एसपी विष्ट र इन्स्पेक्टर भट्टलाई हटाउन गृहको अन्तिम तयारी !

दियो पोस्ट  

प्रयास पराजुली

काठमाडौं, कात्तिक ७ । प्रहरी प्रधान कार्यालयको सिफारिस अुनसार निर्मला पन्तको बलात्कारपछि हत्या अनुसन्धानमा गम्भीर लापरबाही गरेको आरोप खेपिरहेका एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीश भट्टलाई बर्खास्त गर्ने गृहकार्य अन्तिम चरणमा पुगेको छ । गृह मन्त्रालयले विष्ट र भट्टलाई २४ घण्टे स्पष्टिकरण पत्र काटेसँगै बर्खास्त गर्न लागेको हो ।

प्रहरी प्रधान कार्यालयले बर्खास्त गर्न सिफारिस गरेपनि गृह मन्त्रालयले कानुनी प्रावधान अनुसार स्पष्टिकरण पत्र काटेको छ । निलम्बमा परेका विष्ट र भट्टले पत्र बुझेको भरपाई प्रहरी प्रधान कार्यालयले गृहमा पठाएपछि मात्रै प्रामाणिक हुने एक उच्च प्रहरी अधिकृतले बताए । गृह मन्त्रालयको प्रशासन महाशाखाका सहसचिव केदार शर्मा प्रधान कार्यालयले गरेको सिफारिस अनुसार अन्तिम पटक स्पष्टिकरणको पत्र काटेको बताए ।

प्रहरी स्रोतका अनुसार भट्ट र विष्टले गृह मन्त्रालयले काटेको पत्र बुझिसकेका छन् । मन्त्रालयद्वारा गठित उच्चस्तरीय छानबिन समिति र प्रहरी प्रधान कार्यालयको सिफारिसका आधारमा गृहले उनीहरूमाथि बर्खास्तीको प्रक्रिया अघि बढाएको छ । छानबिन समितिले उनीहरूले जिम्मेवारीअनुरूप भूमिका निर्वाह नगरेको र प्रमाणहरू नष्ट गरेको भन्दै विभागीय कारबाही सिफारिस गरेको थियो । प्रहरी ऐनअनुसार इन्स्पेक्टरदेखि एसपीसम्मको बर्खास्ती प्रहरी महानिरीक्षकको सिफारिसमा गृहसचिवले गर्ने प्रावधान छ ।

गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयको सिफारिसकै आधारमा बर्खास्त गर्ने निर्णय गर्दा विष्ट र भट्ट अदालत जादा अन्तरिक आदेश लिएर पुनः पदमा बहाल नहोउन भन्ने योजनाको साथ २४ घण्टे स्पष्टिकारण लिएको ती प्रहरी अधिकारीले बताए । उनका अनुसार बुधवार वा विहिवार घटनामा गैरजिम्मेवार काम गरेको अभियानमा विष्ट र भट्टलाई बखास्त गर्न लागिएको हो । निर्मला पन्तको बलात्कारपछि हत्या भएको तीन महिना वितिसक्दा समेत दोषी पक्राउ पर्न सकेको छैन् ।

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयले विभिन्न छानबिन टोली गठन गरेर काम गरेपनि दोषी पत्ता लाग्न नसकेपछि घटनाको प्रमाण नष्ट गर्न भूमिका निर्वाह गरेका एसपी विष्ट र इन्स्पेक्टर भट्टलाई प्रहरी प्रधान कार्यालयले बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको थियो । प्रधान कार्यालयको सिफारिस अनुसार गृह मन्त्रालयले विष्ट र भट्टलाई बर्खास्त गर्नको लागि सबै प्रक्रिया पूरा गरेको गृह मन्त्रालयको सचिवालयका एक सदस्यले दियो पोष्टलाई बताए । उनका अनुसार घटनाका प्रमाण नष्ट गर्न भुमिका निर्वाह गरेको विष्ट र भट्टलाई बर्खास्त गरेपछि प्रहरीले निर्मला पन्त हत्याको दोषी पहिचान गर्न थप अनुसन्धान प्रहरीभित्रैबाट थाल्ने तयारी गरेको छ ।