काठमाडौं, ११ कार्तिक । धादिङका प्रतिनिधि सभा सदस्य तथा सांसद भूमि त्रिपाठीले बालुवा तस्कर र व्यापारीसँग पैसा लिएको विषय निराधार भएको बताएका छन् ।
दशैं अगावै पत्रकार नेता र मन्त्रीलाई समेत बालुवा व्यापारी र क्रसर व्यापारीले दशैं खर्चको नाममा लाखौँ रकम बाँढेको विषयमा सामाजिक सञ्जालमा व्यापक विरोध भएपछि दियोपोस्ट डटकमले सोही विषयलाई समाचारको रुपमा प्रकाशन गरेको थियो ।
त्रिपाठीले बालुवा व्यापारीबाट १० लाख रुपैयाँ लिएको भन्दै धादिङका पत्रकार नारायण सिलवालले सामाजिक सञ्जाल मार्फत खुलाशा गरेका थिए । सोही विषयमा प्रतिक्रिया दिँदै उनले आफूमाथि लागेको आरोप पुष्टि भए सांसद पद र जीवनबाटै राजीनामा दिने बताएका हुन् ।
त्रिपाठीले दियोपोस्ट डटकमलाई दिएको प्रतिक्रिया जस्ताको तस्तै :
तपाईंले चलाउनुभएको दियोपोष्ट अनलाइनमा आएको समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । मैले पढेँ र मलाई असाध्यै दु : ख पनि लाग्यो । यो निराधार पनि छ, खेदपूर्ण छ । सामाजिक सञ्जालमा जसले जे पनि लेख्छ र त्यसैलाई आधार बनाएर एउटा स्थापित संचारमाध्यमले र पत्रकारले समाचार प्रकाशन गरेको प्रति मलाई दुख लागेको छ । नेपालमा प्रचलित कानुनको अवज्ञा गर्दै विभिन्न भ्रामात्मक कुराहरुलाई सामाजिक सञ्जालमा प्रकाशन गर्नु र अनुसन्धान नै नगरि त्यही कुरालाई मात्र आधार मानेर संवन्धित व्यक्तिलाई समेत नसोधिकन समाचार प्रकाशनमा आएको प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।
म यहाँहरुको संचारमाध्ययमलाई अनुरोध गर्दछु, यस्ता किसिमका क्रियाकलापहरु कसैले गरेको भएपनि त्यो छुट हुनु हुँदैन । यस्ता किसिमका क्रियाकलापमा संलग्नहरुलाई कारवाहीको दायरामा ल्याउनुपर्छ मात्र तपाईहरुको तरिका गलत भयो । हतार गर्नुभयो, तात्तिनु भयो । गहिराईमा पुग्ने कोशिस गर्नुभएन । म अनुरोध गर्छु यो विषयलाई छिटो भन्दा छिटो पुष्टि हुनेगरि अनुसन्धानको विषय बनाइयोस् । अनुसन्धान गर्नका लागि पत्रकार साथिहरु तथा संवन्धित निकायका सबैलाई अनुरोध गर्दछु । म चुनौती दिन चाहन्छु, यो समाचार पुष्टि भएको खण्डमा मैले धारण गरेको सार्वजनिक पदबाट मात्र होईन म आफ्नो जीवनको राजीनामा दिन सक्छु र चाहन्छु । अन्यथा यसलाई कसैको चरित्र हत्या गर्ने विषयमात्र बनाइयो भने त्यसबाट उत्पन्न हुने परिणाम भोग्नका लागि पनि सबै पक्षलाई तयार हुनको लागि पनि अनुरोध गर्दछु । सबैलाई चेतना भया ।