अपार्टमेन्ट ठगी अभियुक्त छुटाउन नारायणकाजी श्रेष्ठका पिए दिनभर अपराध महासाखामा ! (भिडियोसहित)

अपार्टमेन्ट ठगी अभियुक्त छुटाउन नारायणकाजी श्रेष्ठका पिए दिनभर अपराध महासाखामा ! (भिडियोसहित)

काठमाडौं, ६ कार्तिक । घरजग्गा व्यवसायी सुधीर बस्नेतले शंखमूलमा निर्माण गरेको बागमति अपार्टमेन्टमा ठगी धन्दा चलाउने रोशन साहलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको छ । तर, ठगीका अभियुक्त साहलाई जोगाउन एक जना भिआइपी नेताका पिए दिनभर महानगरीय प्रहरी अपराध महासाखामा ‘धर्ना कसेर’ बसेको पाइएको छ ।


पूर्व उपप्रधानमन्त्री समेत रहेका नेकपाका बरिष्ठ नेता तथा प्रवक्ता नारायणकाजी श्रेष्ठको पिए सुशान कर्माचार्य मंगलबार दिनभर जस्तो महानगरीय प्रहरी अपराध महासाखाका प्रमुख एसएसपी सहकुल बहादुर थापाको कार्यकक्षमा थिइन् । उनले ठगीका अभियुक्त साहको पक्षमा वकालत गरेको अपार्टमेन्टबाट पीडित बनेकाहरुले दियोपोस्टलाई जानकारी दिए ।


कर्माचार्यले दिनभर अपराध महासाखामा बसेर पीडितलाई थप पीडा हुने गरी पिडक रोशन साहको पक्षमा वकालत गरेको उनीहरुले बताए ।


ठगिका अभियुक्त साहले श्रेष्ठको सचिवालयका लागि समेत उपहार स्वरुप एउटा फ्ल्याट निशुल्क उपलब्ध गराएका कारण सुशान उक्त स्थानमा पुगेको बताइएको छ ।


दियोपोस्टले बुधबार सुशान अपराध महासाखामा पुगेको भिडियो नै फेला पारेको छ ।


भिडियोमा सुशान अपराध महाशाखा स्थित बरिष्ठ प्रहरी उपरिक्षक सहकुल थापाको कार्यकक्ष भित्र र बाहिर गरिरहेकी छिन् । केहीबेर थापाको कार्यकक्षमा सुशान र पीडितहरुबीच वार्ता भएपछि मात्रै प्रहरीले ठगी अभियुक्त साहलाई महासाखामा बोलाएको थियो ।


अपराध महासाखाका सुचना अधिकारी एसपी केदार ढकाललाई सुशान कमाचार्य किन आउनु भएको भन्ने प्रश्न गर्दा आफूले सुशानलाई नदेखेको झूटो जानकारी दिए ।


उनले पीडितहरु धेरै आएकाले आफूले नचिनेको बताए । तर, प्रहरीले अधिकांश पीडितलाई बाहिर राखेर सुशान कर्माचार्य र जनक रिजाल सहितको पीडितसँग छुट्टै वार्ता गरेको थियो ।
बगमती अपार्टमेन्टकै एउटा फ्ल्याट किनेका ढकालले सुशानलाई आफूले नचिनेको बताएपछि पीडितहरु नै छक्क परेका छन् ।


‘उहाँले पनि नाटक गर्नु भएछ । हामीसँगै हुँदा सुशानले ढकाललाई थर्काएकी थिइन् । तर, मिडियालाई चिन्दिनँ भनेर भनेछन्,’ वार्तामा सहभागी एक पीडितले भने,‘ढकाल मात्रै होइन सुशानको एसएसपी सहकुल थापासँग पनि राम्रो हिमचिम रहेछ ।’


घरजग्गा व्यावसायी सुधीर बस्नेतले राजधानीको शंखमुलमा ४ रोपनी २ आना जग्गामा ८० करोड रुपैयाँको लागतमा निर्माण सुरु गरेको बागमती अपार्टमेन्टमा साहले ठगी गरेको पाइएपछि पीडितहरुले उजुरी गरेका थिए ।

उजुरीपछि जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेपनि साहले महानगरीय प्रहरी अपराध महासाखामा केही दिनअघि बैंक अफ काठमाडौंका लागि रु ७ करोडको चेक दिएर भागेका थिए । तर, पीडितहरुले चेक बुझ्न नमानेपछि बुधबार पुन प्रहरी कार्यालयमा बोलाइएको हो ।


‘पीडितसँगको छलफलमा करा मिलेन । उहाँलाई कानुन अनुसार कारबाही गर्नका लागि अहिले प्रहरी हिरासतमा राखिएको छ,’ महानगरीय प्रहरी अपराध अनुसन्धान माहाशाखा टेकुका प्रवक्ता तथा प्रहरी उपरिक्षक (एसपी) केदार ढकालले दियोपोस्टसँग भने,‘अब त्यो चेकको कुनै औचित्य रहेन । कानुन अनुसार कारबाही अघि बढ्छ ।’

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठको आडमा कब्जा गरी विभिन्न व्यक्तिलाई बिक्री गरेर फ्ल्याट पास गरेर नदिएपछि रकम बुझाउने पीडितहरुले महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी गरेका थिए । सोही उजुरीपछि प्रहरीले साहलाई गत विहिबार पक्राउ गरेको थियो

