पर्यटक उपचार गर्ने सिवेकसहित २ अस्पतालमा स्वास्थ्य मन्त्रालयको छापा !

दियो पोस्ट  

काठमाडौं, १६ असोज । पदयात्री पर्यटकको उपचार गर्ने राजधानीका तीन अस्पतालमा स्वास्थ्य मन्त्रालयको अनुगमन टोलीले ‘छापा मारेको’ छ ।
मन्त्रालयको गुणस्तर मापन तथा नियमन माहाशाखाले लैनचौरस्थित रहेको सिवेक अस्पताल, बल्खुस्थित रहेको बयोधा अस्पताल र सोह्रखुट्टे स्थित इरा हेल्थ सेन्टरमा छापा मारेको स्वास्थ्य मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
ती अस्पतालहरुबाट मन्त्रालयले केही कागजात समेत जफत गरेर लगेको उच्च स्रोतको दाबी छ ।
मन्त्रालय स्रोतका अनुसार अनुगमन टोलीले सिवेक हस्पिटल एण्ड ट्राभल मेडिसिन सेन्टरमा असाध्यै महँगो शुल्क लिएको पाइएपछि विभिन्न कागजात सहित रेट लिस्ट नै जफत गरेर लगेको छ ।
सिवेक अस्पतालमा हुने ठगीधन्दाबारेमा दियोपोस्टले यसअघि नै समाचार समेत प्रकाशन गरेको थियो ।
सिवेक अस्पतालको टेलिफोन नम्बर ०१–४४२४१११ मा सम्पर्क गर्दा फोन उठाउने व्यक्तिले स्वास्थ्य मन्त्रालयले अनुगमन गरेको स्विकार गरिन् । उनका अनुसार कागजात लगेको विषयमा भने केही जानकारी दिएको छैन ।
पदयात्री पर्यटक उद्दारका नाममा हुने ठगी धन्दाको विषयमा सरकारले विभिन्न अस्पताललाई छानबीन गरेको थियो ।
बल्खुस्थित बयोधा अस्पताललाई पनि हालको पर्यटक विरामीलाई लिएको शुल्क र रेट स्लिट पेश गर्न अनुगमन समितिले आदेश दिएको छ ।