यौन व्यावसायीको संघर्ष कथा : ‘..अनि रत्नपार्कमा मेरो शरिरको मोलतोल शुरु भयो’

diyopost.com
यशु सापाकोटा
  बुधबार, आश्विन २७, २०७८ | ७:२८:३४

आँखामा गाजल । ओठमा रातो लिपिस्टिक । अनुहारमा पोतिएको अस्वाभाविक क्रिम । कानमा नक्कली झुम्का । छोटो तर स्ट्रेट गरेकोे कपाल । गुलावी रंगको कुर्था सलवार र हातमा सानो पर्स । उनलाई चिनाउने यिनै चिनारी काफी छन् । तर, समाजले भिराइदिएका अनेकौँ नाम छन् उनका, ‘तेस्रो लिङ्गी, हिजडा, छक्का, किन्नर’, आदि–इत्यादी । उनी हुन सिराहाकी रमा केसी (नाम परिवर्तन) ।

उनी रत्नपार्कस्थित बाटो छेउमा उभिएको रुखमा अडेस लगाँउदै यात्रीलाई इशारा गरेर आफ्नो मुल्य तोक्छिन् र त्यही मुल्यमा आफ्नो भबिष्य खोज्छिन् ।उनका पनि आम मानिसका जस्तै रहर छन् । अनेकौँ चाहना छन् । केही सपना र केही वाध्यता पनि छन् । तिनै वाध्यतालाई पन्छ्याउनका लागि यौन व्यावसाायी बन्नु परेको तितो यथार्थ छ उनीसंग । तर, यो यथार्थले घरिघरि चिमोटिरहन्छ उनलाई । समाजले भिराइदिएको तेस्रो लिङ्गीको ट्यागले उनलाई मान्छेको दर्जा दिएन । र पनि, उनलाई धक फुकाएर भन्न मन लाग्यो, ‘म पनि अरु जस्तै आम मान्छे हुँ, म खुलेर जिउन पाउनु पर्छ ।’ आफ्ना चाहना र रहरलाई गुम्साएर समाजका लागि बाँचिदिनु पर्ने । कस्तो नियती ? उनी आफैसंग प्रश्न गर्छिन् । छाला र मासुले ढाकेको अस्थिपञ्जर उस्तै । छातीभित्र धड्किने मुटु उस्तै । रुदाँ बग्ने आँसु उस्तै । काट्दा बग्ने रगत उस्तै । तर, किन फरक व्यावहार गर्छ समाज ? समाजका लागि उनीसंग अनगिन्ती प्रश्न छन् । तर, ति प्रश्नको जवाफ भेट्दिनन् ।
अपमानले बेस्सरी दुखेको दिलमा आफैले मल्हम लगाउने कोशिस गर्छिन् र पुग्छिन् उही रत्नपार्क, जहाँ बाँच्नुको विकल्पमा आफ्नै जवानी लिलाम गरिन्छ ।

रत्नपार्कले उनको नयाँ पहिचान बनाइदिएको छ, यौनकर्मी । यद्यपी, यौन व्यावसाय उनको रहर होइन, बाध्यता हो । त्यसो भए, उनी कसरी बनिन् त यौनकर्मी ? कथा यस्तो छ………

मध्यम वर्गीय परिवारमा जन्मेकी रमा जन्मिदा छोराको रुपमा जन्मेकी थिईन् । हुर्कदैँ जाँदा उनी छोरी भएर जिउन चाहिन् । आमाले लगाउने टिका, गाजल, लिपिस्टिक र श्रृगांरमा उनको नजर अडिन्थ्यो । आमा, दिदी–बहिनी र अन्य छोरी मान्छेले लगाउने लुगाले उनलाई खुबै आकर्षण गर्थे । र बिस्तारै पुरुषप्रति पनि केही आकर्षण बढ्दै गएको उनले अनुभव गर्न थालिन् । उनको यो अनौठो क्रियाकलापले परिवारका अन्य सदस्य भने निकै चिन्तित थिए । आमा–बुवाले ‘यसो नगर’ भन्दै उनलाई सम्झाई बुझाई गरे । फलानाको छोरा ‘हिजडा’ रैछ भनेर कुरा काट्छन् भन्दै आमाले यसो नगर्न बिन्ती गरिन् । बुवाले इज्जत र प्रतिष्ठा गुम्ने डर देखाए । परिवारको दवाब थेग्न नसकिने खालको थियो । त्यसमाथि घर बाहिर निस्किनासाथ बिभिन्न खालको ‘खिस्सी–ट्युरी’को सामना गर्नु पर्यो । गाउँलेहरु घरमै आएर आमालाई भन्ने गर्थे, ‘तिम्रो राहुल त न छोरा, न छोरी के हो यस्तो ? तिम्रो राहुल त केटी बनेर केटाहरुसंग जिस्कदै हिँडछ, कतै पागल त भएन ?’ गाउलेका यी प्रश्नको कुनै जवाफ थिएन आमासंग ।यद्यपी, गाँउलेका यस्ता वचनले आमाकोे मन भने निकै कँुडिन्थ्यो । उनी गाउँमा चर्चाको बिषय बनेकी थिइन्,–फलानाको छोरा यस्तो र उस्तो ।

