देउताको डरले गाउँ मदिरामुक्त

Diyo post  

मुगु, असोज २९ । छायानाथ–रारा नगरपालिका– १३, थार्प गाउँमा मदिरा पाइँदैन । उत्पादन र सेवन दुवै हुँदैन । मदिराका सम्बन्धमा सरकारी नियम–कानुन के भन्छ, त्यो गाउँवासी त्यति जान्दैनन् । उनीहरूले आफ्ना आराध्य मष्ट देवताका डरले गाउँलाई मदिरा निषेधित बनाएका हुन् ।

एक सय तीस घरधुरी रहेको थार्पका बासिन्दामा मदिरा सेवन वा बिक्रीवितरण गरे मष्ट देवताले सजाय दिन्छन् भन्ने धारणा रहेको स्थानीय दलित संघका अध्यक्ष बाँकीलाल नेपालीले बताए ।
‘मष्ट देवताकै कारण गाउँवासी गलत काम गर्दैनन्,’ स्थानीय पुरिलाल सावतले भने, ‘मदिरा निषेध हुँदा गाउँमा हिंसा र विकृति खासै छैन ।’

मष्ट देवताप्रति गाउँवासीको ठूलो आस्था छ । उनका अनुसार घर बनाउँदा, विवाह गर्दा, गाउँबाट बाहिर निस्कँदा मष्ट देवताको पुजारीबाट साइत हेराउने चलन छ । मष्ट मन्दिरका झाँक्री तारासिंह बोहराका अनुसार स्थानीयवासी देवताका विभिन्न नियममा बाँधिएका छन् ।

माघ, वैशाख, साउन पूर्णिमा र दसैंका बेला विशेष पूजा गरिन्छ । जग्गा भागबन्डासमेत मष्ट देवतालाई साक्षी राखेर गरिन्छ । निस्सन्तान दम्पतीले भाकल गरे छोराछोरी जन्मने स्थानीयको विश्वास रहेको दन्तकला बोहराले सुनाइन् ।

एकातिर मष्ट देवताको डर र अर्कोतिर स्थानीय तहको अभियानले छायानाथ–रारा नगरपालिका १३ मदिरामुक्त भएको वडाध्यक्ष चक्र सावतले बताए । उनका अनुसार कारुघा, लुम, त्रिप, लह, लापु र थार्प गाउँ मदिरामुक्त भइसकेका छन् । सोमबारको कान्तिपुर दैनिकमा खबर छ ।

सम्बन्धित खबर