कोरियाली युद्ध अन्त्यको घोषणाको तयारी

diyopost.com
Diyo post  सोमबार, कार्तिक १२, २०७५ | १४:१८:३४

सोल, कात्तिक १२ । उत्तर र दक्षिण कोरियाबीच यसै वर्षको अन्त्यसम्ममा कोरिया युद्धको विधिवत समाप्तिको घोषणा गर्न तयारी शुरु भएको दक्षिण कोरियाले जनाएको छ ।

सन् १९५० देखि १९५३ सम्म कोरिया युद्ध भएको थियो । सो युद्धपछि एकीकृत कोरिया टुक्रिएर उत्तर र दक्षिण कोरिया बनेको थियो । दुई कोरियाबीच युद्धविराम गरिएको, तर औपचारिक रुपमा युद्ध समाप्त भएको घोषणा गरिएको थिएन ।

दक्षिण कोरियाको राष्ट्रिय एकीकरण मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार यी दुई कोरियालाई टुक्र्याएको उक्त युद्धको अन्त्य भएको घोषणा अहिलेसम्म नभएकाले यसै वर्षको अन्त्यतिर सो घोषणा गर्ने तयारी भएको छ ।

उत्तर र दक्षिण कोरियाबीच गएको वर्ष दिनदेखि सम्बन्धमा नाटकीय परिवर्तन आएको छ । यी दुई देशबीच उच्चस्तरीय राजनीतिक भ्रमण र भेटवार्ताहरु पनि भएका छन् ।

सोमबार दक्षिण कोरियाली राष्ट्रिय एकीकरण मन्त्री चो म्योङ गियोनले यहाँको संसदको बैठकमा दक्षिण कोरियाले कोरियाली युद्धको अन्त्यको घोषणा गर्ने तयारी गरिरहेको सोमबार जानकारी दिनुभएको हो ।

त्यस घोषणाको क्रममा दक्षिण कोरियाले उपलब्धि पनि हासिल गर्ने जानकारी दिनुभएको समाचारमा जनाइएको छ । गत अप्रिलमा सो युद्ध अन्त्यको घोषणा यसै वर्ष गर्ने विषयमा दुवै देशबीच सहमति भएको थियो ।

गत अप्रिलमा उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनबीच भएको भेटवार्ताका क्रममा यस विषयमा सहमति भएको बताइएको छ । (रासस/सिन्ह्वा)

सम्बन्धित खबर