चाडपर्वका समयमा सडक दुर्घटना बढी, सानो गल्तिले निम्त्याउँछ ठुलो क्षति !

दियो पोस्ट  

काठमाडौँ । सिन्धुलीबाट काठमाडौं आउँदै गरेको ना६ख ९१२ नम्बरको बस शुक्रबार सुनकोसी गाँउपालिका–५, रिठ्ठेभीरबाट सुनकोसी नदीमा खस्दा ३ जनाको मृत्यु भयो। दुर्घटनामा ५ जना घाइते भए।

नुवाकोटको समुन्द्रटारबाट त्रिशुलीतर्फ आइरहेको बा१ख ६३५६ नम्बरको बस शुक्रबार नै सूर्यगढी गाउँपालिका–५, गणेस्थानमा दुर्घटना हुँदा तीनजनाको ज्यान गयो। दुर्घटनामा ५५ जना घाइते भए।

धादिङको थाक्रेमा शुक्रबार नै टिप्पर दुर्घटना हुँदा ३ जनाको मृत्यु भयो।

दसैंका बेला भएका सडक दुर्घटनाका केही उदाहरण हुन् यी । हरेक वर्ष अरु बेलाको तुलनामा चाडपर्वका समयमा सडक दुर्घटना बढेका छन्। दसैं मनाउन राजधानीबाट घर फर्किेनेको चापसँगै दुर्घटना पनि बढेको देखिन्छ। चाडपर्वमा हतारिएर सवारीसाधन हाँक्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने, सावधानी नअपनाउनेलगायत कारण दुर्घटनाका कारक हुन्।प्रहरी प्रधान कार्यालय, ट्राफिक प्रहरी निर्देशनालयका अनुसार गत वर्ष दसैंको घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म मुलुकभर तीन सय ८२ वटा सवारी दुर्घटना भएका थिए। ती दुर्घटनामा एक सय चारजनाले ज्यान गुमाए भने दुई सय ६ जना गम्भीर घाइते भए।

शनिबारको नागरिक दैनिकमा खबर छ– गत वर्ष भएका तीन सय ८२ सवारी दुर्घटनामध्ये दुई सय ७३ वटा चालकको लापरबाहीका कारण भएको देखिन्छ। प्रहरीका अनुसार गत वर्ष तीव्र गतिले ५७, यात्रुको गल्तीले २०, यान्त्रिक गडबडीले ८, मादक पदार्थ सेवन गरी सवारी चलाउँदा नौं र सडकको अवस्थाले आठ दुर्घटना भएका थिए।

दसैंमा दुर्घटना बढी
ट्राफिक प्रहरी निर्देशनालयका अनुसार दसैंको घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्मको अवधिमा धेरै सवारी दुर्घटनामा परेका छन्। यस अवधिमा सडक दुर्घटनाका कारण ज्यान गुमाउनेको संख्या पनि बर्सेनि बढ्दो छ। गत पाँच वर्षको तथ्यांक हेर्दा दसैंका बेला भएका सवारी दुर्घटनामा मात्र पाँच सय ९ जनाले ज्यान गुमाएका छन्। ०७० को दसैंताका मुलुकभर दुई सय ८९ सडक दुर्घटना भए। त्यस वर्ष ७० जनाले ज्यान गुमाए। ०७१ को दसैंताका चार सय १४ सवारी दुर्घटना भए। ती दुर्घटनामा एक सय ४२ जनाले ज्यान गुमाए। ०७२ को दसैंताका भएका तीन सय २२ सवारी दुर्घटनामा परी ९२ जनाले ज्यान गुमाए। ०७३ सालको दसैं सेरोफेरामा सय ५५ सवारी दुर्घटना भए। ती दुर्घटनामा परी १ सय १ जनाको मृत्यु भयो। २०७४ को दसैंताका ३ सय ८२ सवारी दुर्घटना हुँदा एक सय चारजनाले ज्यान गुमाए।

अनुगमन तीव्र: ट्राफिक प्रहरी
ट्राफिक प्रहरी निर्देशनालयकाका प्रहरी निरीक्षक उदय सिजापतिले प्रहरीले चाडपर्व लक्षित जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताए।

‘चाडपर्वका बेला ठूला सवारीसाधन दुर्घटना हुने सम्भावना बढी भएकाले सचेतनात्मक कार्यक्रम गर्दै आएका छौं,’ उनले भने, ‘दसैंतिहारका बेला धेरै एक ठाउँबाट अर्को ठाउँमा ओहोरदोहोर गछन्, त्यसैले सुरक्षा सतर्कता अपनाउन चालक र यात्रु दुवैलाई सतर्क गराउँदै आएका छौं।’

निर्देशनालयले लामो दूरीका सवारीसाधन चल्ने विभिन्न २८ स्थानमा चालकलाई ‘रिफ्रेन्समेन्ट सेन्टर’ चलाइरहेको छ। ‘लामो दूरीका सवारीसाधनमा अनिवार्य दुई चालक राख्नुपर्ने व्यवस्था छ,’ उनले भने, ‘त्यसको पूर्ण कार्यान्वयन गराएका छौं।’