बीपी प्रतिष्ठानमा आपूर्ति टेण्डरमा चलखेल, मिलेमतोमा बढी रकमको ठेक्का स्विकृत !

Diyo post  

धरान, कात्तिक ८ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको बेथितीबारे छानबिन चलिरहेको बेला छपाइ सामान आपूर्तिको टेण्डरमा व्यापक अनियमितता भएको खुलेको छ। प्रतिष्ठानका पदाधिकारीहरुले मिलेमतोमा कम रकम कबोल गरेको ठेक्का अस्वीकृत गर्दै बढी रकमको ठेक्का स्वीकृत गरेको खुलेको छ।

बिहीबारको नागरिक दैनिकमा खबर छ आर्थिक चलखेलमा बढी रकम कबोल गरेको ठेक्का स्वीकृत गरेर भ्रष्टचार गरेको भन्दै उक्त विषयमा अख्तियारमा उजुरीसमेत परेको छ । प्रतिष्ठानले सार्वजनिक खरिद नियमन कार्यालयमार्फत छपाइजन्य सामानको इ–ठेक्का आह्वान गरेको थियो । त्यसमा बोलपत्र दातामध्ये सबैभन्दा कम मूल्यको चितवनस्थित युनिभर्सल सप्लायर्सले १ करोड ४८ लाख ९५ हजार कबोल गरेको थियो । तर, ठेक्का भने करिब साढे ३ लाख बढी कबोल गर्ने फर्म अप्पुश्री इन्टरप्राइजेज अफसेट प्रेसको स्वीकृत भएको छ । अप्पुश्रीले १ करोड ५२ लाख ३८ हजार रुपैयाँ कबोल गरेको थियो।

अप्पुश्रीको सञ्चालक गोपाल श्रेष्ठ र प्रतिष्ठानका रजिष्ट्रार तुलबहादुर श्रेष्ठ नातेदार हुन् । छापाइजन्य सामान सामान्य प्रशासनअन्तर्गत रजिस्ट्रार श्रेष्ठको मातहतमा पर्छ । प्रतिष्ठानको छपाइजन्य सामानको आपूर्ति अप्पुश्रीले नै गर्दै आएको छ । युनिभर्सलका प्रतिनिधि सन्दीप सुवेदीले असोज अन्तिम साता इटहरीस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा उजुरी दिएका हुन् । उनले उजुरीमा रजिष्ट्रार श्रेष्ठको भाइको फर्मलाई ठेक्का स्वीकृत गराउन रजिष्ट्रारसँगै डेपुटी रजिष्ट्रार एवं मूल्यांकन समितिका संयोजक अमित श्रीवास्तवलगायत उच्च पदाधिकारीको मिलेमतो भएको दाबी गरेका छन्।

अख्तियारले भने यो विषयमा उजुरी र अनुसन्धान प्रक्रियाबारे केही प्रतिक्रिया जनाएको छैन । ‘उजुरी र अनुसन्धानबारे बोल्न मिल्दैन, सूचना अधिकारीसँग बुझ्नु होला,’ अनुसन्धान अधिकृत भरत ढुंगानाले भने । तर सूचना अधिकृत बिदामा भएको रहेको जनाइएको छ।

सम्बन्धित खबर