विश्वक्रिकेटका तारा सन्दिप लामिछानेको छलाङ : १८ वर्ष उमेर नपुग्दै यस्तो चमत्कार !

दियो पोस्ट  

     टिपी शर्मा

काठमाडौं ९ कात्तिक । १७ वर्षकै उमेरमा आफ्नै प्रयासमा करोडपति बन्नु जोसुकैका लागि सपना जस्तो लाग्न सक्छ । थोरै भाग्यमानी हुन्छन् जो आफ्नै कर्मले छोटो समयमैं सफलताको शिखरमा पुग्छन् । यस्तै सफलता प्राप्त गर्ने मध्येका एक खेलाडी हुन् विश्व क्रिकेटमैंं तहल्का मच्चाउँने नाम हो सन्दिप लामिछाने । नेपालका लेग स्पिनर लामिछानेले छोटो समयमा र कम उमेरमा विश्व क्रिकेटमा आफ्नो फरक बलिङ क्षमताको परिचय मात्र दिएका छैनन् । यत्ति सानो उमेरमा एक वर्ष नपुग्दै एक करोड रुपैयाँभन्दा बढी आम्दानी गरेर सनसनी नै मच्चाएका छन् ।

फरकफरक विभिन्न देशका लिगमा आवद्ध हुँदा सन्दिपले ६ महिनाको अवधिभित्रै एक करोड नेपाली रुपैयाँभन्दा माथि आम्दानी गर्न सफल भए । विश्वकै प्रतिष्ठित आइपिएलमा आवद्ध हुनका लागि २० लाख भारुबाट सुरु भएको उनको आम्दानीको पारो घट्दो होइन बढ्दो क्रममा छ । आइपिएलमा ३२ लाख, क्यारेबियन प्रिमियर लिग (सिपिएल)मा ६ लाख, क्यानेडियन लिग (ग्लोबल टी २० लिग)मा ४० हजार डलर झन्डै साढे ४६ लाख कमाएका सन्दिपले अफगान लिगमा साढे १७ लाख आम्दानी गर्न सफल भएका छन् । हाल भइरहेको पोखरा प्रिमियर लिगबाट सन्दिपले ३ लाख रुपैयाँ आम्दानी गर्दैछन् ।

एसोसियटबाट अर्को फड्को

सन्दिप यत्तिमै रोकिएका छैनन् । अब केही महिनामा अष्ट्रेलियामा हुने क्रिकेटको टी २० लिग बिगब्यासका लागिसमेत उनी छानिएका छन् । यो लिगमा खेल्ने सन्दिप एसोसियट देशबाट पहिलो खेलाडीसमेत हुन् । यो प्रतियोगितामा सन्दिपले पाउने पारिश्रमिकको टुंगो लागेको छैन । तर, यो प्रतियोगितामा उनले पाउने पारिश्रमिक निक्कै हुने अनुमान गरिएको छ । अष्ट्रेलियामा खेलेपछि उनले एक वर्षभित्र कमाई गर्ने रकम झण्डै डेड करोडमाथि पुग्ने निश्चित जस्तै छ । यस्तोमा युवाहरुमा अझै नेपाली खेलाडीमा सबैभन्दा बढी आम्दानी गर्ने खेलाडीमा सन्दिप निर्विवाद पर्नेछन् ।

देशबाट पाएको पुरस्कार रकम पनि उत्तिकै

अलग बलिङा लागि परिचित सन्दिपले नेपालको राष्ट्रिय टिमबाट पनि उत्तिकै सशक्त प्रदर्शन गरेका छन् । नेपालले एक दिवसीय मान्यता पाउँदासम्मका खेल हुन् वा अरु प्रतियोगिता नै किन नहुन् सन्दिपले एकपछि अर्को गर्दै प्रभावशाली प्रदर्शन गर्दै आएका छन् । यिनै प्रदर्शनका आधारमा उनले नेपालबाट पाएको आर्थिक र अरु पुरस्कार पनि उत्तिकै छन् ।

नेपालमा पछिल्लो वर्षयता देशका विभिन्न ठाउँँमा भइरहेका टी २० लिग र प्रतियोगितामा पनि सन्दिपले सक्रियतापूर्वक सहभागिता जनाउँदै आएका छन् । यी प्रतियोगिता र खेलबाट पनि सन्दिपले मनग्गे आम्दानी गर्दै आएका छन् ।

यसरी विदेशी र स्वदेशी लिग, विभिन्न पुरस्कार राशीसहितको रकम गरी सन्दिपले पछिल्लो एक वर्ष पूरा नहुँदै एक करोड रुपैयाँभन्दा माथि आम्दानी गर्न सफल भएका छन् । सन्दिपले नेपालको राष्ट्रिय टिमबाट प्रतिमहिना बोनससहित ३५ हजार तलव पाउछन् ।

ब्रान्ड एम्बास्डरबाट उत्तिकै कमाइ

सन्दिप जेभियर इन्टरनेसनल कलेज, सानिमा बैंकसहितका कम्पनीका ब्रान्ड एम्बासडर पनि हुन् । यी मध्ये सानिमाले मात्र सन्दिपलाई दुई वर्षको लागि ९ लाख ६० हजार रुपैयाँ दिन्छ ।

हार मान्दैनन् सन्दिप

सन्दिप छोटो समयमा विश्व क्रिकेटमा तहल्का मच्चाउने खेलाडी हुन् । गत वर्ष उनले जब भारतको आइपिएलमा खेल्ने मौका पाए त्यसपछि उनी लोकप्रियताको शिखरमै उभिन पुगेका छन् । आइपिएलमा सन्दिप नलेल्दासम्म उनको टिम दिल्ली डेयरडेभिल्सले कुनै उल्लेख्य सफलता हासिल गर्न सकेको थिएन । तर, जब उनी टिममा परे उनको टिमले प्रभावशाली खेल खेल्दै पछिल्ला तीन चारवटा म्याच जित्न पुग्यो । सन्दिप आफूमा क्रिकेटप्रति असाध्यै लगाव रहेको भन्दै पैसाभन्दा क्रिकेट नै आफ्नो लागि ठूलो भएको प्रतिक्रिया दिंदै आएका छन् ।

दिल्लीको निरन्तर आँखा

सन्दिपले विदेशी लिगतमात्रै नेपाली टोलीबाट एकपछि अर्को गर्दै कीर्तिमानी प्रदर्शन गर्दै गर्दा उनले आइपिएल खेलेको दिल्ली डेयरडेभिल्सले उनलाई निरन्तर पछ्याइरहेको छ । उनले गर्ने हरेक बलिङको फिगरलाई दिल्लीले आफ्नो फेसबुक पेजमा पोस्ट गर्दै अर्को सिजनमा पनि सन्दिपलाई टिममैं पार्ने रणनीति उसको देखिन्छ । यो वर्ष उनले गरेको प्रदर्शनलाई हेरेर दिल्लीले आगामी वर्ष उनलाई निक्कै महंगो मूल्य लगाउँने आँकलन गर्न सकिन्छ ।

TATA ADD