काठमाडौँ, २६ असोज । विभिन्न स्थानमा बालतपस्विको नाममा भागवत् गर्दै हिँड्ने धादिङका एक पण्डितले एक महिलालाई लाखौँ रुपैयाँ ‘ठगी’ गरेको पाइएको छ ।
धादिङको ज्वालामुखि गाउँपालिका वडा नम्बर ४ ढोला स्थायी घर भएका कथित ‘उत्तम भट्टजी महाराज’ नाम गरेका उत्तम भट्टले नुवाकोट लिखु गाउँपालिका वडा नम्बर ५ घर भएकी होमकुमारी ओझालाई ५० लाख रुपैयाँभन्दा बढी ठगी गरेको पीडित ओझाले दियोपोस्टलाई बताएकी छिन् ।
सामान्य परिवारकी ओझा धर्म गुरु र हिन्दु धर्मप्रति विश्वास राख्थिन् ।
उनको चाहाना थियो १०८ ठाउँमा माहायज्ञ लगाउने । सोही क्रममा उनको उत्तम भट्टसँग चिनजान भयो । धर्मगुरु भनेपछि उनले आफूलाई भन्दा बढी विश्वास गरिन् ।
सर्वजनिक स्थान र नीजि स्थानमा भागवत लगाउँदै आएको संस्था विश्व भागवत धाम नेपाल नामक संस्थामा उनी आवद्ध हुन पुगिन् । संस्थाले गरेको १५ औँ देखि ६७ औँ भागवतसम्म उनले लगानी गरिन् । संस्थाका संयोजक बताउने वासुदेव घिमिरे र पण्डित उत्तम भट्टले उनको पैसा ठगिरहे ।
‘२०७० सालमा उनले मसँग १२ लाख रुपैँया व्यक्तिगत प्रयोजनका लागि भन्दै लगे ५० लाखजति पैसा उनले सप्ताहा लगाएको ठाउँ म्यानेजमेन्टमा भन्दै ठगी गरे,’ हुम कुमारीले भनिन्,‘धर्मका नाममा ठगहरु रहेछन् । यो पोल खुल्ने डरले अहिले मदेखि टाढा हुन्छन् ।’
नुवाकोट जिल्लाको अन्तरपार्टी महिला संजालको पूर्व अध्यक्ष समेत रहेकी उनले उनलाई यतिबेला निजी स्थानमा बाहेक सार्वजनिक स्थानमा हुने भागवतहरु ठगी गर्ने माध्यम भएको बताईन् ।
‘१०८ महायज्ञ लगाउँदा धर्म हुन्छ भनेर म विश्व भागवत् धाम नेपालको सदस्य बनेर उनीहरुसँगै हिँडेँ,’ ओझाले भनिन्,‘उनीहरुले भागवत् लगाउँदा फाइदा हुन्जेल आफू लिने र घाटामा मलाई पार्ने गरेको मलाई थाहा भयो । उनीहरुको ठगीको बारेमा थाहा भएपछि मैले पैसा माग्न उनलाई सम्पर्क गर्न खोजे तर उनले मेरो फोन नै उठाउन छाडे ।’
आफूले विश्वास गरेको धर्म गुरुले नै उनलाई ठगी गरेर हिँडेपछि यतिबेला उनी प्रशासन र आफन्तकोमा गुहार माग्दै हिँडेकी छिन् ।
‘भाइले मेरो बुवा बितेको म तीन लाख दान गर्छु भनेपछि बल्ल भट्ट पैसा पाउने लोभमा गाउँ आए । त्यही बेलामा (२०७४ पौष ३० गते) हामीहरुले व्यक्तिगत प्रयोजनका लागि लगेको १२ लाख रुपैयाँ ६ महिनामा फिर्ता गर्नुपर्ने भनेर सहमती गरी कागज बनायौँ । सहमतीअनुसार असारमा नै पैसा फिर्ता दिनुपर्ने भए पनि अहिलेसम्म फिर्ता दिएका छैनन्,’ उनले भनिन्,‘पैसा माग्दा उल्टै गुण्डा लगाउने धम्की दिन्छन् ।’
धर्मगुरु भनिने उत्तम भट्टलाई रकम दिँदा उनले आफ्नो पुर्खाले दिएको नुवाकोटको १२ रोपनी जग्गा फाइनान्समा धितो राखेको समेत उनले बताईन् ।
