हुँ । छोराहरूले १० लाख रुपैयाँको कोष बनाइदिएका छन् । त्यसबाट आउने खर्च साहित्यमा नै खर्च गर्छौँ ।
तपाईंको घर भएको ठाउँलाई कविडाँडा भन्छन् । कसले राखिदियो यस्तो नाम ?
कैलाशनगरवरिपरिका रामबाफ, नारायणपुर, कैलाशनगरलाई कविडाँडा भनेका हौँ । यसको मुख्य कार्यालय ह्वाइट कर्नर एलबी क्षेत्रीको घर । कविडाँडा नाम राख्नमा कवि खुमनारायण पौडेल, सुरेन्द्र अस्तफल, युवराज भुसाल, उदय अधिकारीको हात छ । उहाँहरूले पहिलेदेखि नै यो ठाउँमा केही न केही साहित्यिक कार्यक्रम चलाइराख्ने । उहाँहरूले कार्यक्रम गर्ने ठाउँलाई कविकुनो, कविकटेरोलगायत भनिन्थ्यो । कविसँग जोडिएका यस्ता धेरै ठाउँ भएपछि समग्रलाई कविडाँडा भन्न थालियो । १५ वर्षअघि कविडाँडा साहित्य समाज स्थापना गरेर साथीहरूकै आग्रहमा म अध्यक्ष भएँ ।
घरलाई पनि कुनै नाम दिनुभएको छ ?
छैन । त्यो कविडाँडाको कार्यालय हो ।
पत्रिका पनि निकाल्नुहुन्छ । कतिको गाह्रो छ ?
चरैवती भन्ने पत्रिका प्रकाशन गर्छौँँ । पहिला त्रैमासिक निकाल्ने भनियो । तर, सकिएन । ६ महिनामा पनि सकिएन । अहिले वर्षको एउटा निकाल्छौँ । भर्खरै काव्य विमर्श गरेर प्रज्ञा प्रतिष्ठानसँग मिलेर अंक १० निकालेका छौँ । साँच्चै भन्दा पत्रिका बिक्री हुँदैन, बाँड्ने हो, खर्च जति लाग्छ आफैँ व्यहोर्ने हो । यसपटकको अंक प्रकाशन गर्दा मेरो ५० हजार खर्च भयो । सत्य कुरा । तर, म खुसी छु ।
तपाईंलाई मन पर्ने लेखक को हो ?
विधाअनुसार हुन्छ । अंग्रेजी साहित्य पढ्दा धेरै प्रभावित भएको शेक्सपियरबाटै हो । उनका नाटक मन पर्छ । कवितामा डब्लुबि इट्स, टिएस इलियट मलाई अति मन पर्छन् । समालोचकमा टिएस इलियट । कविमा जोहन डन, पिबी सेली पनि धेरै राम्रा । हिन्दी साहित्यमा जयशंकरप्रसाद, निराला, पन्त, सुभद्राकुमारी चौहान, प्रेम चन्दलगायतसँग धेरै प्रभावित थिएँ । नेपालीमा लक्ष्मीप्रसाद देवकोटा, बिपी कोइराला, दौलतविक्रम विष्ट, ध्रुवचन्द्र गौतमलगायत लेखक महान् छन् । बिपीबाबुकै कथा पढेर मैले कथा लेखेको हुँ । नयाँ लेखकमा कविताको क्षेत्रमा श्यामल, अमर गिरी, मनु मञ्जिल, सरुभक्त, तीर्थ श्रेष्ठ राम्रा कविमा पर्छन् । सरिता तिवारी, भूपिन, सरस्वती प्रतीक्षा पनि सुन्दर लेखिरहेका छन् । आख्यानमा नयनराज पाण्डे, अमर न्यौपाने, उमा सुवेदी सम्माननीय छन् । अरू पनि धेरै हुनुहुन्छ । विप्लव ढकाल, श्रवण मुकारुङ, आहुतिलगायत कविबाट पनि प्रभावित छु । पछिल्लो पुस्ताका संगीत श्रोता निकै राम्रो लेखिरहेका छन् ।
कृतिको चर्चाको हिसाबले तपाईं कति सफल साहित्यकार ?
तपाईंलाई प्रस्ट भन्छु, म साहित्यकार होइन । साहित्यको विद्यार्थी हुँ, साहित्य अध्ययन गर्छु । साहित्यकार बन्नका लागि ठूलो साहित्यिक योग गर्नुपर्छ । योगदान गर्नुपर्छ । साधना चाहिन्छ । साहित्यको इतिहास लेखेको हुनुपर्छ । त्यसै जसले पनि साहित्यकारको बिल्ला भिर्न कहाँ पाइन्छ ? कथा त म लेख्छु । सबै कथालाई लघुकथा भन्छु म, लामो–छोटो जान्दिनँ । कविता लेख्छु । तर, साहित्यकार हुन अझै योग्य छु जस्तो लाग्दैन ।
तर, तपाईंलाई त साहित्यकार नै भनेर चिन्छन् नि ?
सबै कखरा पढाउने पनि मास्टर, विश्वविद्यालय पढाउने पनि मास्टर भनेजस्तै हो । कसैले साहित्यकार भन्छ भने धन्यवाद, म पनि साहित्यकार भएँ । मेरो आफ्नो मूल्यांकन भने फरक रहन्छ । भोलि सिद्धान्त लेखेँ, आठ–दशवटा कथा, कविता, निबन्धका कृति निकाल्न सकेँ भने साहित्यकार मानुँला ।