काठमाडौं, २७ असोज । पूर्वरक्षामन्त्री तथा नेपाली कांग्रेसका बहालवाला सांसद भीमसेनदास प्रधानसँगै विदेश पठाइदिन्छु भन्दै एक महिलाबाट आधा दर्जन युवा ठगिएका छन् ।
नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व फुटबलर निराजन रायमाझीकी श्रीमती समेत रहेकी संगिता अधिकारीले विभिन्न व्यक्तिबाट एक करोड ३२ लाख ठगी गरेको पाइएको हो ।
पूर्वमन्त्री प्रधानसँगै क्यानडा पठाइदिन्छु भन्दै विभिन्न ६ जना व्यक्तिबाट ९ लाख देखि २६ लाख रुपैयाँ पैसा उठाएको पाइएको हो ।
रकम बुझेर पनि क्यानडा पठाउन नसकेपछि पीडित युवाहरु प्रहरीमा उजुरी गर्न पुगेका छन् । अधिकारीद्वारा ठगिएका युवाहरु आफूहरु शक्तिशाली व्यक्तिबाटै ठगिएको भन्दै विभिन्न ठाउँमा उजुरी गर्न पुगेपछि यो घटना बाहिर आएको हो ।
यसरी रचियो ठगीको खेल
क्यानडा नेपाल डिभलपमेन्ट फाउन्डेसन क्यानडाको आयोजना हुने ‘युथ्स् आर् पावर या अफ द कन्ट्रि एण्ड द प्राइभेट सेक्टर आर की अफ डिभलपमेन्ट’ कार्यक्रममा सहभागी गराउने र कार्यक्रम पश्चात उनीहरुलाई क्यानडामै लुकाउने योजनाको तथ्य समेत फेला परेको छ ।
सिएनडिएफ क्यानडाका प्रेजिडेन्ट ढुण्डिराज खनालले रक्षामन्त्री प्रमुख अतिथि हुने र कार्यक्रममा अरु सहभागी हुनेसहितको कार्यक्रमको लागि दिल्लीस्थित क्यानेडियन हाइकमिसनमा अस्थायी परमिटको लागि २०१८ मे १८ मा कार्यक्रम गर्नेगरी रिसेड्युल्ड भएको भन्दै पत्र पठाएको देखिन्छ ।
प्रमुख अतिथि प्रधान हुने कार्यक्रममा रामदत्त पाण्डे पर्सनल सेक्युरिटी, इन्द्रमान महर्जन रक्षामन्त्रीका पर्सनल असिस्टेन्ट, रत्न महर्जन इन्द्र महर्जनको स्पाउज (पत्नी), नविन तामाङ लिडर एडभाइजर, सुधीन खड्का, देवराज कार्की युथ लिडर, धिरेन्द्र कुमार पुलामी, थिरमणि भण्डारी, विकास खत्री र जयराम सुकुभाटु पर्सनल सेक्युरिटी रहने विवरण नै तयार गरिएको थियो ।
तर, अप्रिल ६ मा कार्यक्रम स्थगित भएको अर्को पत्र सिएनडिएफकै लेटरहेडमा रक्षामन्त्रीलाई सम्बोधन गर्दै पठाइएको पत्रमा कार्यक्रम स्थगित भएको जनाइएको छ । कार्यक्रम स्थगित हुनुको पछाडि क्यानेडियन सरकारले खराब मौसमका कारण लगाएको इमर्जेन्सीलाई मानिएको उल्लेख गरिएको छ । पत्रमा कार्यक्रम पुनः हुने पनि जनाइएको छ । कतिसम्म भने पैसा लिनेहरुलाई विश्वास दिलाउन कार्यक्रमका लागि हल भाडामा लिइएको अर्को कागजात पनि बनाइको छ ।
यी हुन् ठगिएका युवा
ठगीमा पर्नेमध्ये दुई जनाले महानगरीय अपराध महाशाखा काठमाडौंमा जाहेरी दरखास्त हामीलाई प्राप्त भएको छ । जसमा उनीहरुले आफूलाई ठगी गर्ने व्यकित र ठगिएको विवरण बुझाएका छन् ।
