दियोपोस्ट संवाददाता
धादिङ, २९ असोज । निलकण्ठ नगरपालिका र खानेपानी तथा सरसफाई डिभिजन कार्यालय धादिङको चरम लापरबाहीका कारण धादिङवेशीका सर्वसाधरण फोहोर पानी पिउन बाध्य छन् ।
जिल्ला सदरमुकाम धादिङवेशीका सर्वसाधरणले पिउने पानीमै कोलिफर्म नामक किटाणु समेत भेटिएको स्थानियबासी बताउँछन् ।
जिल्ला सदरमुकाममा आउने खानेपानीको ढलमा फोहोरको डंगुरनै थुप्रीएको भएता पनि जिल्ला स्थित खानेपानी सरसफाई डिभिजन कार्यालय र निलकण्ठ नगरपालिका देखेनदेखे जस्तो गरी बसिरहेको छ ।
खानेपानीमा कोलिफर्म भेटिएपछि कुनै समय महामारीको रुप लिनसक्ने आशंका स्थानियबासीले गरेका छन् । जिल्ला स्थित धादिङवेशी खानेपानी मूल उपभोक्ता समिति समेत जिल्ला स्थित रहेको खानेपानी ढलमा फोहोरको डंगुर हुँदा समेत कानमा तेल हालेर सुतेको नाटक गरिरहेको छ ।
सम्बन्धित निकायहरु मौन बसिदिँदा जिल्ला अस्पतालबाट निस्केकै फोहोरले समेत खानेपानीमा चरम प्रदुषण भइरहेको छ ।
‘यो खानेपानीका कारण कुनदिन धादिङवेशीका बासिन्दालाई हैँजा र झाडा पखालाले सताउने हो थाहा छैन,’ दियोपोस्टको सम्पर्कमा आएका धादिङवेशी बजारका बासिन्दा भन्छन्,‘नगरपालिका र जिल्ला खानेपानीको लापरबाहीको सजाय जनताले भोग्न पर्ने भो ।’
फोहोरको व्यवस्थापन नहुँदा शौचालयको ढलको फोहोर समेत खानेपानी पाइपमै पुगेको प्रत्यक्षदेख्न सकिन्छ ।
धादिङवेशी बजारका बासिन्दालाई खानेपानी व्यस्थापन गर्नका लागि निलकण्ठ नगरपालिका ३ ईजारामा २ लाख लिटरको हातेट्याङकी निर्माण गरिएको भएपनि बजारका अधिकांश बासिन्दा जार र किनेको पानी पिउन बाध्य छन् ।
मुहान सरसफाई नहुनु,तारबार नहुनु, ढलमा नै खुल्ला रुपमा पोलेथिन पाईप राखेर खानेपानी वितरण गरेकोले पनि पानी नै प्रदुषित हुन पुगेको स्थानियहरु बताउँछन् ।
त्यतिमात्रै होइन जिल्ला स्थित सरकारी कार्यालय र सर्वसाधरणको घरबाट निस्कने सबै फोहोरको डंगुर नजिकैको थोपल खोलामा थुप्रीएको छ । फोहोर कै कारण थोपल खोला धादिङको बागमति नदि जस्तो बनिसकेको छ ।
निलकण्ठ चार मुलडीमा रहेको मुहानमा समेत उचित सरसफाई छैन । तर खानेपानीको ट्याङ्की उद्घाटन गर्दा भने मेयर भिम प्रसाद ढुङ्गानाले धादिङवासीलाई निकै आश्वासन दिएका थिए ।
मेयरको ५० करोडको ‘गफ’ !
धादिङवेशी सहितका बासिन्दाको मत पाएर मेयरमा निर्वाचित भएका नेपाली कांग्रेसका नेता भीम प्रसाद ढुङ्गानाले खानेपानी ट्यांकी उद्घाटनका क्रममा लामो भाषण गरेका थिए ।
‘अब मेरो काम के हो ? उपभोक्ता समितिसँग पैसा छैन भने पैसा माग्न आउनुस् पैसाको व्यवस्था म गरिदिन्छु । पैसा चाहियो भने आउनुस् । होइन भने सदरमुकाम र निलकण्ठ नगरपालिकामा बस्ने कसैले पनि पानी खान पाइन भनेर गुनासो नआओस्,’ मेयर ढुङ्गानाले केही वर्षअघि भनेका थिए,‘पैसा म्यानेज गर्ने काम नगरप्रमुखको हो । चोरेर ल्याउँ, डकैती गरेर ल्याउँ, तपाईंहरुलाई पैसा दिलाउने काम म गर्छु । पानीको विषयमा यो भन्दा बढी भनिरहनु उपयुक्त हुँदैन ।’
मेयर ढुङ्गानाले ढलको आवश्यता रहेको र डिपिआर समेत तयार रहेको बताएका थिए ।
‘हामीले निलो पानी बग्न दिनसक्नुपर्छ । ढलको निमित्त ५० लाख छुट्याएको छु । डिआर भनेको नबुझ्नुहोला डिटेल प्रोजेक्ट रिपोर्ट । ५० करोड भन्दा बढीको आएको छ । पुरै धादिङवेशीलाई एक ठाउँमा लगेर रिसाइकलिङ गर्ने होइन ? थोपल खोलामा नमिसाइ ढल बगाउने भन्ने भएको छ,’ उनको गफ थियो,‘अहिले टोकन मनीको रुपमा २६ लाख रुपैयाँ दिएको छुु ।’
मेयरको पुरानो भाषण सम्झदै जिल्लाकै एक बासिन्दा व्यंग्य गर्छन्,‘दुर्गन्धित पानीमा फोहोरको डंगुर, मेयरको उपहार भएको छ’ ।