दियोपोस्ट संवाददाता,
बाँके, १७ असोज । ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेका डिएसपी हेम बहादुर शाहीका घुमुवा सई नरेन्द्र शाहीले जुवाखालबाट करिब २ लाख ८० हजार रुपैयाँ लिएर ‘फरार’ भएका छन् ।
एक प्रत्यक्षदर्शीले दियोपोस्टलाई दिएको जानकारी अनुसार केही दिनअघि बाँकेको राप्ती सेनारी गाउँपालिका वाडा नम्बर ८ सम्सेरगन्जमा स्थानियहरु दशैंमा जुवा खेलिरहेको देखेपछि घुमुवा सई नेतृत्वको टोली जुवाखालमा पुगेको थियो ।
आफूलाई ‘सिंगम’ हुँ भन्दै हिँड्ने सई शाहीले स्थानीयहरु जुवा खेलिरहेको ठाउँमा पुगी कन्चटमा पेस्तोल देखाएर ‘पैसा लिएर’ गएको प्रत्यक्षदर्शीले दियोपोस्टलाई जानकारी दिए ।
‘सिंगम हुँ भन्दै सबैको पकेटबाट झार झूर पारेर २ लाख ८० हजार रुपैयाँ लिएर गएको हो,’ ती प्रत्यक्षदर्शीले भने,‘जुवा खेल्ने मान्छेलाई त मुद्दा चलाएर कारबाही गर्नुपर्ने हो । तर पैसा मात्रै लिएर गए । पैसा मात्र लानु भनेको त लुटेरा स्टाइल भएन र ! उसले पैसा लाने बेला भनिस् भने तिमीहरुलाई उडाइदिन्छु भनेर धम्की दियो । बर्दी लगाएको गुण्डा भन्दा बढी भयो ।’
यस विषयमा प्रहरी हेडक्वाटर समेत जानकार रहेको बताइएको छ । यद्धपी ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी हेम बहादुर शाहीले भने घटनाबारे थाहा नभएको बताए ।
‘मलाई केही पनि जानकारी छैन । हामी जुवाडेलाई लखेट्ने अभियानमा छौँ । यो कुरा कसरी आईरहेको छ । मलाई थाहा छैन,’ डिएसपी शाहीले भने,‘केटाहरुले अहिलेसम्म त्यस्तो रिपोर्टिङ गरेको छैन । यो बारेमा मलाई एक दुई ठाउँबाट जानकारी आइरहेको छ । जुवाडेलाई लखेटेको होला । यदि पैसा लिएर गएको सत्यता रहेछ भने भेरिफाइ गरौँ । सत्यथा छ भने कारबाही प्रक्रियामा जान्छौँ । जुवाडेबाट भ्रामक प्रचार पनि हुनसक्छ ।’
सई भन्छन्,‘म पेस्तोल नै बोक्दिनँ’
दियोपोस्टको सम्पर्कमा आएका ईलाका प्रहरी कार्यालय कोहलपुरका सई नरेन्द्र शाहीले आफूमाथि हुँदै नभएको झूटो आरोप लगाएको बताए ।
‘यो सरासर गलत आरोप हो । म पेस्तोल नै बोक्दिनँ । म कोहीबाट असुरक्षित पनि छैन,’ उनले भने,‘जुवा खाल चलाउने घरका व्यक्तिलाई सम्झाइदिएको हुँ । जुवा भनेको सामाजिक अपराध हो । हामीले नियन्त्रण गर्नुपर्छ ।’
यद्धपी आफू जुवा खालमा भने पुगेको सइ शाहीले स्विकार गरे ।
‘हामी राती १२ बजे तिर त्यहाँ पुगेका थियौँ । कोवलपुरभरी हामीले हेरेका
थियौँ । टेकबहादुरको घरमा हो । खासै जुवा सुवा भन्ने देखेनौँ,’ सई नरेन्द्र शाहीले भने,‘सुचना दिने मान्छेले के तरिकाले भन्यो । मैले पैसा लिएर गएको गलत हो । जुवाका मान्छे प्रति म स्ट्रोङ भएर लागेको छु । कहीँ पनि जुवा नहोस् भन्ने उद्देश्यले लागेको छु । मेरो केटाहरुले रुखमा बसेर पनि निगरानी गरिरहेको छ ।’