काठमाडौं, ६ कार्तिक । घरजग्गा व्यवसायी सुधीर बस्नेतले शंखमूलमा निर्माण गरेको बागमति अपार्टमेन्टमा ठगी धन्दा चलाउने रोशन साहलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको छ ।
बस्नेतले ४ रोपनी २ आना जग्गामा ८० करोड रुपैयाँको लागतमा निर्माण सुरु गरेको अपार्टमेन्टमा साहले ठगी गरेको पाइएपछि पीडितहरुले उजुरी गरेका थिए । जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेपनि साहले महानगरीय प्रहरी अपराध महासाखामा केही दिनअघि बैंक अफ काठमाडौंका लागि रु ७ करोडको चेक दिएर उम्कन खोजेका थिए । तर, पीडितहरुले चेक बुझ्न नमानेपछि बुधबार पुन प्रहरी कार्यालयमा बोलाइएको हो ।
करोडौं मुल्य पर्ने बा ११ च २१२ नम्बरको हाइलक्स गाडी चढेर प्रहरी माहासाखा पुगेका साहलाई प्रहरीले हिरासतमा राखेको छ ।
‘पीडितसँगको छलफलमा करा मिलेन । उहाँलाई कानुन अनुसार कारबाही गर्नका लागि अहिले प्रहरी हिरासतमा राखिएको छ,’ महानगरीय प्रहरी अपराध अनुसन्धान माहाशाखा टेकुका प्रवक्ता तथा प्रहरी उपरिक्षक (एसपी) केदार ढकालले दियोपोस्टसँग भने,‘अब त्यो चेकको कुनै औचित्य रहेन । कानुन अनुसार कारबाही अघि बढ्छ ।’
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठको आडमा कब्जा गरी विभिन्न व्यक्तिलाई बिक्री गरेर फ्ल्याट पास गरेर नदिएपछि रकम बुझाउने पीडितहरुले महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी गरेका थिए । सोही उजुरीपछि प्रहरीले साहलाई गत विहिबार पक्राउ गरेको थियो । तर, महानगरीय प्रहरी अपराध महासाखामा पुगेकी श्रेष्ठकी स्वकिय सचिव सुशान कर्माचार्यले प्रहरीलाई दबाव दिएर सुटुक्क छुटाएर लगेकी थिइन् ।

सुधीर बस्नेतलाई अप्ठ्यारो परेको मौका छोपी रोशन साह २०६९ मंसिर ११ गते मोहन केसी र शिवदास मानन्धरको माध्यमबाट बागमती अपार्टमेन्ट प्रवेश गरेका थिए । अपार्टमेन्टमा छिरेपछि साहले नेकपाका प्रवक्ता श्रेष्ठलाई सित्तैमा अफिस चलाउन फ्ल्याट दिएको र त्यसको सञ्चालन सुशान कर्माचार्यले गर्ने गरेको पाइएको थियो ।
कर्माचार्य बुधबार दिनभर नै प्रहरी माहाशाखा टेकुमा क्रियाशिल थिइन् । सुशान कमाचार्य समलग्न रहेको भिडियो केही बेरमा प्रशारण गर्नेछौँ ।
प्रवक्ता श्रेष्ठकै आडमा साहले १६ वटा अपार्टमेन्ट बिक्री गरेका थिए ।
प्रवक्ता श्रेष्ठको आडमा अपार्टमेन्ट कब्जा गरेर बसे पनि साहले रकम लिएका व्यक्तिहरुलाई अपार्टमेन्ट पास गरेर दिनसकेका थिएनन् । रकम बुझाउने व्यक्तिहरुले अपार्टमेन्ट पास गरिदिन दबाब दिँदै गएपछि साहले झूट बोलेका थिए । आफूले मात्रै उनीहरुको दबाब थेग्न नसकेपछि सित्तैमा अपार्टमेन्ट लिएर हालीमुहाली गर्दै आएकी सुशान कर्माचार्यलाई भन्न लगाएर पनि साहले पीडित बुकिङकर्ताको ऊँचो स्वर दबाउने काम गरेका थिए । एक हदसम्म उनीहरु चुप लागे पनि सधैँका लागि मुख थुन्न सकिने अवस्था रहेन । फेरि उनीहरुको दबाब बढेपछि साहले प्रवक्ता श्रेष्ठलाई गुहारेर अपार्टमेन्ट लिलाम गर्न लगाउने प्रपञ्च तयार पारेका थिए ।
उक्त अपार्टमेन्ट बनाउन बस्नेतले बैंक अफ काठमाण्डुबाट दश करोड कर्जा लिएका थिए । अहिले त्यसको साढे आठ करोड कर्जा तिर्न बाँकी रहेको छ । बैंकसँगको मिलेमतोमा अदालत बन्द रहने समय पारेर असोज १६ गते लिलाम गर्ने सूचना निकालियो । त्यतिबेला अदालत बन्द थियो । अदालत २२ गते अदालत बन्द हुने हुँदा त्यति बेलासम्म अदातल बन्द रहने भएकाले बागमती अपार्टमेन्ट पूर्ण रुपमा कब्जा गर्न सकिने र रकम लिएका १६ जनालाई पनि फ्ल्याट नामसारी गर्न सकिने उपाय निकालेका थिए । तर असोज १० गते अन्तिमतिर आदेश जारी भएको थियो ।
बागमती अपार्टमेन्ट उपभोक्ता समितिका अध्यक्ष जनक रिजालले ठगीको मुद्दा दिएका थिए । काठमाडौं जिल्ला अदालतले गत असोज १० गते शुक्रबार पक्राउ पुर्जी जारी भएको थियो । त्यसपछि अदालत बन्द भएकाले दशैँपछि पक्राउ गर्ने सहमति भएको थियो र सोही पक्राउ पुर्जीको आधारमा प्रहरीले बिहीबार साहलाई पक्राउ गरेको थियो । तर उनी पक्राउ परेलगत्तैदेखि सातौँ तलाको ८ नम्बर फ्ल्याट निःशुल्क रुपमा लिएकी सुशान कर्माचार्यले महाशाखा पुगेर प्रहरीलाई दबाब दिएकी थिइन् । सुशानकै दबावमा प्रहरीले साहलाई छाडेको थियो ।