
A dozer removes mud from historic Rani Pokhari or Queen's Pond that was damaged in 2015 earthquake and left intact till date in Kathmandu, Nepal on Tuesday, July 18, 2017. Photo: Skanda Gautam
काठमाडौँ, असोज २९ । भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि ऐतिहासिक रानीपोखरी पुनः निर्माण हुने विषय फेरि अन्योलमा परेको छ ।
भूकम्प गइसकेपछि दोस्रो पटक पुनः निर्माण गर्नका लागि काठमाडौँ महानगरपालिकाले बोलपत्र आह्वान गरी निर्माण कार्य अघि बढाउने तयारी गरेको थियो । कामपाको मागअनुरुपको बोलपत्र र आशयपत्र पेश गरेका दुवै निर्माण कम्पनीको मागअनुरुपको आशयपत्र नभएकाले पोखरी पुनः निर्माणको काम अन्योल भएको हो ।
नगरप्रमुख विद्यासुन्दर शाक्यले भने, “निर्माणको इच्छा राख्ने दुवै कम्पनीले पेश गरेका कागजात अपुग छ, त्यसैले निर्माणको जिम्मा दिनका लागि मापदण्ड पूरा गरेको हुनुपर्छ, आवश्यकताअनुरुपको हुनका लागि अर्को बोलपत्र माग गर्नुपर्छ त्यसको लागि समय लाग्छ ।”
यसअघि काठमाडौँ महानगरपालिकाले मन्दिरसहित रानीपोखरीको पुनःनिर्माण गर्दा पुरातत्व विभागले बालगोपालेश्वर मन्दिर गुम्बज शैलीमा निर्माण गरेको र निर्माणका क्रममा सिमेन्ट प्रयोग गरेको भन्दै विवाद सिर्जना भएपछि निर्माणको सम्पूर्ण काममा रोक लगाइएको थियो ।
कामपाले व्यापारिक दृष्टिकोणले सोहीअनुरुप पोखरी क्षेत्रको निर्माण कार्य शुरु गरे पनि आधुनिक निर्माण सामग्री प्रयोग गरेको भन्दै चौतर्फी विरोध आएपछि शुरु गरिएको निर्माण कार्य रोकिएको हो । पुनःनिर्माणको काम अन्योल भएसँगै यस वर्ष पनि तिहारमा बालगोपालेश्वर मन्दिरको प्रयोग गर्न नपाइने भएको छ । उक्त मन्दिर हरेक वर्ष तिहारमा भाइटीकाको दिनमात्र सर्वसाधारणको लागि खुला गरिने गरिन्छ । यस मन्दिरमा दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाइले भाइटीका लगाउने गर्दछन् ।
–––