एएफसी यु–१९ महिला टोली आज थाइल्याण्ड जादै

दियो पोस्ट  

काठमाडौं, कार्तिक ५ । १९ वर्षमुनीको महिला फुटबल टोली आज थाईल्याण्ड जाँदै छ । गत असोजमा भूटानमा भएको साफ च्याम्पियनसिपमा उपविजेता बनेको नेपाल यसपटक शीर्ष स्थान हासिल गर्ने लक्ष्यका साथ त्यसतर्फ प्रस्थान गर्न लागेको हो । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले थाइल्याण्डमा हुने एएफसी यु–१९ महिला च्याम्पियनसिप छनोट खेल्न जाने नेपाली टोललाई हिजो आईतबार बिदाई गरेको थियो ।

कात्तिक ७ देखि ११ गतेसम्म थाइल्यान्डको चोनबुरी रङ्गशालामा हुने उक्त छनोट प्रतियोगितामा सहभागी हुने नेपाली टोलीलाई एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, महासचिव इन्द्रमान तुलाधर लगायतले सफलताको शुभकामना दिँदै बिदाइ गरे ।

छनोट खेलमा नेपाल समूह बी मा परेको छ । नेपालको समूहमा आयोजक थाइल्याण्डसहित भारत र पाकिस्तान छन् । नेपालले आफ्नो पहिलो खेल कात्तिक ७ गते थाइल्याण्डसँग खेल्नेछ ।

कात्तिक ९ गते हुने दोस्रो खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्नेछ भने छनोटको अन्तिम खेल कात्तिक ११ गते पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो चरणमा विभिन्न छ समूहमा २५ राष्ट्रले प्रतिस्पिर्धा गर्दैछन् । जसमा समूहका शीर्ष स्थान हासिल गर्ने टोलीले दोस्रो चरणमा प्रवेश पाउने छन् भने प्रत्येकका समूहबाट उत्कृष्ट हुने दुई उपविजेताले पनि अघिल्लो चरणमा प्रवेश गर्नेछन् ।

नेपाली टोलीमा गोलरक्षक अञ्जना रानामगर, उषा नाथ र रविता राई छन् भने डिफेन्डरमा निशा थोकर, सुष्मा महर्जन, रोजिना श्रेष्ठ, समीक्षा घिमिरे, विमला विक, कोपिला धिमाल, पुनम फरसवान र पूजा रानामगर रहेका छन् ।

त्यसैगरी मिडफिल्डरमा सरु लिम्बू, मञ्जलीकुमारी योञ्जन, शुभद्रा खड्का, अस्मिता वैद्य, मनिषा राउत, सुवानी कुस्वार, सिर्जनासिंह ठकुरी तथा सम्झना लावती छन् । फरवार्डमा रश्मीकुमारी घिसिङ, रेखा पौडेल, एलिसा जिम्बा, सम्झाना शर्मा छन् ।