जसमा २३ लाखको दाबी गर्ने नविन तामाङ, २० लाख ठगिएको दावी जयराम सुकुभाटु छन् । २६ लाख ठगिएका सुधीन खड्काको नाममा संगीता अधिकारीले काटेको २६ लाखको चेक, ९ लाख ठगिएका डेकराज कार्कीले जम्मा गरेको भौचर फिर्ता गर्न संगीताले दिएको ९ लाखको चेक र चेक बाउन्स भएको विवरण प्राप्त भएको छ । २३ लाख ठगिएका रामकृष्ण सुवालले पनि आफूले सिद्धार्थ बैंकमा जम्मा गरेको ९ लाख रुपैयाँको भौचर र संगीताले यति नै रकम फिर्ता गरेको चेक पनि साथै राखेको विवरण प्राप्त भएको छ ।
२३ लाख ठगिएको दाबी गर्ने नविन तामाङ (नाम परिवर्तन)ले आफूले जोरापाटीस्थित अधिकारीको घरमैं पुगेर पैसा दिएको दाबी गर्दै जाहेरी दिएका छन् । तर, क्यानडा पठाउन नसकेपछि पैसा फिर्ता माग्दा अधिकारीले दिएको प्राइम कमर्सियल बैंक बागबजारको चेकमा २३ लाखको चेक काटेको उल्लेख छ । तामाङले उक्त रकम बैंक अफ काठमाडौंमा जम्मा गर्न खोजे पनि चेक बाउन्स भएपछि प्रहरीमा जाहेरी दिएको उल्लेख गरेका छन् ।
त्यस्तै, जयराम सुकुभाटुले क्यानडा पठाउन भन्दै २५ लाख मागेकोमा अधिकारीलाई २० लाख दिएको उल्लेख गरेका छन् । तर, क्यानडा पठाउन आलटाल गरेपछि २० लाख फिर्ता माग्दा प्राइम कमर्सियल बैंकको चेक नेपाल बैंक लिमिटेडबाट साट्न खोज्दा सो चेक पनि पैसा नभएकोले बाउन्स भएको उल्लेख गर्दै प्रहरीको जाहेरी दिएको उल्लेख छ ।
बनेपाका ३३ वर्षिय धिरेन पुलामी पनि अधिकारीबाट २२ लाख र ओखलढुङ्गाका डेकराज कार्की १८ लाख ठगिएका छन् ।
कसको कति लाख ठगियो ?
भक्तपुरका ३३ वर्षिया रामकृष्ण सुवालबाट २३ लाख
काभ्रे पनौतीका २८ वर्षिय नबिन तामाङबाट २३ लाख
ओखलढुङ्गाका ३० वर्षीय डेकराज कार्कीबाट १८ लाख
देलखाका सुधीनराज खड्काबाट २६ लाख ७० हजार
३८ वर्षिय जयराम सुकुभटुबाट २० लाख
बनेपाका ३३ वर्षिय धिरेन्द्र पुलामीबाट २२ लाख
यस्तो छ पिडितको बयान
मेरो नाम रामकृष्ण सुवाल, वर्ष ३३ हो । म भक्तपुर कमल विनायकमा बस्छु । म सौर्य एअरलाईन्समा काम गर्थेँ । त्यहाँ एक जना मेरा मित्र थिए–सुरेश । उहाँ मेकानिक इन्जिनियर हुनुहुन्थ्यो । मैले काम छोडेपछि उहाँले पनि छोडेर कहाँ जानु भयो । केही समयपछि हाम्रो फोनमा सम्पर्क भयो र सोध्नु भयो,‘भाई के गरिरहेको छौ ?’ मैले भनें,‘ ब्रुनाई जाने तयारीमा छु ।’ दाईले भन्नु भयो,‘क्यानडा जाने हो भने आउ ।’
क्यानडा जस्तो देशमा जान पाउँदा को जाँदैन र म पनि तयार भएँ । मैले भटौँ भन्दा दाईले भन्नु भयो,‘भेट्नु पर्दैन । एउटा दिदि हुनुहुन्छ– उहाँलाई फोन गर्नु ।’ अनि संगीता अधिकारीसँग परिचय भयो । उहाँ पूर्व फूटबलर निराजन रायमाझीकी श्रीमती रहेछ । दिदिसँग भेटेपछि मैले कुरा गरेँ । उहाँले भन्नु भयो,‘क्यानडामा मेरो होटल पनि छ । मेरो आफ्नै दाईको लायन्स क्लव छ । मेरो आफ्नै एअरलाईन्स, होटल जुनमा भएपनि काम लगाईदिन्छु ।’ नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री भिमसेन दास प्रधानसँगै कार्यक्रममा जाने र उतै लुक्ने भन्ने थियो । उहाँले त्यसो भनेपछि हामी अगाडी बढ्यौँ । मैले २१ लाख ऋण गरेर संगीता अधिकारीलाई बुझाएँ । दशैँको टिकाको भोलीपल्ट तिमीहरुको फ्लाईट हन्डेड प्रतिशत हुन्छ भनियो । त्यसो भएपछि मेरो सबै सम्पत्तिहरु मैले बेचिदिएँ । गाडी देखि घरसम्म सबै सम्पत्ति बेचेँ । एउटा मोटरसाइकल समेत बेचिदिएँ । १७ लाखको रेष्टुरेन्ट १० लाखमा बेचेँ । तर, १० लाख पुरै पैसा आएन एक जना विश्वासिलो साथीको भरमा जम्मा साँढे तीन लाख क्याँसमा चित्त बुझाएँ । पैसा फसिरहेको छ अहिलेसम्म मान्छे सम्पर्कमा छैन । स्थानिय चुनावी गतिविधि बढ्यो । संगीता अधिकारीले भन्नु भयो,‘वैशाखको एउटा लट सकौं । अनि तिमीहरुलाई पठाइदिन्छु ।’ तर, केही भएन । प्रदेश तथा केन्द्रको चुनाव आयो । यो चुनावपछि चाहीँ १०० प्रतिशत काम हुन्छ भन्नु भयो । २०१८ फेब्रअरी २२ मा भिमसेन दासको भिषाको म्याद नै सकिएको थाहा भयो ।
उहाँको स्वकिय सचिवसँगै हामीलाई पनि एसिस्टेन्ट बनाएर लाने भन्ने थियो । हामी जाने भन्ने कुरा मन्त्री ज्युलाई पनि अवगत थियो । हामीले हामीले दिएको सबै पैसा मन्त्री ज्युलाई दिइएको भनिएको थियो । हामीसँग त्यसको प्रमाण पनि छ । हामीले अन्तिम समय पनि सोध्यौँ,‘यो साँच्चै भिमसेन दासलाई नै पैसा दिएको हो ?’ संगीताले भन्नु भयो,‘हो ।’
धेरै समय झूलाएपछि संगीतालाई हामीले निकै फलो गर्यौँ । त्यसपछि उहाँले भन्नु भयो,‘तिमीहरुलाई मैले धेरै झुलाएँ । आदी पेमेन्ट तिमीहरुलाई फिर्ता गरिदिन्छु । आदी रकम चाहीँ म पारिश्रमिक बापत म राख्छु ।’म लगायत सबै साथीले गरेर जम्मा १ करोड ३२ लाख बुझाएका रहेछौँ ।
हामीलाई क्यानडाको टिकट पनि देखाइएको थियो । भिषाको फोटोकपि भनेर हेर्न मात्रै दिएको थियो । ओर्जिनल दिन मिल्दैन भनिएको थियो ।
संगीता अधिकारीको गतिविधि प्रति हामीलाई शंका लाग्यो र विश्वास लागेन । त्यो थाहा पाएपछि हामीले सिधै भिमसेन दासलाई फोन गर्यौँ । उहाँले भन्नु भयो,‘म क्यानडा जाने प्रोससमा थिएँ बाबु । तर, संगीता अधिकारी भन्ने मान्छेलाई मैले चिन्दिनँ ।’ त्यसपछि भिमसेन दासले स्वकिय सचिव ईन्द्रमान महर्जनलाई ठाउँको ठाउँ बोलाउनु भयो । इन्द्रमानले भन्यो,‘तिमीहरुको सबै प्रोसेस यहीँबाट भएको हो भनेर भन्यो ।’ त्यतिबेला भिमसेन दास मन्त्री पदमै आसिन थिए । नयाँ बानेश्वरको पानी ट्याङ्की अगाडीको द बेइजिङ टप रेष्टुरेन्टमा संगीता अधिकारीलाई पैसा बुझायौँ र उहाँ केही बेरमा भिमसेन दासलाई पैसा बुझाउन जानु छ सिंहदरबार जानु छ भन्नु भयो । हामीले नै सिंहदरबारको गेटसम्म पुर्यायौँ । भिमसेन दास प्रधानको भिषाको म्याद सकिएपनि अहिलेसम्म संगीता अधिकारीले हामीलाई त्यही भिषामा क्यानडा लान्छु भनिरहेकी छिन् ।निराजन रायमाझीका बुवाले यसो भने