‘मेरो पुर्खाले दिएको जग्गा धितो राखेर एन्एम्बी फाइनान्सबाट २० प्रतिशत ब्याजमा १२ रोपनी जग्गा धितो राखेर तथा बाँकी ६ रोपनी विभिन्न मान्छेकामा धितो राखेर ऋण लिएको थिएँ,’ उनी सुनाउँछिन्,‘फाइनान्सबाट अरु विश्वास गर्ने साथीको नामबाट पनि पैसा निकालेर भट्टलाई दिएको हुँ ।
आफू ठगिएपछि उनी यतिबेला प्रहरीको शरणमा समेत पुगेकी छिन् । यद्धपी प्रहरीले भने उनलाई सहयोग नगरेको उनको गुनासो छ ।
‘मैले आफू ठगिएको कुरा प्रहरीमा गएर उजुरी गरेँ । प्रहरीले पनि तपाईँले आफैँ कहाँ छन् भनेर भनिदिनु अनि हामी खोज्न जान्छौँ भन्ने जस्तो गैह्र जिम्मेवारपूर्ण उत्तर दिए,’ उनले भनिन् ।
पीडितको भिडियो बयान
कागज गर्दा साक्षी बसेका हरिशरण नेपाललाई एक पटक आफैँले प्रहरीको अगाडि उभ्याए पनि उनीहरुले थप कुनै कदम नचालेको उनको दुखेसो छ । हाल साक्षी बस्ने नेपाल पनि पैसा फिर्ता दिने सहमती गरेको सक्कली कागज लिएर भागेको र आफूसँग एककपी प्रतिलिपि मात्र भएको उनले बताइन् ।
विश्व भागवत् धाम नेपाल कुम्पुर–३ धादिङमा स्थापित भएको धार्मिक संस्था हो ।
यस संस्थाले विभिन्न सांस्कृतिक, ऐतिहासिक तथा धार्मिक स्थलहरुको जर्गेना गर्ने, संस्कृत शिक्षालाई विकास गर्ने, गुरुकुल तथा विभिन्न खालका आश्रमहरु निर्माण गर्ने उद्देश्य राखेको छ । यी उद्देश्यहरु पूरा गर्ने नाममा भट्ट संस्थाका मानिससहित विभिन्न ठाउँमा भागवत् लगाउँदै हिँडिरहेका छन् । १०८ भागवत् लगाउने उद्देश्यले हिँडेका उनीहरु अझै पनि धादिङ, नुवाकोट जस्ता जिल्लाका विभिन्न ठाउँमा भागवत् लगाएर धर्मको नाममा सोझा नागरिकहरुलाई ठिगीरहेका छन् ।
उनीहरुले उठाएका पैसाले लक्ष्यअनुसारको कुनै पनि संस्था अझैसम्म नबनाएको ओझा बताउँछिन् । उनी भन्छिन्, ‘भट्ट सार्वजनिक स्थानमा मात्र भागवत् भन्न जान्छन् । भागवत् भनेबापत सोझै कुनै पनि रकम लिन नमान्ने उनी कलाकार, साउन्ड सिस्टम, रुद्राक्ष, रामनामी आदिबाट दोब्बर बढी उठाएर पैसा लिन्छन् । त्यहाबाट आएको पैसाले कुनै पनि संस्था निर्माण गरिएको छैन ।’
विश्व भागवत् धाम नेपालका संयोजक वाशु घिमिरे पनि भट्टकै ठगी धन्दामा सहायोगी भएको उनले बताइन् । उनी भन्छिन्, ‘संयोजक घिमिरे धादिङको साङ्कोषका स्थायी बासिन्दा हुन् । उनी पनि भट्टकै पछि लागेर उनको ठगी कार्यमा संलग्न रहेको पीडितको बयान छ ।
के भन्छन्, तपस्वि पण्डित ?
दियोपोस्टले ‘ठग पण्डितलाई फोन गर्दा उनले सुरुमा हुम कुमारीसँग कारोबार नै नभएको भन्दै झूटो बयान दिए ।
दियोपोस्टले तमसुक गराएको कागजात समेत रहेको बताएपछि उनले जबरजस्ति आफूलाई कागज गराइएको बताए ।
‘मलाई जबरजस्तिगरिएको हो । त्यो सबै भागवत गर्दा भएको खर्च हो,’ उनले भने ।