बुढीगण्डकी मुआब्जाको लाखौँ रकम हत्याउन नेकपा सांसद खेम लोहोनीको यस्तो ‘तिकिडम’

दियो पोस्ट  

काठमाडौं, १६ असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य तथा धादिङ संघीय निर्बाचन क्षेत्र न २ बाट निर्वाचित सांसद खेम प्रसाद लोहनीले नै गलत तरिकाले बुढीगण्डकी जलविद्युत आयोजनाबाट मुअब्जा दाबी गर्दै निवेदन दर्ता गराएका छन् ।

आयोजनाले सडकको मुआब्जा दाबी गर्न सडक भएको जग्गामा घर हुनुपर्ने शर्त राखेपछि सांसद लोहनीले नेपाल सरकारको नाममा साबिक चैनपुर गा. बि. स. ३ घ मा रहेको सार्बजनिक जग्गामा बनेको घर गोठलाई नम्बरी जग्गाको लालपुर्जा पेश गर्दै उक्त जग्गामा नै घर गोठ रहेको भन्दै मुअब्जा दाबी गरेको पाइएको हो ।

आयोजनाले आबश्यक छानबिन गरि जनताको सडक बापतको मुअब्जा दशै अगाडि नै बितरण गर्ने बताएको थियो । दशैमा मुअब्जा रकम पाउने आशामा बसेका डुबान प्रभाबित जनताहरु त्यतिबेला निराश बने जब सांसद लोहनीले गलत तरिकाले मुअब्जा दाबी सहित अन्य जनतासंगै आफ्नो पनि मुअब्जा बैंकमा हाल्न दबाब दिए ।

आयोजना स्रोतका अनुसार सांसद लोहनीकै दबाबका कारणले जनताको समेत मुअब्जा रोकिएको छ । सांसद लोहनीको पुर्खौली घर सार्बजनिक जग्गामा बनेको भन्दै घर बनाएकै बेला समेत घर भत्काउन भन्दै साबिक चैनपुर गा.बि.स.का जनता भेला भएका थिए ।

तत्कालीन जिल्ला पन्चायत सदस्य समेत रहेका नेता लोहनीका पिता छन्दलाल लोहनीले शक्तिको प्रयोग गर्दै गौचरनको रुपमा रहेको सार्बजनिक २०० रोपनी जग्गा जबर्जस्ती नापेको र बिरोध गर्ने स्थानीयहरुलाइ लखेटेको जानकारहरु बताउँछन ।

हामीलाइ प्राप्त सुचना अनुसार साम्सद लोहनीको चैनपुर ३ घ मा रहेको कित्ता नम्बर २३६ मा घर गोठ रहेको छ ।

जिल्ला मालपोत कार्यालय धादिङमा लोहनीको नाममा श्रेस्ता कायम रहेको चैनपुर ३ घ कित्ता नम्बर ११२ मा मुल सडक छ ।

उक्त जग्गामा सडक मात्र रहेकोले आयोजनाले मुअब्जा नदिने भए पछि नेता लोहनीले चैनपुर ३ घकै कित्ता नम्बर २३६ मा रहेको घर गोठलाइ कित्ता नम्बर ११२ मा घर गोठ रहेको दाबी गर्दै सडक मुअब्जाको लागी निबेदन दिएका हुन् ।

लागी स्थानीय जनताका अनुसार नेता लोहनीको सक्क्ली जग्गा भित्र कुनै पनि संरचना छैन ।
स्रोतले बताए अनुसार उक्त जग्गालाइ मुअब्जा हाल्ने हो भने नेता लोहनीले लगभग २३ लाख रुपैयाँ पाउँछन् ।

यस अघि पनि नेता लोहनीले घोडा बाध्ने तबेलालाइ घर भन्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट २ लाख बुझेको स्थानीयहरु बताउछन । यस्तै एक बर्ष अघि पनि नेता लोहनीले डुबान भन्दा बाहिर रहेको जग्गाको समेत मुअब्जा बुझेका थिए ।

स्थानीयले चाल पाएपछि उनले राती नै आयोजनाको कार्यालय, सिउरिनीटार गोरखा पुगेर उक्त रकम फिर्ता गरेका थिए ।

आयोजना भन्छ–पेश गरिएको पुर्जा अनुसार नै मुआब्जा दिने हो
बुढिगण्डकी जलविद्युत आयोजनाले भने प्रभावित क्षेत्रका व्यक्तिले जस्तो पुर्जा पेश गरेको छ, त्यही पुर्जाको आधारमा मुआब्जा वितरण गरिएको जनाएको छ ।

कसैले माग दाबी गरेमा त्यसमा विचार गर्न सकिने आयोजनाका एक अधिकारीले दियोपोष्टलाई बताए ।

यस विषयमा सांसद लोहनीलाई पटक पटक सम्पर्क गर्ने प्रयास गरिएपनि उनले फोन उठाएनन् ।