एसपी डिल्लीराज विष्ट र प्रहरी निरीक्षक भट्टलाई बर्खास्ती सिफारिस

दियो पोस्ट  

काठमाडौं , कात्तिक ५ । भीमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा मुछिएका एसपी डिल्लीराज विष्ट बर्खास्तीको सिफारिसमा परेका छन् । उनीसँगै प्रहरी निरीक्षक जगदीश भट्टलाई पनि प्रहरी प्रधान कार्यालयले बर्खास्तीकै सिफारिस गरेको छ।

विष्ट तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा प्रमुख थिए। प्रहरी प्रधान कार्यालयले दुवैलाई बर्खास्त गर्न असोज २९ गते गृह मन्त्रालयलाई पत्राचार गरेको हो।

प्रहरी केन्द्रीय प्रवक्ता डीआईजी शैलेश थापा क्षेत्रीका अनुसार गृह मन्त्रालयकै उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन, प्रहरी अतिरिक्त महानिरीक्षक धीरु बस्नेतको प्रारम्भिक अनुसन्धान र प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालको स्थलगत अनुगमनका क्रममा उनीहरूको कार्यशैलीमा देखिएको त्रुटिपूर्ण प्रमाणका आधारमा बर्खास्तीको सिफारिस गरिएको हो। बर्खास्तीमा परे दुवै प्रहरी अधिकृतको पेन्सन समेत गुम्नेछ।

निर्मलाका बाबुआमा काठमाडौं आएर प्रधानमन्त्री, गृहमन्त्रीलाई भेटेर एसपी विष्टको लापरवाहीबारे विस्तार गरेका थिए। समितिको प्रतिवेदनले पनि घटनास्थलमा सुरक्षित हुनुपर्ने प्रमाण नष्ट हुन नदिन प्रहरीले गरेको कामकारबाही ‘गम्भीर लापरवाही र त्रुटिपूर्ण’ भनेको थियो।

एसपी विष्ट घटनाबारे जानकार हुँदाहुँदै पनि तत्काल घटनास्थल नपुगेर सामान्य रूपमा लिएको प्रतिवेदनमा उल्लेख छ। विष्टले घटना अनुसन्धानमै रहेका बेला मिडियामा आफ्नो सफाइ दिएका थिए।

घटनास्थल र जिल्ला प्रहरी कार्यालय नजिकै रहेपनि विष्ट तत्काल नजानु र जान लागेका प्रहरीलाई समेत रोक्नुले उनीमाथि गम्भीर शंका उत्पन्न भएको कुरा प्रतिवेदनमा औंल्याइएको थियो। सरकारले गृहका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको थियो।

‘निर्मला हत्या प्रकरणमा विष्ट र भट्टको गम्भीर लापरवाही देखिएको छ। उनीहरूले घटनालाई सामान्यीकरण गर्न खोजेको देखियो। गम्भीर घटनामा प्रहरीले पीडितलाई सहयोग गर्नुपर्नेमा उल्टै निरुत्साहित हुने कुरा बोलेको देखियो, ‘डीआईजी क्षेत्रीले भने, ‘हामीले कारबाही स्वरूप दुवैलाई बर्खास्तीको सिफारिस गरेका हौं।’

गृह प्रशासन र प्रहरीको सम्पूर्ण शक्ति परिचालन हुँदा पनि निर्मला हत्याका अभियुक्त पक्राउ नपर्दा सरकारको चौतर्फी आलोचना भइरहेको छ। एसपी विष्ट, उनका छोरा र मेयरका भतिजाको समेत सरकारले डीएनए परीक्षण ग¥यो। तर निर्मलाको भेजाइनल स्वाबसँग तीनै जनाको डीएनए मेल खाएन।

गृहको समितिले बुझाएको प्रतिवेदनअनुसार निर्मलाका अभिभावकको चिन्तालाई सामान्य सोचेर एसपी विष्टले प्रहरी परिचालनमा रोक लगाउनु, घटनास्थलमा निर्मलाले लगाएको सुरुवाल धोई पखाल्न लगाउनु र प्रमाणित वस्तु निर्मलाले लगाएको कपडा सुरक्षित नराखी शवसँगै जलाउन दिनुले अनुसन्धानको सामान्य सिद्धान्तलाई प्रहरीले नियोजित रूपमै लापरवाही गरेको प्रष्ट देखिएको उल्लेख थियो। सोमबारको अन्नपरर्ण दैनिकमा खबर छ ।

TATA ADD