राष्ट्रपति ट्रम्पको विवादास्पद अभिव्यक्तिले अमेरिकामा हिंसा बढेको आरोप

दियो पोस्ट  

बीबीसी । संयुक्त राज्य स्थित न्यूयोर्कका मेयरले सीएनएन समाचार संस्था, बराक ओबामा र हिलरी क्लिन्टन जस्ता वरिष्ठ डेमोक्र्याट नेताहरूमाथि नियोजित आक्रमणका प्रयासलाई आतंकवादी कार्यको संज्ञा दिएका छन् ।

शंकास्पद विस्फोटक पदार्थका पोका न्यूयोर्क, वाशिङ्गटन डिसी तथा फ्लोरिडाका स्थानहरूमा पठाइएका कुरा सार्वजनिक भएपछि मेयर बील डे ब्लाजियोले यस्ता किसिमका घटनाहरु स्वतन्त्र प्रेस तथा देशका नेताहरलाई तर्साउनको लागि मात्र गरिएको बताए ।

संघिय जाँच ब्युरो (एफबिआई)ले यस घटनालाई उच्च प्राथमिकता दिएर अनुसन्धान गरिरहेको बताएको छ । हालसम्म पाँचवटा विस्फोटक पदार्थलाई डिफ्युज गरिसकेको एफबिआईले जनाएको छ । पाँच मध्य एक पाईप बम रहेको र उक्त बम अर्बपति जर्ज सोरोसको घरमा भेटिएको बताएका छन् । सीएनएनको न्युयोर्क कार्यलयको चिठिपत्र राखिने कोठामा पनि बुधबार बम भेटिएको थियो ।

यस्ता घटनाहरु सार्वजनिक भइरहँदा राष्ट्रपति डोनाल्ड ट्रम्पले यस्ता सामान्य डरधम्किको प्रयासको लागि अमेरिकामा कुनै स्थान नभएको बताए । न्युयोर्कका गभर्नर एन्ड्रु कुओमोले अतिरञ्जित अभिव्यक्तिहरुले मानिसहरुलाई हिंसात्मक गतिविधिमा धकेलिदिएको बताएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पको विवादास्पद अभिव्यक्तिको कारण राज्यमा हिंसात्मक गतिविधि भईरहेको उनले बताए ।
फ्लोरिडामा आयोजित एक कार्यक्रममा पुर्व अमेरिकी विदेशमन्त्री हिलरी क्लिन्टनले अमेरिकामा निकै विभाजन आएको र देशलाई एकताबद्ध बनाउनको लागि लागी पर्नुपर्ने बताएकी थिइन् ।

यी विस्फोटक पदार्थहरूको सबै सम्भावित निशानामा खासगरि राष्ट्रपति ट्रम्प तथा उनका समर्थक समूहले निरन्तर आलोचना गर्दै आएकाहरू परेका छन्। केही डेमोक्र्याटहरूले राष्ट्रपतिलाई उनको बोलीमार्फत हिँसा गर्न उक्साएको आरोप लगाएका छन्। अमेरिकामा नोभेम्बरमा संसदीय चुनावको संघारमा यी घटनाहरु भएका हुन् ।

TATA ADD