। तर, महानगरीय प्रहरी अपराध महासाखामा पुगेकी श्रेष्ठकी स्वकिय सचिव सुशान कर्माचार्यले प्रहरीलाई दबाव दिएर सुटुक्क छुटाएर लगेकी थिइन् । यसपटक भने पीडितहरुले आफूलाई न्याय नभएसम्म नछाड्ने बताएपछि रोशन साह यतिबेला प्रहरी हिरासतमा छन् । बुधबार साँझ अबेलासम्म सुशान कर्माचार्य नारायणकाजी श्रेष्ठको पावर लगाउँदै पीडितहरुलाई प्रहरीकै अगाडी थर्काउँदै थिइन् ।

भिडियो हेर्नुहोस्


साहलाई बचाउका लागि प्रहरी कार्यालयमा दिनभर श्रेष्ठकी सुशान कर्माचार्यको धर्ना कसेको भिडियो नै प्राप्त भएपछि नारायणकाजी श्रेष्ठको कनेक्सन पुष्टि भएको छ ।


प्रवक्ता श्रेष्ठको आडमा अपार्टमेन्ट कब्जा गरेर बसे पनि साहले रकम लिएका व्यक्तिहरुलाई अपार्टमेन्ट पास गरेर दिनसकेका थिएनन् । रकम बुझाउने व्यक्तिहरुले अपार्टमेन्ट पास गरिदिन दबाब दिँदै गएपछि साहले झूट बोलेका थिए । आफूले मात्रै उनीहरुको दबाब थेग्न नसकेपछि सित्तैमा अपार्टमेन्ट लिएर हालीमुहाली गर्दै आएकी सुशान कर्माचार्यलाई भन्न लगाएर पनि साहले पीडित बुकिङकर्ताको ऊँचो स्वर दबाउने काम गरेका थिए । एक हदसम्म उनीहरु चुप लागे पनि सधैँका लागि मुख थुन्न सकिने अवस्था रहेन । फेरि उनीहरुको दबाब बढेपछि साहले प्रवक्ता श्रेष्ठलाई गुहारेर अपार्टमेन्ट लिलाम गर्न लगाउने प्रपञ्च तयार पारेका थिए ।

उक्त अपार्टमेन्ट बनाउन बस्नेतले बैंक अफ काठमाण्डुबाट दश करोड कर्जा लिएका थिए । अहिले त्यसको साढे आठ करोड कर्जा तिर्न बाँकी रहेको छ । बैंकसँगको मिलेमतोमा अदालत बन्द रहने समय पारेर असोज १६ गते लिलाम गर्ने सूचना निकालियो । त्यतिबेला अदालत बन्द थियो । अदालत २२ गते अदालत बन्द हुने हुँदा त्यति बेलासम्म अदातल बन्द रहने भएकाले बागमती अपार्टमेन्ट पूर्ण रुपमा कब्जा गर्न सकिने र रकम लिएका १६ जनालाई पनि फ्ल्याट नामसारी गर्न सकिने उपाय निकालेका थिए । तर असोज १० गते अन्तिमतिर आदेश जारी भएको थियो ।

बागमती अपार्टमेन्ट उपभोक्ता समितिका अध्यक्ष जनक रिजालले ठगीको मुद्दा दिएका थिए । काठमाडौं जिल्ला अदालतले गत असोज १० गते शुक्रबार पक्राउ पुर्जी जारी भएको थियो ।

त्यसपछि अदालत बन्द भएकाले दशैँपछि पक्राउ गर्ने सहमति भएको थियो र सोही पक्राउ पुर्जीको आधारमा प्रहरीले बिहीबार साहलाई पक्राउ गरेको थियो । तर उनी पक्राउ परेलगत्तैदेखि सातौँ तलाको ८ नम्बर फ्ल्याट निःशुल्क रुपमा लिएकी सुशान कर्माचार्यले महाशाखा पुगेर प्रहरीलाई दबाब दिएकी थिइन् । सुशानकै दबावमा प्रहरीले साहलाई छाडेको थियो ।

साहले प्रवक्ता श्रेष्ठको आडमा सुधीर बस्नेतको बागमती अपार्टमेन्टका १६ वटा अपार्टमेन्ट बिक्री गरेका छन् । तीमध्ये ७ तलाको ८ नं. अपार्टमेन्ट सुशान कर्माचार्यलाई सित्तैमा दिइएको छ । तर सरोज खनाल, सारदा पाण्डे, दुर्गादेवी दुलाल, अनिश साह, राजेश्वरी खनाल, कुरवीन्दर कौर लम्सला, सुरेश भक्त श्रेष्ठ, जुनकला श्रेष्ठ, श्रृजना काफ्ले, रञ्जन अधिकारी, मञ्जु ज्ञवाली, नवीनराज भण्डारी, मञ्जुराज भण्डारी, उत्तम पराजुली र पूजा शाहीबाट जनही २० लाख रुपैयाँ बैना लिइएको छ ।

प्रहरी पक्राउ परेका अभियुक्त साहलाई ठगी मुद्दामा अनुसन्धान गरी मुद्दा चलाउने तयारी गरेको छ ।

Trending News