अव्यवस्थित वधशालाको कारण काठमाडौँका मासु खान लायक छैनः मन्त्री खनाल

दियो पोस्ट  

काठमाडौं, २६ असोज । कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ले काठमाडौंमा मासुबारे अलिक बढि सचेत हुनुपर्ने बताउँदै मन्त्रालयले मासुको नियमन गरिरहेको बताए । काठमाडौँ उपत्यकामा राँगाको मासु उपभोग योग्य नभएको बताएका छन् ।
शुक्रबार रिपोर्टर्स क्लबले राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खनालले राजधानीमा मासुको अत्याधिक माग भएकोले उपभोग गर्दा सचेत रहनको लागि सचेत गरेका छन् । नेपालमा मासुको प्रयोग बढि नै हुने गरेको भएतापनि नियमन भने हुन नसकेको बताएका छन् ।

अन्य मासुको तुलनामा राँगोका मासुमा गुणस्तर कम हुने उनले बताए । दैनिक ३५० देखी ४०० सम्म राँगा वध गरिने काठमाडौँमा कुल २० बधशाला रहेका छन् । २० मध्यमा ५ वधशालामा अनुगमन गर्दा ४ वटा अव्यवस्थित भएको भन्दै सिलबन्दी गरिएको मन्त्री खनालले बताए । उपभोक्ताको वधशालासम्म पहुँच नहृुने कारणले गर्दा राँगाको मासुमा अन्य मासुको तुलनामा कम गुणस्तर हुने बताएका छन् ।

त्यस्तै उनले हेटौंडामा रहेको पूरानो बद्यशालालाई पूनः सञ्चालनमा ल्याउनेबारे सरकारले तयारी गर्ने पनि जानकारी दिए । उनले भने,‘दैनिक ४ सय राँगा काट्न सकिन्छ । हेटौंडालगायत अन्य ठाउँमा बध गरेर काठमाडौं उपत्यकालाई व्यवस्थित गर्न सकिन्छ । सरकारले यसबारेमा पनि सोचेको छ।’

त्यस्तै उनले काठमाडौं उपत्यकाभित्र ४० वटा ‘मिट–मार्ट’को व्यवस्था गर्ने, हेटौंडाको पूरानो बधशालालाई तुरुन्त सञ्चालन गर्ने र फ्रिजर भ्यानबाट काठमाडौं मासु ढुवानीको व्यवस्था गर्ने योजना सुनाए ।

उनले आफूहरुले काठमाडौंमा गरेको मासुको अनुगमनबाट राँगाको मासु खानलायक नरहेको जिकिर गर्दै यसप्रति सचेत रहन उपभोक्तालाई आग्रह गरे ।