एकदिन आमाले रुँदै भनिन्, ‘बाबु ! तँ किन यस्तो व्यावहार गर्छस् ? अब तँ सानो छैनस, दुनीयाँले कुरा काट्छन्, तेरो छोरा यस्तो–उस्तो भनेर । मलाई मुख देखाउन लाज भैसक्यो ।’ त्यो दिन रमाले रुँदै जवाफ दिएकी थिइन, ‘मलाई केटीजस्तै बन्न मन लाग्छ । मलाई ‘म’ केटी हँु जस्तै लाग्छ । कक्षामा पनि मलाई केटीहरु होइन केटाहरु नै मन पर्छन ।’ उनको कुरा आमाले सुनि मात्र रहिन, केही भनिनन् । तर, बिस्तारै आमा र घरपरिवारका अन्य सदस्यको उनी प्रतिको व्यावहार भने बदलिदैँ गयो । आफुलाई फरक पाउन थालेपछि उनले परिवारलाई आफ्नो बारेमा नबताएकी पनि होइनन् । तर, इज्जत जाने डरले उनको फरक क्षमतालाई परिवारले स्वीकार गरेनन् । उनी भने आफ्नो पहिचानमै रमाउन चाहान्थिन् । परिवारले राखिदिएको ‘राहुल’ नाममा उनले आफ्नो पहिचान भेटिनन् र आफैले राखिन् आफ्नो नाम ‘रमा’ । यता परिवार भने उनका हरेक क्रियाकलापमा सधै अंकुश लगाउथे,–यसो गर–त्यसो नगर, यो लगाउ–त्यो नलगाउ, यहाँ जाउ–त्यहाँ नजाउ । तर, उनी खुल्ला चरिजस्तै स्वच्छन्द उढ्न चाहन्थिन् सपनाको क्षितिजसम्म । त्यसैले त आफ्नो पहिचानको खोजि गर्दै उनी आइपुगिन् देशको राजधानी काठमाडौँ ।

उनको पनि पढेर ठूलो मान्छे बन्ने सपना थियो । तर, विद्यालयमा गरिने तुच्छ व्यावहारका कारण उनले कक्षा ९ को परिक्षा नदिँदै विद्यालय छोड्नु परेको थियो । घर छोड्दाको पल सम्झिदैँ उनी भन्छिन्, ‘एकदिन एउटा साथीले तेस्रो लिङ्गीहरु कस्तो हुन्छन ? के गर्छन्, किन उनीहरुको बिहे हुदँैन, किन सबैले नराम्रो नजरले हेर्ने गर्छन् ? भन्ने बिषयमा धेरै कुरा गर्यो । त्यस दिनदेखि मेरो मनमा एक किसिमको छटपटी पैदा भएको थियोे । कतै टाढा भागेर जाउँ कि जस्तो लाग्यो र म घरबाट हिडेँ ।’ काठमाडौं ! सपानाको शहर । सभ्य मानिसहरु बस्ने शहर । शिक्षित र बौद्धिकहरुको शहर । तर, उनले सोँचेजस्तो पटक्कै थिएन काठमाडौँ । उनै शिक्षित र सभ्य भनिनेहरुबाट कैयौँ पटक अपमानित भएको पीडा उनी सुनाउँछिन् । काठमाडौँ आएर सुन्दर भविष्यको मार्ग चित्र कोर्न चाहन्थिन् । केही काम गरेर जीवन सहज बनाउन खोजेकी थिइन् । तर, काठमाडौँमा पनि गाउँमा जस्तै तिरस्कारका काँडाहरुले घोँच्न छाडेनन् । हरेक कामहरुबाट हात धुनु पर्यो । र, बिकल्पमा सुरु भयो जिन्दगीको नयाँ यात्रा अर्थात– यौन व्यवसाय ।

