काठमाडौँ, असोज १५ । सभामुख कृष्णबहादुर महरामाथि बलात्कार आरोप लगाउने महिला रोशनी शाहीले बुधबार मध्यरातमा विभिन्न स्ट्याटस लेख्दै रातभर सामाजिक सञ्जालमा क्रियाशिलता देखाइन् ।
अघिल्लो दिन आफूमाथि महराले बलात्कार गरेको भन्दै चस्मा र चोटपटक समेत देखाएर भिडियो बयान दिएकी रोशनीको युटर्न अवश्य पनि रहस्यमयी छ । उनको युटर्नको २४ घण्टामा नेपालको राजनीतिमा ऐतिहासिक घटना भयो–सभामुख कृष्ण बहादुर महराले व्यवस्थापिका संसद र सभामुख दुवै पदबाट राजिनामा दिए ।
राजिनामा दिएकै रात रोशनीले लेखेको स्ट्याटसमा केपी ओली निकट एक व्यक्तिमाथि निकै कटाक्ष गरेकी छिन् । रोशनीले पूर्व सभामुख समेत रहेका नेकपाका संसदीय दलका उपनेता सुभाषचन्द्र नेम्वाङकै योजनामा आफूले महरामाथि गम्भिर आरोप लगाएको खुलाशा गरेकी छिन् ।
मध्येरातमा लेखेको उनको स्ट्याटसमा नेम्वाङको तस्विर सहितको समाचार समेत शेयर गरिएको छ ।
‘मलाई भाइरल हुने कहिल्यै चासो भएन, महरा सरले न्याय पाउनुहुन्छ , उनले लेखेकी छिन्, ‘उहाँलाइ बदनाम गराउने उप देखि उपसम्म हुन् ।’
स्रोतका अनुसार उनले नेकपाका संसदीय दलका उपनेता समेत रहेका सुभाष नेम्वाङलाई तिर हानेकी थिइन् । संविधान सभाका सभामुख रहेका उनले दुई पटकसम्म संसदको नेतृत्व सम्हालिसकेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओली नेम्वाङलाई नै सभामुखमा ल्याउन चाहान्थे । तर, सभामुखको कोटा तत्कालिन माओवादी केन्द्रको भागमा परेपछि नेम्वाङलाई सभामुख बनाउने ओलीको चाहाना तुहिएको थियो ।
नेकपा भित्र पूर्व माओवादीको एउटा समुहले महराको ‘युवतीको कमजोरी’ माथि केपी ओली सहित अन्तर्राष्ट्रिय शक्तिले खेलेको विश्लेषण हुन थालेको छ ।
‘महराको यो कमजोरी नेपाल स्थित छिमेकी मुलुकका ‘माइक्रोम्यानेजमेन्ट’ गर्नेहरुलाई थाहा नहुने कुरा भएन,’ एक नेकपा नेता भन्छन्,‘महराको पुरानो सम्बन्धको यी युवतीलाई कुनै शक्ति केन्द्रकै बलमा प्रयोग गरिएको हो भन्ने हाम्रो बुझाई छ ।’
रोशनीले लेखेको अर्को स्ट्याटसमा पत्रकार अजयबाबु सिवाकोटीकै तस्विर राखेर रअको पत्रकार भनिएको छ । भारतीय गुप्तचर संस्था ‘रिसर्च एण्ड एनालाइसिस विङ’ले नेपालको आन्तरिक राजनीतिमा चलखेल गर्ने गरेको आरोप नौलो होइन ।
यसले पनि गम्भिर संकेत भने गरेको छ ।
फेसबुकमा उनको फोटोसहितको समाचार शेयर गर्दै उनले लेखेकी छिन्, यही चोर हो मेरो कोठा पत्ता लगाएर मलाई जबरजस्ती महराको बिरुद्धमा बोल्न बाध्य बनाउने ‘रअ’ पत्रकार’ ।’
रोशनीले बयान फेर्नु र रअदेखि पूर्व सभामुखसम्मको नाम लिनुले घटनालाई झनै रहस्यमयी बनाएको छ ।