‘फेक रेस्क्यु’ फेरी बढ्यो, लुक्ला क्षेत्रमा दैनिक ३ सय हेलिकोप्टर फ्लाइट !

‘फेक रेस्क्यु’ फेरी बढ्यो, लुक्ला क्षेत्रमा दैनिक ३ सय हेलिकोप्टर फ्लाइट !

फाइल फोटो

काठमाडौं, ५ कार्तिक । पर्यटक सिजन शुरु भएसँगै फर्जी उद्दार पनि बढ्न थालेको छ ।
नेपाल घुम्न आउने विदेशी पदयात्री पर्यटकलाई विरामी बनाई फर्जी उद्दार बढेको पाइएको छ ।
हिमाल अरोहणका लागि पुगेका पदयात्री पर्यटकलाई ‘हाई अल्टिच्युड’ पुगेपछि लेक लाग्ने र लेक लागेका विरामीलाई डर र त्रास देखाएर हेलिकोप्टर चार्टर गरी रेस्क्यु गर्ने गरिएको छ ।


सोलुखुम्बुको लुक्ला क्षेत्रबाट दियोपोस्टलाई प्राप्त सुचना अनुसार केही दिनअघि देखि दैनिक सयौँको संख्यामा रेस्क्यु भएका छन् ।


सगरमाथाको खम्बु क्षेत्रमा अधिकांश हेलिकोप्टरहरुको लाइन लागेको सो क्षेत्रबाट एक प्रत्यक्षदर्शीले बताए ।


लुक्ला क्षेत्रबाट विशेष स्रोतबाट आएको सुचना अनुसार मंगलबार मात्रै ४० भन्दा बढी रेस्क्यु भएको छ । अधिकांश रेस्कयु फर्जी भएको समेत स्रोतले जानकारी दियो ।

लुक्ला विमानस्थलका ‘एयर ट्राफिक कन्ट्रोलका प्रमुख इमानाथ अधिकारीका अनुसार सोमबार मात्रै ३ सय भन्दा बढी हेलिकोप्टर फ्लाइट भएका छन् । यता हवाइ जहाज मार्फतको फ्लाइट पनि अत्याधिक बढेको उनले बताए । उनका अनुसार सोमबार ६१ फ्लाइट भएको थियो । जो लुक्ला विमानस्थलको इतिहासकै धेरै हो ।


मंगलबार विहानदेखि यो समाचार प्रकाशन हुँदासम्म ३७ भन्दा बढी हवाई उडान भइसकेको छ । आज मंगलबार विहानदेखि अहिलेसम्म १ सयभन्दा बढी हेलिकोप्टर फ्लाइट भएको समेत उनले जानकारी दिए । यद्धपी रेस्क्यु नै भएको विषयमा भने आफूलाई जानकारी नहुने अधिकारीले बताए ।


स्रोतका अनुसार हेलिकोप्टरबाट ल्याइएका विरामीका कारण राजधानीको इरा हेल्थ सेन्टर, बयोधा अस्पताल, मेडिसिटि अस्पताल, सिवेक क्लिनिकमा विरामीको चाप बढेको छ ।


‘फर्जी उद्दार फेरी पुरानै ठाउँमा पुग्यो,’ लुक्ला विमानस्थलबाट एक अधिकारी भन्दै थिए,‘सरकारले भ्रमण वर्ष २०२० सफल पार्नका लागि पर्यटन मन्त्रालयले जारी गरेको पर्यटक खोज, उद्धार, उपचार तथा अनुगमन सम्बन्धी कार्यविधि, २०७५ पूर्ण रुपमा पालना हुनुपर्छ ।’


फेक रेस्क्यु बढेपछि पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायको नेतृत्वमा उच्चस्तरिय कार्यदल गठन गरिएको थियो । उनी नेतृत्वको कार्यदलले केही कम्पनिलाई कारबाही सिफारिस गरिएको भएतापनि हालसम्म कुनै कारबाही भने हुनसकेको छैन ।


कार्याविधिले नेपाल भ्रमणमा आउने पर्यटक हिमाल चढ्ने क्रममा वा पदयात्राका क्रममा विरामी भए सम्बन्धित ट्रेकिङ कम्पनिले हेलिकोप्टर कम्पनि, पर्यटक प्रहरी, पर्यटन विभाग र गृहमन्त्रालयलाई जानकारी दिएर मात्रै हेलिकोप्टरमा उद्दार गर्न जानुपर्ने व्यवस्था गरेको छ ।

कार्याविधिले हेलिकोप्टर चार्टर कम्पनिहरु नै खारेज गरेको भएतापनि यतिबेला खुलमखुल्ला केही चार्टर कम्पनिले पर्यटकको उद्दार गर्ने र ट्रेकिङ मार्फत लागत भन्दा धेरै शुल्क दाबी गरेर विमा कम्पनिलाई बिल पठाउने गरेको तथ्य दियोपोस्टले यसअघि नै खुलाशा गरिसकेको छ ।

Trending News