ट्रेकिङ कम्पनीको लापरवाहीका कारण धादिङमा अस्ट्रियन पर्यटकको मृत्यु !

दियो पोस्ट  

धादिङ, कात्तिक ३ । ट्रेकिङ कम्पनीको चरम लापरवाहीको कारण अस्ट्रियाका एक नागरिकको धादिङमा मृत्यु भएको छ । ट्रेकिङका लागि धादिङको रुविभ्याली गाउँपालिका पुगेका ६७ बर्षीय अस्ट्रियन नागरिक वीङ्गर विलियम नाम गरेको व्यक्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।

काठमाडौँस्थित हाइ कन्ट्री ट्रेकिङ प्रालिमार्फत ट्रेकिङका लागि धादिङ पुगेका विलियमलाई समयमै ट्रेकिङ कम्पनीले उद्धार नगर्दा उनको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यलय धादिङका अनुसार आइतबार विहान ८ः२० बजे उनको मृत्यु भएको थियो । विदेशी नागरिकको मृत्यु भएको सुचना पाएपछि जिल्ला प्रहरी कार्यलय धादिङले काठमाडौँदेखि अल्टिच्युड एयरको हेलिकप्टर मगाएको थियो । करिब १ बजेतिर धादिङबाट प्रहरी प्रमुख राजकुमार वैदवारसहितको टोली रुविभ्याली गाउँपालिका–१ सोम्ताङ पुगेर उनको उद्धार गरेको थियो । उद्धारपछि उनको शव परिक्षणका लागि काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल ल्याइएको छ ।

अस्ट्रियन नागरिक विलहेल्मसहितको समुह ट्रेकिङ रुविभ्यालीदेखि गोरखासम्म ट्रेकिङ गर्न लागेका थिए । उनीसंग अर्की एकजना महिला साथि पनि संगै थिइन् । बाटोमा उनले थोरै बियर र केही स्न्याक्स सेवन गरेको सोही समुहका अन्य सदस्यबाट पत्ता लागेको धादिङ प्रहरी प्रमुख वैदवारले दियोपोस्टसँग बताए ।

केही उकालो लागेपछि अकास्मात उनको नाकबाट रगत बगेको र उनि त्यही ढलेका थिए । उनलाई सामान्य प्राथमिक उपचार गरिएको भएपनि केही समयपछि उनको मृत्यु भएको प्रहरीको दाबी छ । घटना शनिबार साँझ ७ः ३० बजेतिरको रहेको प्रहरीको भनाई छ ।

यता पर्यटन व्यवसायी कम्पनी हाई कन्ट्री ट्रेकिङ प्रालि भने आफुमार्फत गएको पर्यटकको स्थितिको बारेमा अनभिज्ञ बनेको पाइएको छ । कम्पनीमार्फत गएको पर्यटकको स्वास्थ्य अवस्था खराब भएपछि कम्पनीले रेस्क्युको लागि तत्काल हेलिकप्टरलाई घटनास्थल लैजानु पर्ने भएता पनि कम्पनिले बेवास्ता गरेका कारण पर्यटकको निधन भएपछि मात्रै शव उठाइएको पाइएको छ ।

शनिबार साँझ ७ः३० मा बिरामी परेका पर्यटकलाई आइतबार दिउँसो मात्रै मृत अवस्थामा उद्धार गरिएको हो । उद्धारका लागि समेत पर्यटन व्यवसायी कम्पनी तदारुकता नदेखाएपछि जिल्ला प्रहरी कार्यलय धादिङले काठमाडौँबाट हेलिकप्टर मगाएको हो ।


विमा कम्पनि मार्फत ट्रेकिङ कम्पनिहरुले पर्यटकलाई आपतकालिन उद्दारका लागि हेलिकोप्टर तथा अस्पताललाई खबर गर्न सक्छन् । विलियमलाई ट्रेकिङ पठाउने कम्पनि हाई कन्ट्रि ट्रेकिङ प्रा.लीका मिङमा शेर्पा पासाङ भनिने छिरिङले घटनाबारे बोल्न चाहेनन् ।
उनले कम्पनिको मालिकको विषयमा समेत बताउन नचाहेपछि ती विदेशी नागरिकको मृत्यु झनै रहस्यमयी बनेको छ ।
यद्धपी दियोपोस्टको सम्पर्कमा आएका कम्पनिका मालिक आङरिता शेर्पाले पर्यटकसँगै गाइड पनि रहेको बताए । टेन्ट भित्र सुतिरहेका विलियमलाई केही बेर स्वास्थ्य समस्या भएको र ५ मिनेटमै निधन भएकाले उद्दार गर्न नपाएको शेर्पाले बताए ।

शेर्पाले आफूहरुले नै हेलिकोप्टर चार्टर गरेर धादिङका एसपी वैदवार र एक हवल्दारलाई घटनस्थल पुर्याएको बताए ।

सम्बन्धित खबर