केही दिन अघि हामीले निराजन रायमाझीको बुवा रामसुन्दर रायमाझीलाई फोन गर्यौँ । उहाँले भन्नु भयो,‘भाई तिमीहरुको सबैको पासपोर्ट घरमा छ । म तिमीहरु सबैलाई पासपोर्ट दिन्छु । तिमीहरु सबैलाई सेभ फ्लाईट गराउँछु टेन्सन नगर ।’ तर, उहाँ पनि केही दिन पछि सम्पर्कविहिन हुनु भयो । मलाई लाग्छ यो धन्दामा यो परिवार नै लागेको छ । बुवाले भनेका थिए,‘निराजन पहिले नर्वेमा गएर दुख गरेर आएको हो । नेपाल आएर उसले आल्मुनियम फ्याट्री खोल्यो । तर राम्रो नभएर डुब्यो । त्यसपछि यीनीहरुले क्यानडा पठाउने काम गरेको हो । यीनीहरुको एउटा गिरोह नै छ ।’
पैसा लिनका लागि भिडियोको प्रयोग
पीडितले ताकेता गर्दा पनि पैसा नपाएपछि निराजनकी श्रीमतीसँग आफूहरुसँग पैसा लिएको र फिर्ता गर्न उनले प्रतिवद्धता व्यक्त गरेको भिडियो पनि खिचेका छन् । भिडियोमा अधिकारीले मूलपानीमा रहेको ससुराको घर बेचेर भएपनि पैसा दिने भन्दै आस्वस्त पारेकी छिन् ।
नक्कली भिषा समेत बनाएको खुलासा
पीडित युवाहरुलाई अधिकारीले नक्कली भिषा दिएको समेत खुलाशा भएको छ । दियोपोस्टलाई प्राप्त प्रमाण अनुसार अधिकारीले सुधीन खठड्कालाई क्यानडाको भिषा दिएकी छिन् । उनलाई क्यानडाको भिजिटर भिषा दिइएको छ । सन् २०१८ फेब्रअरी २२ मा जारी गरिएको भिषाको म्याद सन् २०२०को मे ५ सम्म लेखिएको छ ।
क्यानडा पठाउन आइटीनरी बनाएर विश्वास दिलाइयो
पुतली सडकमा रहेको इन्सपायर ट्राभल्समा संगीता अधिकारीले आइटीनरी बनाइदिन आग्रह गरेकी थिइन् । मन्त्रालयका लागि चाहिएको भन्दै पूर्व मन्त्री भिमसेनदास सहित ११ जनाको लागि ट्राभल्सका समुन्द्र पौडेलले आइटीनरी बनाइदिए । तर, त्यसपछि अधिकारी सम्पर्कमा आइनन् । ‘एक जना महिला र पुरुष आइटीनरी बनाइदिन भन्दै आउनु भएको थियो । हामीले बनाइदियौँ,’ आइटीनरी बनाउने समुन्द्र पौडेलले भने,‘पछि आउँछु भनेर आउनु भएन ।’
मन्त्रीका स्वकिय भन्छन्,‘संगीताले पैसा उठाएको हो’
संगीता अधिकारी भन्नेले उताबाट मन्त्रीको नाम समेत अफर लेटरमा लेखाएर ल्याएको हो । हामीले क्याबिनेट बैठकमा लानुभन्दा अगाडी नाम पनि राखेको हो । क्याबिनेट बैठकमा लाने बेला ११ जनाकै नाम थिएन । हामीले संगीता अधिकारीलाई समात्यौँ । मन्त्री ज्यु र म बसेर नै सल्लाह गर्यौँ । उनीहरुको नाम मैले सुनेको थिएनँ । हाम्रो भेटघाट भएको थिएन । हामीले इन्द्रेणी रिसोर्टमा बोलाएर छलफल गर्यौँ । मैले भिडियो पनि खिचेको छु । त्यो मसँग छ । संगीताले पैसा उठाएको हो । हामीले केही लिएका छैनौँ ।
बहालवाला सांसद तथा पूर्व मन्त्रीको फोन उठेन
यस विषयमा हामीले नेपाली कांग्रेसका बहालवाला सांसद तथा पूर्व रक्षा मन्त्री भीमसेन दास प्रधानको मोबाइल नम्बर ९८५१०४५०६६ मा फोन गरेका थियौँ । तर, पटक पटक फोन गर्दापनि उनले फोन उठाएनन् ।