यौन व्यावसाय धेरैको बाध्यता र कमैको रहर हुन सक्ला । उनको लागि भने यौन व्यावसाय बाध्यता हो । लामो सुस्केरा हाल्दै उनी भन्छिन्, ‘न त पढ्ने वातावरण बन्यो, न त काम गर्ने । वास्तवमा बाँच्नुको बिकल्पमा आफ्नै जवानी दाउमा राख्नु पर्ने कस्तो वाध्यता होला ?’ घरपरिवार, समाज र विद्यालयले गरेको व्यावहारका कारण आफु रत्नपार्कमा पुगेको बताउँछिन् उनी । आफुलाई मान्छे नसम्झिने समाज प्रति उनलाई घृणा छ । अरु मान्छेसरह आफुलाई सहज जीवन जिउन नदिने यो समाजको सोँचप्रति उनी तिरस्कार गर्छिन र भन्छिन्, ‘हामी जस्ता मान्छेहरुको दुख नबुझने, पीडा नदेख्ने यो समाज अनि यो राज्य हामीलाई चाहिँदैन ।’ शरीर पुरुषको जस्तै भए पनि उनलाई महिलाको जीवन जीउन मन पर्यो र रोजिन् आफ्नो नयाँ पहिचानसहितको जिन्दगी । आज उनी यौन व्यावसायमा आफ्नो भबिष्य खोज्दै छिन् । उनलाई यौन व्यावसायी बन्न बाध्य बनाउने यही समाज र राज्य हो ।

उनी रत्नपार्कको दोबाटोमा उभिएर घर परिवार, समाज र राज्यलाई प्रश्न गर्छिन्, ‘यदि विद्यालयमा राम्रोसंग पढ्ने वातावरण बनाइदिएको भए के मैले पढाई छोडनुपर्थ्यो र ? के घर–परिवारले मलाई स्विकार गरेको भए म घरबाट भाग्नु पथ्र्यो र ? के मलाई अरु मान्छेले जस्तै सम्मानसाथ काम गर्ने वातावरण भएको भए आज म यहाँ हुन्थे र ?’ पक्कै पनि, उनलाई घरपरिवार र समाजले स्वीकार गरेको भए उनले यतिबेला रत्नपार्कमा उभिएर आफ्नै शरिरको मोलतोल गर्नु पर्दैनथ्यो । यही सम्झेर उनी घरी–घरी भक्कानिन्छन् । आफ्नो शरीरको मूल्य तोकिँदा उनले आफुलाई बजारमा राखेको सस्तो बस्तुसंग तुलना गर्छिन् । आफ्नै शरिरमाथि आफ्नै अधिकार गुमेपछि फरक फरक व्यक्तिका लागि क्षणभरका लागि यौनपार्टनर बन्नु पर्दा जीवन प्रतिको मोह पनि मरिसकेको थियो उनको । ‘कैयौँ पटक आत्महत्या गर्ने साँेच समेत नआएको होइन । तर, ‘सोचेँ झै जिन्दगी त कस्को पो छ र’ भन्दै चित्त बुझाएँ र जीवनका पाइला अघि सारेँ ।’

थरीथरीका मान्छेहरु उनका ग्राहक बनेर आउने गर्छन्् । उनले धेरैको प्यास मेटाएकी छिन् । त्यसबापत कम्तीमा पनि दैनिक पाँच हजार रुपैँया उनको कमाई हुन्छ । उनी दिनभरी बाटोमा बस्दिनन् । दिनभर कथाका पुस्तक र पत्रिका पढेर बिताउँछिन् । साँझ ४ बजेतिर उनी रत्नपार्क आउँछिन् र सुरु हुन्छ उही कला, जसले जिन्दगी जीउनका लागि उनलाई अभ्यस्त बनाएको छ ।

सम्बन्धित खबर