सरकारले गरेका कामको परिणाम देखिने बेला अब आउँदैछः वनमन्त्री शक्ति बस्नेत

Diyo post  

 

सुर्खेत, कात्तिक ९ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले गरेका कामको परिणाम विस्तारै देखिने बेला आएको बताएका छन् । शुक्रबार सुर्खेत विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रि बस्नेतले नयाँ संरचनामा काम गर्नुपरेकोले तत्काल परिणाम नदेखिएको बताए ।

“राज्यको पुनःसंरचनासँगै तीनै तहका सरकार सञ्चालन भएको विशिष्ट अवस्था हो”, मन्त्री बस्नेतले भने, “यस अवधिमा सरकारले आन्तरिक तयारीका सबै काम टुङ्ग्याउन लागेको छ, सरकार आफ्नो उद्देश्य र प्रतिबद्धतादेखि विचलित भएको छैन ।” उनले कानूनको मस्यौदा र प्रशासनिक पुनःसंरचनाको काम अन्तिम चरणमा पुगेको बताए । धेरै कामहरु शुरु भईसकेको बताउदै मन्त्रि बस्नेतले अवका दिनहरुमा प्रदेश सरकारले हात फुकाएर काम गर्नुपर्ने बताए ।

प्रदेश सरकारलाई केन्द्र सरकारले अधिकार प्रत्यायोजन गर्न नचाहेको भन्ने अभिव्यक्तिको खण्डन गर्दै मन्त्रि बस्नेतले धेरैजसो मन्त्रालयका कामहरु प्रदेश सरकारलाई हस्तान्तरण गरिसकिएको र केही कानुनी जटीलताका कारणले स्थगित भएको बताए । ‘कानुनी जटिलताका कारण केही अधिकारहरु प्रदेश सरकारमा प्रत्यायोजन हुन सकेको छैन तर छिट्टै हुने क्रममा रहेको छ’ मन्त्री बस्नेतले भने ।

 

सम्बन्धित खबर